काठमाडौँ । नेपाल र चीनको सिचुआन प्रान्तबीच संस्कृतिरपर्यटन प्रवर्द्धनमा हातेमालो गरेर अघि बढ्नुपर्ने सरोकारवालाले बताएका छन् । सिचुआन प्रान्तीय संस्कृति र पर्यटन विभागले आज यहाँ आयोजना गरेको चीन (सिचुआन)–नेपाल सांस्कृतिक र पर्यटन उद्योग आदानप्रदानसभाका वक्ताहरूले दुवै मुलुकबीच कला, संस्कृति र पर्यटनको आदानप्रदान गरेर पर्यटनको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
चीनको सिचुआन प्रान्त संस्कृति र पर्यटन विभागका महानिर्देशक चेन गुआङहाओले सिचुआन र नेपालबीच समन्वय र सहकार्य गरेर कलासंस्कृतिको आदानप्रदान र पर्यटन प्रवर्द्धनमा सहकार्य र समन्वय गरेर अघि बढ्नुपर्ने बताए ।
“नेपाल हिमशृङ्खला र पदयात्राको पर्यटनको उच्च सम्भावना बोकेको मुलुक हो । त्यसैले हामी दुवैबीच सहकार्य गरेर कलासंस्कृतिको आदानप्रदान र पर्यटन प्रवरद्धन गर्दै अघि बढ्नुपर्ने बेला भइसकेको छ”, उनले भने, “नेपालबाट सिचुआन प्रान्त तीन घण्टाकै दूरीमा पुग्न सकिन्छ । सिचुआनमा पनि हिमशृङ्खला, पान्डाजस्ता पर्यटकीय आकर्षण भएकाले पनि भ्रमण गर्न अनुरोध गर्दछौँ ।”
महानिर्देशक गुआङहाओले सन् २०२५ मा सिचुआनमा एक अर्ब १९ करोड आन्तरिक पर्यटकले भ्रमण गरेको बताए । “सिचुआन पहाडी भू–भाग र मनोरम हिमशृङ्खला भएकाले पनि भ्रमण गर्नका लागि अनुरोध गर्दछौँ”, उनले भने ।
सूचना तथा प्रसारण विभागका महानिर्देशक छवीन्द्र पराजुलीले नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध कायम राख्दै दुवै मुलुकबीच सांस्कृतिक र आर्थिक रूपमा पनि आदानप्रदान गर्नुपर्ने बताए ।
“चीनको सरकारी तथा निजी क्षेत्रबाट नेपालको पर्यटनदेखि अन्य विविध क्षेत्रमा लगानी प्रवर्द्धन गर्नका लागि अनुरोध गर्दछौँ”, उनले भने, “नेपालमा पर्यटकीय प्रचुर सम्भावना भएकाले पनि चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न आह्वन गर्दछु ।” राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा रामकुमार फुयाँलले नेपाल र चीनबीच सांस्कृतिक आदानप्रदानलाई अब अन्य क्षेत्रमा विस्तार गर्नका लागि आग्रह गरे ।
“नेपालको ऊर्जा, उद्योगधन्दा र कलकारखानालगायत क्षेत्रमा चिनियाँ लगानी भित्र्याउनका लागि आह्वान गर्दछु”, उनले भने, “नेपालमा लगानीको प्रचुर सम्भाव्यता बोकेका क्षेत्र भएकाले पनि ढुक्क भएर लगानी गर्न सक्नुहुनेछ ।”
उनले नेपालको पर्यटकीय क्षेत्रमा लगानीको साथसाथै भ्रमण गर्न पनि आउनका लागि अनुरोध गरे । सिचुआन एयरलाइन्स नेपालका प्रतिनिधि सुन छाङचेउले सिचुआन एयरलाइन्सले गुणस्तरीय र सुलभ सेवा प्रदान गर्दै आइरहेको बताउँदै निकट भविष्यमा एयरबसबाट उडान गर्र्ने तयारीमा जुटेको बताए ।
दुवै मुलुकका पर्यटन क्षेत्रसँग सम्बन्धितले आआफ्नो मुलुकको पर्यटकीय सम्भावना बोकेका क्षेत्रको जानकारी गराउन दुवै मुलुकमा भ्रमण गर्नका लागि अनुरोध गरेका छन् ।
प्रतिक्रिया दिनुहोस