काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का नेताहरुले पार्टीका नेता, कार्यकर्ताहरु श्रम र उत्पादनमा जोडिनुपर्ने प्रस्ताव गरेका छन् ।
सोमबारको केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यहरुले अध्यक्षसहित सबै नेता, कार्यकर्ताहरु श्रम र उत्पादनमा जोडिनुपर्ने प्रस्ताव राखेका हुन् ।
पार्टी अध्यक्ष पनि महिनामा कम्तिमा तीन पटक श्रम र उत्पादनमा जोडिनुपर्ने प्रस्ताव राखिएको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । उनले दण्डहिनताको अन्त्य गर्नुपर्ने, काँठ अभियान चलाउनुपर्ने र विभाग प्रभावकारी बनाउने, सडक र सदनलाई जोड्ने नीतिअनुसार प्रभावकारी बनाउनेबारेमा नेताहरुले आवाज उठाएको बताए ।
पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन वैज्ञानिक, वस्तुवादी, यथार्थपरक रहेको नेताहरुले बताएको पनि जानकारी दिए ।
उनले भने, ‘आज अध्यक्षको प्रतिवेदनमाथि ८० जना कमरेडहरुले बोल्नुभयो । सबैको के छ भने स्पष्ट विचार, स्पष्ट राजनीतिक दृष्टिकोणसहित अघि बढ्नुपर्छ भन्ने छ । अध्यक्षसहित सबै नेता, कार्यकर्ताहरु श्रम र उत्पादनमा जोडिनुपर्छ । कम्तिमा पनि महिनामा तीन पल्ट अध्यक्ष पनि जोडिनुपर्छ ।
दण्डहिनताको अन्त्य गरिनुपर्छ भन्नेछ । काँठ अभियान, विभाग प्रभावकारी बनाउने, सडक र सदनलाई जोड्ने नीतिअनुसार प्रभावकारी बनाउनुपर्छ । संसद छिटो भन्दा छिटो बोलानका लागि दबाब श्रृष्टि गर्नुपर्छ । महाधिवेशन गर्ने कुरामा सबैको सहमति छ । अभियानमा गएर मात्रै महाधिवेशनको कार्यतलिका तोक्नुपर्ने भन्ने अधिकांशको भनाइ छ ।
प्रतिवेदन वैज्ञानिक, वस्तुवादी, यथार्थपरक छ भन्नेकुरा उठाउनुभएको छ । पहिचानबारे सशक्त कुरा उठेको छ । स्वायत्तताबारे पनि सशक्त कुरा उठेको छ ।’
बैठकमा नेताहरुले स्थानीय तहलाई अधिकार दिनुपर्ने कुरामा आवाज उठाउन जोड दिएको बताए ।