२०८३, आषाढ १३ गते

शनिवार, आषाढ १३ गते २०८३

सरकारका कामलाई प्रभावकारी बनाउन सभापति देउवाको निर्देशन

बिहिवार , माघ ३, २०८१

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारका काम कारबाहीलाई प्रभावकारी बनाउन पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीलाई निर्देशन दिएका छन् ।

बुढानीलकण्ठस्थित निवासमा आज भएको पार्टी पदाधिकारीसहित सरकारमा सहभागी मन्त्रीसँगको बैठकमा सभापति देउवाले जनतासँग सरोकार भएका विषयमा सहज र प्रभावकारी ढङ्गले सेवा प्रवाह गर्न निर्देशन दिएको कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले जानकारी दिए ।

“जनतासँग सरोकार भएका विषयमा सेवा प्रवाहलाई चुस्त, पारदर्शी र प्रभावकारी बनाउनुस्”, सभापति देउवाको भनाइ उद्धृत गर्दै मन्त्री चौरसियाले भने, “पार्टीको कामभन्दा सही तरिकाले समय व्यवस्थापन गरेर मन्त्रालयको कामलाई प्राथमिकताका साथ अगाडि बनाउनुस् ।”

कांग्रेस सभापति देउवाले सरकारलाई थप प्रभावकारी बनाउन आवश्यक सहयोग गर्न पनि मन्त्रीहरूसमक्ष आग्रह गरे । बैठकमा पार्टी उपसभापति, महामन्त्री, नेता, प्रतिनिधिसभा र राष्ट्रियसभाका प्रमुख सचेतकलगायत व्यक्तिको उपस्थिति थियो ।

सभापति देउवाले सम्बन्ति मन्त्रालयका मन्त्रीसँग भइरहेका काम र बाँकी कामका बारेमा जानकारी दिएका थिए । उनले संसद् अधिवेशन सुरु हुनुपूर्व सम्बन्धित मन्त्रालयअन्तर्गतका कानुन कहाँ पुगेर अड्किएका छन् सोकोे टुङ्गो लगाउन पनि मन्त्रीहरूलाई निर्देशन दिए ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामप्रसाद घिमिरेका अनुसार आजको भेटमा सरकारलाई प्रभावकारी र सफल बनाउन सक्रिय ढङ्गले काम गर्न र महत्वपूर्ण विषयमा नियमित छलफल गर्ने निर्णय भएको छ ।

विभिन्न समितिमा विचाराधीन विधेयकलाई टुङ्गोमा पुर्याउन सक्रियताका साथ कार्य गर्ने, आआफ्नो मन्त्रालयको कार्यक्षेत्रमा रहेका विगतदेखिका भौतिक परियोजना र अन्य कार्यक्रम सम्पन्न गराउने प्रक्रियामा गति बढाउनुपर्नेलगायत विषयमा छलफल गरिएको उनले बताए ।

चालु आर्थिक वर्षको बजेटमा परेर पनि स्रोत सुनिश्चितताको पर्खाइमा रहेका, बोलपत्र आह्वान हुन नसकेका, निर्माण सुरु भएर अपेक्षित गतिमा काम नभइरहेका विकास आयोजना सम्पन्न गर्न/गराउन आवश्यक पहलकदमी लिने निर्णय भएको प्रमुख सचेतक घिमिरेले बताए ।

सातामा दुई निश्चित दिन खुल्ला भेटघाट गर्ने, नागरिकको गुनासो सुन्ने, सुझाव लिने र बाँकी पाँच दिन सम्पूर्णरूपले मन्त्रालयको काममा केन्द्रित हुने निर्णय गर्दै सांसद्को चासो, सुझाव, अपेक्षालाई छलफलमार्फत संसदीय दल कार्यसमिति र मन्त्रीहरूले समन्वय गर्ने निर्णय भएको छ ।

सभापति देउवाले पार्टीको प्रदेश समिति, जिल्ला, क्षेत्र एवं स्थानीय तहमार्फत पार्टी केन्द्रीय कार्यालयमा आउने गरेका नागरिकका सुझाव र मागका सम्बन्धमा महिनामा एक पटक पार्टी केन्द्रीय पुग्न पनि निर्देशन दिएका छन् ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा कांग्रेसकातर्फबाट १० मन्त्री र दुई राज्यमन्त्री सहभागी छन् । बैठकमा मन्त्रीहरूले आ–आफ्नो मन्त्रालयको काम, आइपरका समस्या र गुनासोबारे सभापति देउवालाई जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट