२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

'वंशवादले योग्यतावादलाई ल्याउनै दिएन, बौद्धिक बहस हुनै छाड्यो' (अन्तर्वार्ता)

सोमवार , माघ ७, २०८१

राजनीतिकमा अहिले आसेपासे पुँजीवाद फस्टाएको छ । आसेपासे पुँजीवाद फस्टाएपछि बौद्धिक बहस कमजोर बन्दै गएको छ । बौद्धिक बहस कमजोर बन्दा राजनीति पनि दुषित बन्दै गएको छ भने आफ्ना योग्यता र क्षमता भन्दा पनि आफ्ना मान्छेलाई प्राथमिकता दिइरहेको छ । जसले गर्दा मुलुकले राम्रो परिणाम पाउन सकेको छैन् । नेपालको राजनीतिकमा बौद्धिक वहस हराउँदै गएको राजनीति विश्लेषक डा. सुन्दरसिंह बोहराको भनाई छ । वर्तमान राजनीतिक अवस्थाको विषयमा केन्द्रीत रहेर सुनौलो नेपालले डा. बोहरासँग गरेको कुराकानी ।

तपाईंले अहिले के गरिरहनु भएको छ ?

अहिले राज्यको विषयमा अलिकति चिन्तन गर्ने, बहस गर्ने, मन्थन गर्ने, साथीहरुसँग छलफल गर्ने, नेपाल आमा रोएको जस्तो लाग्छ, पीडामा भएको जस्तो लाग्छ, त्यहि विषयमा दिनरात सोच्ने क्रममा छु । अलिकति ‘फ्लास ब्याक’मा जाँदा मैले काठमाडौं क्षेत्र नम्बर ३ लाई बढी फोकस गरेको थिएँ । त्यहाँ शिक्षा, स्वास्थ्य, विकास, पूर्वाधारमा काम गरिरहेको थिएँ । राज्य राम्रो भए न क्षेत्र राम्रो हुन्छ भन्ने सोचका साथ अघि बढेको छु ।

त्यसकारण १६५ वटै क्षेत्रमा कसरी समृद्धि, विकास, पूर्वाधार या कहाँनेर ‘कोर्स करेक्सन’ गर्न मिल्छ, त्यो विषयमा बौद्धिक व्यक्तित्वहरुसँग क्रमैसँगै भेट्दै गएँ । सबै जना त्यहि पीडामा हुनुहुन्छ । एकल हुनुहुन्छ तर सोचिरहनुभएको छ । त्यो सोचहरुलाई किन एकै ठाउँमा ‘कलेक्सन’ नगर्ने भनेर अहिले म त्यहि गरिरहेको छु ।

छिटै लोकप्रिय हुने होडबाजीले गर्दा बौद्धिक बहस कम भएको देखिन्छ, बौद्धिक छलफलले स्थान नपाएको हो ?

यसमा दुईवटा कारण छन् । एउटा तपाईले भनेको पनि केही हदसम्म सत्य हो । दोस्रो, बौद्धिक व्यक्तिहरु पनि दलमा बसेर केही पाउँछु कि केही हुन्छु कि अथवा राजदूत भइएला कि, सांसद भइएला कि भन्ने सोचले समानुपातिकको प्रथा ल्यायो । यस्ले गर्दा बौद्धिकहरुको बौद्धिकता त्यहाँ संगठनका त्यस्ता केही असक्षम, असक्त नेतृत्व चलाइरहेका व्यक्तिहरुले उहाँहरुलाई कर्मचारी हैन दास बनाइदिए, समस्या त्यहिँ छ । बौद्धिकता त्यहिँबाट हरायो ।

पदको लोभमा बसेर जुन कुरा बाहिर ल्याउनुपर्ने थियो, त्यो ल्याउन सकेन । किन त्यस्तो भइरहेका छन् मान्छेहरु ? आफ्नो बौद्धिक क्षमता बेचेर जिविकोपार्जन गर्न सक्ने सम्भावना छैन र ?

व्यवसायीक हिसाबमा जाने हो भने म पनि विश्वविद्यालयमा पढाई राखेको छु । मैले पाँच सयभन्दा बढी एमबीएहरुलाई पढाई सकेँ । तालिमहरु पनि दिइराखेको हुन्छु, त्यो एउटा पार्ट भयो । दोस्रो, राज्य पुनर्संरचनामा जब राजनीतिक पार्टमा जानुपर्दा विभिन्न विधामा काम गरिरहेका जस्तो जलविद्युत, पूर्वाधार, विकास या फरेष्ट्रिमा काम गरेको होस्, कुनै पनि विधा शिक्षा, स्वास्थ्य जहाँ काम गरेको भए पनि उहाँहरुको कुरा सुनुवाई हुँदैन । उहाँहरुले लेख्नुहुन्छ, बुझाउनुहुन्छ, बुझ्दिने व्यक्तिहरुले नबुझेपछि त्यो एउटा गीत छ नि, ‘बुझ्नेले कुरा नबुझेपछि’ भने जस्तै हो ।

जस्तो मैले उपत्यका विकास प्राधिकरणमा एक नम्बरमा नाम निकालेको थिएँ । बागमतीमा पनि मैले उत्कृष्ट तीनमा मन्त्रिपरिषदमा नाम निकालेको थिएँ । हाम्रो कुनै पनि अंगहरुमा हुने नियुक्ति लोक सेवाले लिनुपर्छ । मन्त्रिपरिषदले सिफारिसमा तीन जना अनि अरु आफ्नो झोले नेता छ कि छैन, उनीहरुको लोकल बडीले सिफारिस गरे मात्र ती व्यक्ति नियुक्ति हुने भयो । त्यो नियुक्तिले त केही पनि काम गर्न सक्दैन किनभने उसँग मेरिट नै हुँदैन, क्वालिटी हुँदैन । त्यही कारणले गर्दा बौद्धिकहरु विस्तारै हराए । राज्यको नियुक्ति लिन कि त उनीहरुले प्रिपेड र पोस्पेडमा पैसा दिनुपर्यो, नत्र संभव छैन् । भ्रष्टाचारको मार्गबाट आएको त भ्रष्टाचारी हुनै पर्यो, त्यो एउटा समस्या आयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा राजनैतिक सिफारिसमा नभएर तलबाट परीक्षा दिएर आउने व्यवस्था हुन सक्यो भने उसले दलीय भागवण्डा नपरेपछि त जुनै पनि दलीय नेतालाई लगेर कानूनी दायरामा न्यायिक समितिमा पुर्याउन सक्छ नि त ! अब राज्य पुनर्संरचनामा बौद्धिक व्यक्तित्वहरु त्यहाँ आउनुपर्यो ।

यहाँ आसेपासे (क्रोनी क्यापटलिज्म) नीतिले काम गरेको हो ?

म यही सञ्चारमाध्यमबाट के भन्न चाहन्छु भने बौद्धिक समाजले अब आवाज उठाउनु पर्छ, किनभने बौद्धिक समाजलाई दास सम्झिन्छन् । यिनीहरुले राज्य संयन्त्र चलाउनका लागि विभिन्न प्रविधिहरु छन्, यिनीहरुसँग थटस् छ, यिनीहरुसँग रणनीति छ, यिनीहरुसँग योजना छ भन्नेतिर उहाँहरुलाई लिनु नै छैन । अहिले नेपालको जति पनि नियुक्ति हेर्नुस् ‘एस म्यान’ वा प्रिपेड, पोस्पेडमा मात्र छन् । त्यसकारण राज्यलाई बौद्धिक व्यक्तित्वहरु चाहिएकै छैन । प्रधानमन्त्री केपी शर्मा ओलीबाटै बौद्धिक भनेको के हो, पिएचडी भनेको के हो भनेर हलुका रुपमा लिने काम भएको छ । उहाँहरुले सजिलै पाएको नेतृत्व हो, त्यसैले उहाँहरुले बौद्धिक्ताको महत्व नै बुझ्नुभएको छैन ।

बौद्धिक्ताको महत्व नबुझ्दाको परिणाम आज मुलुकले भोगिरहेको छ भन्ने यहाँको भनाई हो ?

एकदमै हो । साधारण उदाहरण के दिन्छु, अर्थमन्त्रीमा अर्थविद् भयो भने त्यसले अर्थको विषयमा केही न केही कुराहरु त ल्याउँछ । ठीक छ, समग्रम कूल ग्राहस्र्थ उत्पादन (जिडिपी) कसरी जान्छ, यसको पूर्वाधारहरु के हो, त्यो कसरी हुन्छ, प्रति व्यक्ति आय कसरी बढाउन सकिन्छ, विश्व बैंकहरुले हामीलाई कसरी प्रक्षेपण गरिराखेको छ, त्यसलाई सर्ट एनलाइसिस कसरी गर्ने, त्यसलाई बिसिजी म्याट्रिक्समा कसरी लाने भन्ने जस्ता कुरा विद्वानहरुले यतिकै निकालेका त होइनन् नि ! त्यसको शुत्र र प्रणाली दुबै छ ।

त्यो गर्दा कहाँनेर गएर सूचकांक दिन्छ भन्ने हिस्ट्रोग्राम, पाइचाटमा हेर्दा अनि पो हुन्छ त ! यहाँ कस्तो छ भने अर्थमन्त्री होस्, सञ्चारमन्त्री होस् अर्थात् गृहमन्त्री होस् बिहान ७ बजे उठेपछि उहाँहरु काम अर्को दलको मान्छेलाई कसरी गाली गर्ने, अर्को दलले हिजो के भन्यो र त्यो कुरालाई आज कसरी काउन्टर दिने ? राज्य पुनर्संरचनाको विषयमा कुरा गर्दा सञ्चार कहाँ छ, अर्थ कहाँ छ, पूर्वाधार कहाँ छ, विकास कहाँ छ, कहाँनेर गएर हामी चुकिरहेका छौँ, कुटनीति के हो, राष्ट्रनीति के हो भन्ने नै थाहा छैन ।

हुन त कर्मचारीतन्त्रले चलाइराखेको छ, तर अहिले त कर्मचारीको पनि नसुन्ने भइसक्यो । उहाँहरुसँग केही एकाध व्यक्ति बाहेक अरु सबै अर्ध, अल्प शिक्षित छन् । अनि त्यो मान्छेले बुझे न तपाईले कन्सिभ गर्नुहुन्छ, परसिभ गर्नुहुन्छ अनि निर्णय लिने बेलामा डेलिभर गर्नुहुन्छ । यहाँ के भाष्य निर्माण गरियो भने राजनीति गर्ने मान्छेलाई अध्ययनको जरुरत नै छैन । राजनीति उसले जन्मजात सिकेर आएको छ । उसले आफ्नो संगठन सिकेको छ, चाप्लुसी सिकेको छ । त्यहाँ कसरी पुग्ने, आसेपासे कसरी जम्मा गर्ने र त्यहाँ भोजभतेर र मोजमस्ती कसरी बनाउने र आफूमात्र राज्य संयन्त्रमा पुग्ने भएपछि राज्य त जहिले निरिह भयो नि !

गलत अवधारणा आए अथवा राजनीति गर्ने मान्छेको योग्यता, क्षमता कति हुनुपर्छ भन्ने मापदण्ड नै भएन, जसले गर्दा अहिले बौद्धिक व्यक्तिहरुको कुरा सुनिँदैन, आसेपासेको मात्र कुरा सुनिन्छ भन्ने यहाँको आशय हो ?

एउटा सानो उदाहरण हेरौँ । २०६२/०६३ को आन्दोलनपछि राज्य लोकतन्त्रान्त्रिक गणतन्त्रमा गयो । त्यसपछि संविधान बन्ने क्रममा थियो, संविधान सभाको निर्वाचन भयो । २०७२ मा संविधान जारी हुनभन्दा अगाडि जनतासँग शिक्षा राजनीतिमा कति अपरिहार्य छ र सांसद हुनलाई न्यूनतम योग्यता कति चाहिन्छ ? भन्दा लगभग नौ लाख जनताले कम्तीमा ग्राजुएट हुनुपर्छ भनेर लेखेर पठाए । त्यसपछि राज्य संयन्त्रमा कोको थिए त भन्दा प्रचण्ड, स्वर्गीय गिरिजाप्रसाद कोइराला, त्यसपछि अहिलेको प्रधानमन्त्री केपी शर्मा ओली, माधव नेपाल र झलनाथ खनाल । उहाँहरुले शिक्षामा जोड नै दिनुभएन ।

त्यो भयो भने आफूहरु त्यो दौडबाट बाहिरिने अवस्था आउने भयो । कम्तीमा किन ग्राजुएटसम्म हुनपर्छ भने अहिले पनि देखिरहेकै हुन्छौँ कि प्रधानमन्त्री अमेरिका जानुभयो अंग्रेजी बुझ्दिनु भएन शिक्षाकै कमीले हो । थाहा नभएपछि थाहा छैन भन्नै पर्यो । त्यसपछि राष्ट्रपतिबाटै बधाइ पठाउने ठाउँमा हार्दिक श्रद्धाञ्जली भनेर गयो, यो पनि शिक्षाकै कमीले हो । अस्ति एउटा सम्मेलनमा विद्यार्थीहरुले प्रधानमन्त्रीलाई एआईको कुरा गर्नुभयो तर एआई भनेको के हो मलाई थाहा छैन भनेर जोकमा गयो । उहाँ लगभग तीन करोड जनता र एक लाख ४७ हजार एक सय एकासी वर्ग किलोमिटरको भुगोलमा बसेको मान्छेहरुको कार्यकारी प्रमुखले जोक गर्ने अधिकार नै छैन ।

उहाँ यति सिरियस हुनुपर्छ कि राष्ट्रको विषयमा बोेल्दा संवेदनशील भएर बोल्नुपर्छ । उहाँले बोलेका कुरा विधान सरह हो । अहिले यति भाँडभैलो आइरहेको छ कि अन्य पाँच वटा पार्टीका सभापतिहरु नै कसरी हुन्छ अर्को पार्टीको मान्छेलाई आरोप प्रत्यारोप लगाउने खेलमा मात्र घुमिरहेका छन् ।

२०४८ पछि डा.रामशरण महत राष्ट्रिय योजना आयोगका उपाध्यक्ष हुनुभयो । त्यसपछि बाहिर पढेर आउनुभएको महेश आचार्य अर्थमन्त्री हुनुभयो । पछि डा. युवराज खतिवडा पनि अर्थशास्त्र बुझेको प्राविधिक मान्छे हो । अर्थतन्त्र बिगारेको रामशरण महतले भन्ने भाष्य बाहिर गएको छ । आखिर बौद्धिक व्यक्तिले गर्दा पनि मान्छेको सकारात्मक सोच आएन । खास नकारात्मक भाष्य मात्र आउनुको कारण के देख्नुहुन्छ ?

तपाईंले राम्रो प्रसंग उठाइदिनुभयो । म व्यक्ति, व्यक्तित्व पनि विश्लेषण गर्छु । डा. बाबुराम भट्टराईको विषयमा मैले विश्लेषण गर्दा उहाँ अर्थमन्त्री भइरहँदा सबै मान्छेले के भनेको थियो भने यो व्यक्ति प्रधानमन्त्री हुनुपर्छ र राज्यलाई उहाँले सञ्चालन गर्नुपर्छ भन्ने कुरा निस्किन्थ्यो । तर, उहाँ कसरी अलोकप्रिय हुनुभयो भने उहाँले जुन फेभरेटिजम र नेपोटिजममा आफ्नै परिवारका मान्छेलाई खानेपानीमा लानुभयो । जुन प्रधानमन्त्रीले त्यसो गर्नु हुँदैनथ्यो । उहाँको श्रीमती गएर काठमाडौं महानगरमा बसेर समानान्तर कार्यक्रमहरु चलाउने ? प्रधानमन्त्री, मन्त्री कसैका श्रीमती, छोराछोरी कोही पनि आउनु हुँदैन, एक्लै आउनुपर्यो । तपाईंले रामशरण महतको कुरा गर्नुभयो । उहाँले आफूले सकेको जति गर्नुभयो ।

कस्तो हुन्छ भने कतिपय चिजमा कुटनीति, परराष्ट्रनीति जस्ता कुराहरु आउँछ । त्यो चिजहरुमा प्रधानमन्त्रीको सिधा प्रभाव हुन्छ । त्यो प्रभाव अनि पार्टीको प्रभाव हुन्छ । त्यो सर्वसम्मत छ कि छैन भन्ने आँकलन हुन्छ । त्यो कारणले गर्दा उहाँ अलि अनपपुलर हुनुभयो । युवराज खतिवडाको कुरा गर्दा उहाँ जितेको सांसद त होइन । उहाँलाई विज्ञको रुपमा राखियो । विज्ञको रुपमा राख्दा पनि उहाँले ल्याएका कर योजनाहरु राम्रा थिए । तर, नेपालको सन्दर्भमा कर योजनाहरुले अलिकति बढी विरोधाभास आउनुभयो ।

राज्यले बढी भन्दा बढी कर उठाउनुपर्छ भन्ने कुराहरु ल्याउनु भयो, त्यो कारणले गर्दा उहाँ अलोकप्रिय हुनु भएको हो । विज्ञहरुमा यो गर्दा के होला यो नगर्दा के होला भन्ने ध्येय र ज्ञान हुन्छ, ‘नलेज म्यानेजमेन्ट सिस्टम’ हुन्छ, त्यो डिसिजन सपोर्ट सिस्टममा उहाँहरुले गर्न सक्नुहुन्छ । तर, यहाँ त असक्षम ८ कक्षा पास गरेको वा एसएलसी पास नगरेको मान्छेले कसरी बुझ्छ ? कमसेकम गरेर राम्रो नहुँदा केही कुरामा फेलियर त हुन्छ नि ! हामी त अविकसित देश हो । तर, गर्नै नसक्ने मान्छे त झन् कामै भएन । थाहै नभएको मान्छेले त के गर्ने ?

विश्वको लोकप्रिय म्यागजिन ‘द इकोनोमिस्ट’ ले ‘ककिस्टोक्रेसी’ शब्द ल्याएको छ । डोनाल्ड ट्रम्पले अयोग्य व्यक्ति नियुक्त गरेको भनेको छ । हामीभन्दा कयौँ गुणा आकास जमिनको फरक भएको देशमा अथवा विकसित मुलुकमा पनि किन त्यस्तो भइरहेको छ ?

अहिले राजनीतिमा ‘डिउ कोर्स अफ एक्सन’ भइरहेको छ । एलन मस्कले डोनाल्ड ट्रम्पलाई समर्थन गर्ने, प्रचार गर्ने गरिरहेका छन् भने उसलाई कम्प्यानसियट त गर्नुपर्यो । नेपालमा चौधरी ग्रुप अफ इन्डष्ट्रिजले केही गरिरहेको छ भने चौधरी स्वयमले सांसदको टिकट पाउनु ठूलो कुरा भएन । जस्तो अहिले मीनबहादुरले केही गरिरहनुभएको छ भने उहाँ भोलि राज्य सभामा या समानुपातिकमा आउनुभयो भने तपाई हामीले ठूलो कुरा मानिरहनु पर्दैन ।

तर, यसलाई पनि व्यवस्था गरिएको छ । केही त्यस्ता स्रोत व्यक्तिहरु जस्तो विज्ञ स्रोत व्यक्तिहरु, बौद्धिक स्रोत व्यक्तिहरु, आर्थिक स्रोत व्यक्तिहरु यिनीहरुलाई पनि ल्याउन पाइन्छ, समानुपातिकको अर्थ त्यहि हो । कुनै आर्थिक स्रोतको व्यक्तित्व ल्याएर केही बन्छ भने ल्याउने हो ।

तर यहाँ त वंशवादले योग्यतावादलाई ल्याउनै दिएन । प्रधानमन्त्री केपी ओलीलाई मान्दा संगठनका सबै व्यक्ति वाह वाह भयो । जुनदिन मान्नुभएन भीम रावलको जस्तो हालत बन्छ । अहिले सञ्चार मिडियाले पनि अब राज्य सञ्चालन युवाले गर्नुपछ भनिरहेको छ । तर, कसरी गर्ने ? गगन थापा र विश्वप्रकाश शर्माले शेरबहादुर देउवाविरुद्ध केही बोलुन् त, अहिले नबोल्दा उहाँहरु वाह वाह भइरहनुभएको छ । जुन दिनदेखि बोल्नुहुन्छ शेरबहादुरको सचिवालयले उहाँलाई घेराबन्दी गरेर फाइल पनि उता फर्केर दिनुपर्ने हुन्छ । भनेपछि, यो देशमा पार्टी भित्रै पनि क्षमतावान् र दक्षतावान् मान्छेहरुलाई पनि गलाइदिन्छन्, उहाँको मानसिकता, ऊर्जालाई गलाइदिन्छन् र अन्तिममा पोष्ट पाउँदा आफ्नो पाइन्टको बेल्ट बाँध्न नसक्ने अवस्थामा हुन्छ अनि के गर्ने ?

हामीले लोकतान्त्रिक प्रणाली भन्छौँ तर नेतृत्वहरुमा तानाशाही प्रवृत्ति देखिएको छ, यसले भविष्यमा पार्ने प्रभाव के हो ?

यसमा अलिकति जोड्न चाहेँ । मैले निकट भविष्यमा ‘नेपालको राजनीतिमा सांगठनिक नेतृत्व’ भनेर किताब लेख्दैछु । त्यो किताबमा के छ भने ओलीको उदय कसरी भइरहेको छ र एमाले पार्टीको कसरी उदय भयो, को को महासचिव वा अध्यक्ष बन्दै गयो, विभिन्न काल खण्डमा नेतृत्व हत्याउन उहाँले के के गर्नुभएको छ र राज्य प्रति कति संवेदनशील छ भनेर मेरो अध्ययनको पार्ट छ । तपाईले हालसालै हेर्नुभयो होला मेलमिलाप दिवसको दिन शेरबहादुर देउवालाई सोफाबाट दुई पटक उठाइदिनु पर्यो । हाम्रो देश, हामीहरु त्यो व्यक्ति प्रधानमन्त्री कहिले बन्ला भनेर रहर र लहरमा बसिरहेका छौँ । दुई जनाले दुई पटक गरेर उठाएको । हामीले उहाँको व्यक्तित्वलाई आक्षेप लगाएको होइन । छोड्दिनुपर्यो, तपाई नै सर्वेसर्वा होइन नि ! यहाँ प्रश्न राज्यको छ ।

