२०८३, श्रावण ७ गते

बिहिवार, श्रावण ७ गते २०८३

‘नयाँ–पुराना’को भाष्यबाट समाज विभाजन गर्न खोजियो : ओली

बिहिवार , श्रावण ७, २०८३

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘नयाँ र पुराना’ भन्ने भाष्य खडा गरेर समाजलाई विभाजित गर्ने प्रयास भइरहेको बताएका छन् । 

विगतमा धर्म, जातजाति र भूगोलका आधारमा समाजलाई विभाजन गर्ने प्रयास असफल भएपछि अहिले नयाँ–पुरानाको नाममा विभाजनको बीउ रोप्न खोजिएको उनको आरोप छ।

कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवसका अवसरमा नेकपा (एमाले) राजधानी प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अहिले घर–घरमै नयाँ र पुरानाको बहस सिर्जना गरेर समाजमा द्वन्द्व उत्पन्न गर्न खोजिएको बताए ।

उनले राजनीतिक दलहरू कहिल्यै पुराना नहुने उल्लेख गर्दै अमेरिका लगायत लोकतान्त्रिक मुलुकहरूमा पनि दशकौँदेखि स्थापित दलहरू सक्रिय रहेको उदाहरण दिए। दलहरू समयअनुकूल पुनर्गठित र परिमार्जित हुनुपर्ने भए पनि लोकतन्त्रको रक्षाका लागि पुराना लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्नेमा उनले जोड दिए।

 ओलीले भनने–‘कहिले इगोको लडाइँ भयो होला, कहिले जुँगाको लडाइँ भयो होला। तर लोकतन्त्र जोगाउने सवालमा सबै लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा उभिनुपर्छ ।’ 

अध्यक्ष ओलीले मुलुकमा लोकतान्त्रिक मूल्य–मान्यता कमजोर बन्दै गएको दाबी गर्दै लोकतन्त्रको पुनस्र्थापनाका लागि विगतमा लोकतन्त्रका लागि संघर्ष गरेका सबै दल सडक र सदन दुवै ठाउँमा एकजुट हुनुपर्ने आवश्यकता औँल्याए।

उनले वामपन्थी शक्तिहरूबीच पनि एकता आवश्यक रहेको उल्लेख गर्दै प्रत्येक दलभित्र आन्तरिक एकता कायम हुनुका साथै आपसी सहकार्य पनि बलियो हुनुपर्ने बताए।

नेपाली कांग्रेसभित्र पछिल्लो समय देखिएको आन्तरिक विवादप्रति चिन्ता व्यक्त गर्दै उनले कांग्रेस लोकतन्त्रका लागि संघर्ष गर्ने बलियो शक्ति बनिरहोस् भन्ने आफ्नो कामना रहेको बताए।

प्रदेश सरकारहरूमा देखिएका राजनीतिक समस्या छिट्टै समाधान हुने विश्वास व्यक्त गर्दै त्यसका लागि आफूहरू सक्रिय रूपमा लागिरहेको जानकारी दिए ।

वर्तमान सरकारको आलोचना गर्दै अध्यक्ष ओलीले शान्तिपूर्ण विरोध प्रदर्शनमाथि दमन भइरहेको आरोप लगाए। सडकमा विरोध गर्न निस्केकाहरूलाई पक्राउ गर्ने र बल प्रयोग गर्ने प्रवृत्ति बढेको उनको भनाइ थियो।

‘हिजो प्रहरी चौकी जलाउने र प्रहरीमाथि आक्रमण गर्नेहरू नै आज सरकारमा छन्, अहिले उनीहरूकै आदेश मानेर शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नागरिकलाई कुट्ने अधिकार प्रहरीलाई कसले दियो ?’ उनले प्रश्न गरे।

राणाशासन र पञ्चायती व्यवस्थाभन्दा पनि अहिलेको सरकारले जनतामाथि बढी दमन गरिरहेको आरोप लगाउँदै उनले लोकतान्त्रिक अधिकारको रक्षा गर्न सबै राजनीतिक शक्ति एकजुट हुनुपर्ने बताए।

कार्यकर्ताहरूलाई निराश वा हतास भएर नबस्न आग्रह गर्दै उनले वर्तमान राजनीतिक चुनौतीको सामना गर्न सक्रिय रूपमा जुट्न निर्देशन दिए।

प्रधानमन्त्री बालेन्द्र शाहमाथि कटाक्ष गर्दै अध्यक्ष ओलीले उनलाई हिन्दी चलचित्रका पात्र देव आनन्दसँग तुलना गरेका थिए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट