काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले समाजवाद निर्माणमा तत्काल लाग्न आह्वान गरेका छन् । शनिबार काठमाडौंमा एकदेव आलेको ५६ औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।
उनले पुष्पलाललाई स्मरण गर्ने हो भने तत्काल समाजवाद निर्माणमा लाग्नुपर्ने उल्लेख गरे । उनले समाजवाद निर्माणमा नलाग्ने हो भने जिब्रो पड्काएर मात्रै केही नहुने बताए ।
उनले नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै सरकार दलाल हो भनेर आलोचना गर्नु दुःखद् भएको बताए ।
उनले कांग्रेससँग मिलेर निर्वाचन लड्ने, सरकार बनाउने र फेरि पनि मिल्न पाए मिल्ने कोशिस गरिरहेको भन्दै अहिले सरकार दलाल हो भनेर आलोचना गर्नु उचित नभएको बताए ।
उनले भने, ‘पुष्पलाललाई सम्झिने हो भने तत्काल समाजवाद निर्माणमा लागौँ, एकदेव आलेलाई सम्झिने हो भने तुरुन्तै समाजवाद निर्माणमा लागौँ । यदी तुरुन्तै कोही लाग्दैन भने ओठ पड्कार्ने, जिब्रो फड्कार्ने, दिनभर यहाँ बसेर कुरा गर्ने, घर गएर अरुको कमाइ खाने । तपाईं तयार हुनुहुन्छ की हुनुहुन्न समाजवाद निर्माणका लागि । आलोचना त गर्नुभयो यो सरकार दलाल सरकार हो भनेर ।
तपाईं सरकारमा भएको भए के हुन्थ्यो ? तपाईंको पार्टी सरकारमा गएन । चुनावमा पनि त्यही कांग्रेससित मिलेर, सरकारमा पनि त्यही कांग्रेससित मिलेर । अनि कांग्रेस के हो ? कम्युनिष्ट के हो ? भनेर बखान गर्नुहुन्छ, भत्भताउनु हुन्छ । त्यहाँ मिलेर आउनुहुन्छ । पाए अहिले पनि मिल्ने कोशिस छ ।’
उनले कम्युनिष्ट हो भने अब समाजवाद निर्माण गर्न लाग्नुपर्ने बताए ।