हाम्रो अहिले कार्यक्रम पनि यही नै हो कि एउटामा हामीले पिएचडीका ४० जना मान्छेलाई राखेर राज्य समृद्ध नहुनु, विकसित नहुनु, कहाँ समस्याको जड छ र कहाँ गएर अड्कियो भनेर अनुसन्धान गर्दैछौँ । दोस्रो भनेको मौजुदा पाँच वटा पार्टी एमाले, कांग्रेस, माओवादी, रास्वपा र राप्रपाको नेतृत्वको कसले चलाइरहेको छ । भविष्यमा प्रधानमन्त्री त यी पाँच जना नै बस्ने होला । तपाई आउनुहुन्न, मीनबहादुरजी पनि आउनुहुन्न होला, खिलनाथजी जस्तो आउन पनि बेर छैन यो देशमा । अव्यवस्थित व्यवस्थापनको देश भनेको नेपाल हो । अमेरिकन एक जना लेखकले लेख्नुभएको छ – नेतृत्व भनेको परिवर्तन गरिरहनुपर्छ नत्र भने त्यसले दुर्गन्ध फैलाउँछ भन्ने कुरा यहाँ सुनायो भने के होला !

अमेरिकाको पूर्व राष्ट्रपति बाइडेन पनि लगभग ८० वर्ष, अहिले डोनल्ड ट्रम्प पनि ८० को हाराहारीमा राष्ट्रपति बन्दै हुनुहुन्छ । यस्तै कुरा गर्ने हो भने भारतमा मोदी पनि ७० नाघिसक्नुभयो, महाथीर मोहमद पनि ९४ वर्षको उमेर मलेसियाको प्रधानमन्त्री हुनुभएको छ । वृद्धाहरु भइराखेका छन् त ?

यहाँ उमेर मात्र होइन सक्षम, ऊर्जा, सोच पनि भनिराखेको छु । सोच्ने क्षमता, बिहान उठेर देशप्रति चिन्ता गर्न सक्ने, सम्बोधन गर्न सक्ने त्यो दिमाग भएको व्यक्ति जसले राष्ट्रप्रति चिन्तन गर्न सकोस् । चिन्तन गर्दा सारङ्गी बजाएर बस्ने खालको चिन्तन होइन कि हामी यहाँ फरक किसिमको सोचको कुरा गरिराखेका छौँ । जस्तै आज यो गर्दा के हुन्छ भनेर टुल्स एण्ड टेक्नोलोजीहरुको प्रयोग गर्ने, सञ्चार र प्रविधिको दुनियाँमा प्रविधि बुझेको, सञ्चार, सूचना बुझेको हुनुपर्यो । मैले वृद्धलाई मात्र भन्न खोजेको होइन । वृद्धको पनि एउटा अवस्था हुन्छ । त्यो अवस्था जसले औषधी कतिवटा खाने, कुन खाने, कहिले खाने, डाक्टर पछाडि लगाएर हिँड्नु पर्ने भइसकेपछि त्यसले राज्यलाई अग्रगामी दिशातिर लैजान्छ त ? प्रश्न यो हो ।

नयाँ पुस्ता पनि केही गर्छौँ भनेर आएका थिए । सिके राउत यसै हराउनु भयो । रवि लामिछाने सहकारी मुद्दामा पर्नुभयो । यसो हेर्दा नयाँ भन्दा पुरानै नेता ठीक हुन् भन्ने भाष्य बन्दै गएको त होइन ?

म अरुलाई आक्षेप लगाउने, केलाउने र विश्लेषण गर्ने पक्षतिर गइन । म अलिकति भेगमा भनिदिन्छु । अब आउने राजनीतिक नेतृत्वमा तीन वटा कुरा चाहियो । त्यो हो, निष्ठा, इमान्दारी र जवाफदेहिता । यी तीन वटै हुनुपर्यो । तपाई जहाँ बस्नुस्, जे गर्नोस् मुद्दा उठान हुँदैन । जब तपाई राजनीतिमा आउनुहुन्छ तब मुद्दा उठान हुन्छ । तपाई आफूले मसँग केही छैन, म स्वच्छ छु भनेर थाहा पाउनु पर्यो । हो, अहिले हाम्रो खोज त्यहि हो, त्यस्ता नेता आउनुपर्यो ।

दोस्रो सिके राउतको कुरा गर्नुभयो, म उहाँलाई धेरै विश्लेषण गर्दिन । कस्तो हुन्छ भने अहिले पनि नेपालमा अस्तिको परिणामलाई हेर्ने हो भने स्थानीय तहमा त कांग्रेस नै पहिलो भयो । अझै पनि नेपाली समाज, नेपाली जनता नागरिकमा के छ भने एउटा सक्षम व्यक्तिलाई भोट हाल्ने भन्दा पनि हिजो बाले पनि त्यति पार्टीलाई भोट दिए, म पनि उसैलाई दिन्छु भन्ने छ । उनीहरुलाई त्यहि पुरानै पार्टी चाहिएको छ र पुरानै मान्छेले गर्छन् भन्ने आशा राख्छन् । नयाँ मान्छेले त मौका नै पाएका छैनन् । नयाँ मान्छे यस्तो खालको आउनु पर्यो जोसँग निष्ठा, इमान्दारीता र जवाफदेहिता होस् । निष्ठा, इमान्दारीता भनेपछि कहीँ पनि कतै पनि विवाद नभएको मान्छे हुनुपर्यो । जवाफदेहिता भनेको जो राष्ट्रप्रति उत्तरदायी, जवाफदेही, बफादारी हुनपर्यो । बफादारीतामा के सम्म हुनपर्यो भने परि आयो भने आधा तलब लिएर भए पनि राज्य निर्माणका लागि राज्यको वृद्धि विकासको लागि म तयार छु भन्ने खालको मान्छे आउनुपर्यो । भत्ता, गाडी, सुविधा हेर्ने, अरुलाई गाली गरेर युट्युबमा छाउने युवा भएर भएन । युवा त्यस्तो आउनुपर्यो परिआयो भने दुई छाक दाल भात खान्छु, म अरु केही विलासिता लिँदिन, म राज्यको लागि परिआयो भने आधा तलबमा पनि काम गर्छु भन्ने हुनुपर्यो ।

एउटा सांसद हुँदा सबै सचिवालय, ड्राइभर, पेट्रोल, घर भाडा सबै सेवा सुविधा लिँदा तीन लाख ६२ हजार पर्छ । अनि त्यो मान्छेको शिक्षाले त्यो भार डिजर्भ गर्छ त उसको अनुभव, क्षमता, दक्षताले ? प्रश्न यहाँनेर छ । उनीहरुमा फेरि त्यहि घमण्ड छ । मेरो योग्यताले सरकारको जागिर खान कोशिस गरेको भए त पिउन पनि हुन्थिन होला भन्ने त बुझ्दैनन् । ग्राउण्ड रियालिटी के हो त्यो बुझ्नुपर्यो नि ! नेपालमा बसेर सिंगापुरको प्रति व्यक्ति आयको आश गर्नुहुन्छ भने तपाई गलत हुनुहुन्छ । तर, नेपालमा बसेर नेपालकै प्रति व्यक्ति आय ५ प्रतिशत १० प्रतिशत बढाउँछु भन्यो भने तपाई राम्रो व्यक्ति हुनुहुन्छ । धेरै नेताहरुले सुशासनका, भ्रष्टचार निवारणका खोक्रा भाषण गरे ।

गगन थापा ज्यूले पनि भन्नुभएको कुरालाई मैले यहाँ जोड्न चाहेँ । जो जसलाई आरोप लागेको छ उसले भाषण दिनुभन्दा, पोडियममा बोल्नु भन्दा अगाडि मबाट सुरु गर भन्न सक्नुपर्छ । सम्पत्ति शुद्धिकरण मबाटै सुरु गर । बाख्रा काण्डको मलाई आरोप आइरहेको छ या सहकारी काण्ड होस् या गिरिबन्धु वा लाउडा काण्ड होस् या भुटानी शरणार्थी काण्डको होस् । सर्वोच्चको कुन कुन टिम बसेर छानबिन गर्ने हो गर्देऊ, म क्लिन भएपछि मात्र राजनीतिमा आउँछु भन्न सक्नु पर्यो । जो जसलाई आरोप लागेको छ, ती सबैले यस्तो भन्न सक्नुपर्यो । त्यसपछि मात्र यो देशको पुनर्संरचना हुन्छ । आफ्नो आरोप लुकाउने अरुको आरोपलाई प्रकरण बनाउने, समात्ने, थुन्ने गरेर हुँदैन ।

सकारात्मक सोचको सुरुवात आफैँबाट हुन्छ । निर्णय, सोच, आदर सबै आफैँबाट सुरु हुन्छ । तपाईले मलाई सम्मान गरे पो तपाईलाई म त्यही गर्छु । पहिला मलाई रेस्पेक्ट गर भनेर कसले गर्छ ? यस्तै, कुनै पनि आरोपितहरु चाहे त्यो सानो होस् या ठूलो होस्, चाहे मिडियालाई लगाएको आरोप होस्, चाहे न्यायलाई लगाएको आरोप होस् । त्यो आरोप खण्डन गर्ने क्षमता छैन भने त्यो नेता होइन । सार्वजनिक पदमा आउने, ठूला ठूला प्राडो र टिएक्स चढ्ने, राज्यको सबै संयन्त्रमा बस्ने, मन्त्री क्वाटर मिलेन भनेर अर्को क्वाटर भैँसी पाटीमा बनाउन लगाउने, सिंहदरबारको सबै जग्गा जति भरिसके । त्यहाँ तीन वटा टावर बनाइदिएको भए सबै मन्त्रालय एकै ठाउँमा बस्न पाउँथ्यो नि ! सबै अकुपाई गरियो किनभने दश प्रतिशत कमिसन पोलिसिले हो । लिगल पोलिसिमा कमिसन आउँछ, त्यसैले बिल्डिङका बिल्डिङ बनाए । चन्द्र सम्शेरले त्यत्रो जग्गा राखेको ठाउँ, अहिले त्यहाँ जाँदा कुनै ठाउँ खाली छैन । त्यहाँ त्यति धेरै पानीका स्रोतहरु थिए, सबै खत्तम भए ।

बौद्धिक वर्गको कुरा गर्ने हो भने कोही पढाई राखेका छन् । कोही पढ्दा दुःख पाइराखेका छन् । कोही शिक्षक छन्, कोही प्राध्यापक छन्, कोही एमबिबिएस डाक्टर छन्, कोही इन्जिनियर छन्, कोही पाइलट छन् त कोही चार्टर्ड एकाउन्टेन छन् । ती मेहनत गरेर आएका व्यक्तिहरुले त दुई छाक खाना मात्र खाए भने पनि काम गर्छन् । उनीहरुलाई त्यो भिएक्स, टिएक्स चाहिएको छैन । पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व मन्त्रीहरुलाई किन त्यो गाडी दिनुपर्यो ?

यहाँको सोचमा कस्तो किसिमको राज्य पुनर्संरचना आवश्यक छ ?

अहिले राज्य संकटमा छ, परिआयो भने ‘प्यान्डामिक’ अवस्थामा केही प्रतिशत तपाईको बैंकको पैसा पनि राज्यले लिन सक्छ । तुरुन्तै सेवा, सुविधा सबै घटाउनु पर्यो । राहुल गान्धी भारतको कांग्रेस आईको एकदमै पपुलर नेता जसले आफ्नै देशमा बनेको गाडी लिएर हिँड्नुहुन्छ । हाम्रा नेता चाहिँ जापानमा बनेको प्राडो भिएक्स र टिएक्स चढ्नुपर्ने ? नेपालमा नबने पनि भारतबाट ल्याएको २० लाख २५ लाखको गाडि चढे हुँदैन ? राज्य पुनर्संरचनाको कुरा गर्दा पहिला त्यो आउनु पर्यो । दोस्रो भनेको, हामीले एउटा विश्लेषण गरेका छौँ, मैले लेखेको पनि छु । कमसेकम दुई सय ७५ व्यक्तिले आधा तलब र एक रुपैयाँको पनि भ्रष्टचार नगर्ने हो भने अनि ती मान्छेहरु निष्ठावान, इमान्दारी, जवाफदेही बन्दियो भने तपाईसँग काम लिन आउने मान्छेहरु डराउँछन् । राज्य पुनर्संरचनाको पहिलो जग त्यहिँबाट बस्छ । अहिले त चुनाव नै यति महंगो भयो कि अर्को चुनावलाई टिकट निकाल्न पार्टीलाई अण्डर टेबल दिनपर्यो । अर्को चुनाव प्रचार प्रसारमा खानपिन गराउनु पर्यो । त्यो नगरि चुनाव नजित्ने भएपछि सत्तामा हुँदा कमाऊ गर्नु परेन ?

बालेन त अहिले क्लिन छन्, राम्रो काम पनि गरिरहेका छन्, वाहवाही कमाइरहेका छन् । भोलिको दिनमा उनी पनि पार्टीमा आउनुपर्यो भने उनको पनि स्थिति यही होला नि ! त्यो सम्भावना के देख्नुहुन्छ ?

चार/पाँच वटा पार्टीको मुलधारको विषयमा कुराकानी गर्यौँ । बालेनको चुनावी अभियानमा म एकदम नजिक छु । उहाँले लेखेको घोषणा पत्र, प्रतिबद्धता पत्र अहिले पनि मसँग छ । समय आएपछि उहाँले के के वाचा बन्धन गर्नुभएको थियो, त्यसलाई म केलाउँछु । अहिले मैले खुलाइन । उहाँले गरेका कमिटमेन्टहरु मलाई थाहा छ, त्यो पूरा भएको छैन । समय आएपछि म खुलाउनेछु ।

भिडियो हेर्नुहोस् :

https://youtu.be/3rkfebmoKfg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