२०८३, श्रावण ७ गते

बिहिवार, श्रावण ७ गते २०८३

कोशीमा सत्ता समीकरण फेरिँदै, मुख्यमन्त्रीका लागि एमालेका मेन्याङ्बो र नेकपाका आङ्बो चर्चामा

बिहिवार , श्रावण ७, २०८३

विराटनगर । सुदूरपश्चिम, कर्णाली हुँदै बाग्मती प्रदेश सरकारमा नेकपा एमाले र नेपाली कांग्रेसबीचको सत्ता समीकरण भत्किएसँगै अब कोशीसहित अधिकांश प्रदेशमा नयाँ राजनीतिक समीकरण बन्ने सम्भावना बढेको छ । 

एमाले र कांग्रेसबीचको गठबन्धन टुटेपछि दुई वामपन्थी दल नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच नयाँ गठबन्धन बनाउने तयारी भइरहेको नेताहरूले बताएका छन् । 

नेकपा एमालेका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य होमबहादुर थापाले अब वामपन्थी दलहरू मिलेर प्रदेश सरकार गठन गर्ने सम्भावना बलियो रहेको बताए । काठमाडौंबाट विराटनगर फर्किदै गरेका थापाले सत्ता समीकरण परिवर्तन हुने निश्चितजस्तै देखिएपछि कोशी प्रदेशको नेतृत्व कसले गर्ने भन्ने विषय भने अझै टुंगिन बाँकी रहेको बताए ।  

कुन प्रदेशको नेतृत्व कुन दलले गर्ने भन्ने विषयमा शीर्ष नेताहरूबीच प्याकेजमै सहमति जुटाउने तयारी भइरहेको उनको भनाई छ । 

प्रदेशसभामा दलहरूको उपस्थिति र संख्यालाई आधार मान्दा कोशी प्रदेशमा एमालेको दाबी बलियो रहेको थापाले बताए । यदि कोशी प्रदेश एमालेको भागमा परेमा वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई निरन्तरता दिने वा नयाँ नेतृत्व ल्याउने विषयमा केन्द्रले निर्णय गर्नेछ । 

एमालेका सांसद थापाले वर्तमान मुख्यमन्त्रीको विकल्प खोज्नुपर्ने अवस्था आएमा पार्टीका वरिष्ठ नेता तिलकुमार मेन्याङ्बो प्रमुख दाबेदार हुने बताए । ‘वर्तमान मुख्यमन्त्रीज्यूको विकल्प खोल्नु परेको खण्डमा हाम्रो सिनियर तिलकुमार मेन्याङ्बो नै हुनुहुन्छ,’ थापाले भने । 

यता, नेपाली कम्युनिष्ट पार्टीले भने कोशी प्रदेशको मुख्यमन्त्रीमा आफ्नै दाबी प्रस्तुत गरेको छ । 

नेकपाका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि प्रदेश सरकारको नेतृत्वमा आफ्नो पार्टीको दाबी स्वाभाविक रहेको बताएका छन् । अब बाँकी रहेको छोटो अवधिमा प्रभावकारी काम गर्न आफ्नो पार्टीले नेतृत्व लिनुपर्ने उनको भनाइ छ । 

‘हाम्रै समर्थन र प्रस्तावमा एमालेले आजसम्म प्रदेश सरकार सञ्चालन गरेको हो । एमालेकै नेतृत्वमा चारवटा नीति तथा कार्यक्रम र बजेट पनि आइसकेका छन्,’ आङ्बोले भने, ‘अब प्रदेश सरकारको कार्यकाल छोटो छ । यो समयमा प्रभावकारी काम गर्न प्रदेश सरकारको नेतृत्वमा हाम्रो पार्टीको दाबी स्वाभाविक छ ।’ 

नेकपाका कोशी प्रदेश इन्चार्ज राजेन्द्रकुमार राईले अबको मुख्यमन्त्री आफ्नो पार्टीबाट संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो बन्नुपर्ने स्पष्ट धारणा राखेका छन् ।
शीर्ष नेताहरूबीच आगामी केही दिनभित्रै काठमाडौंमा प्रदेश सरकारको नेतृत्व बाँडफाँटबारे सहमति जुट्ने नेताहरूको विश्वास छ । 

यदि ठूलो दलको हैसियतले कोशी प्रदेश एमालेको भागमा परेमा तिलकुमार मेन्याङ्बो मुख्यमन्त्रीका प्रमुख दाबेदार हुनेछन् । 

तर वामपन्थी समीकरणअनुसार कोशीको नेतृत्व नेकपाको भागमा परेमा इन्द्रबहादुर आङ्बोले सरकारको नेतृत्व गर्ने सम्भावना बलियो देखिन्छ । यसैबीच, नेतृत्व परिवर्तनको चर्चा चलिरहँदा वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भने आफू पद हस्तान्तरण गर्न तयार रहेको, तर त्यसका लागि विधि र प्रक्रिया पालना हुनुपर्ने बताउँदै आएका छन् ।

एमालेभित्र कार्कीलाई हटाएर मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने चर्चा भए पनि यसबारे अन्तिम निर्णय पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने एमाले नेताहरूको भनाइ छ । सांसद थापाले पनि मुख्यमन्त्री परिवर्तनको विषयमा अन्तिम निर्णय पार्टी नेतृत्वबाटै हुने बताए ।

सत्ता समीकरणमा आएको परिवर्तनसँगै कोशी प्रदेशमा बन्ने नयाँ सरकार प्रदेश स्थापना भएयताको दशौँ सरकार तथा प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ सरकार हुनेछ । छोटो अवधिका लागि बन्ने सम्भावित नयाँ सरकारले प्रदेशको स्थायित्व, विकास र प्रभावकारी सेवा प्रवाहमा कस्तो परिणाम दिन्छ भन्ने विषय भने राजनीतिक सहमतिसँगै जनचासोको विषय बनेको छ ।

कोशी प्रदेशमा एमालेका ४० जना र नेकपाका १७ सांसद छन् । बहुमतका लागि ४७ जना आवश्यक पर्छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट