काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदको आउँदो अधिवेशनलाई प्रभावकारी बनाउने विषमा प्रमुख विपक्षी दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन् ।
आईतबार सिंदरबारमा भएको छलफलमा सभामुख घिमिरेले सदनलाई गतिशील बनाउँदै कानून निर्माणमा जोड दिने विषयमा छलफल भएको नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले बताए । उनले छलफलमा कार्यव्यवस्था परामर्श समिति बैठकका एजेण्डा र संसदको प्रभावकारिताको विषयमा छलफल भएको बताए ।
उनकाअनुसार सभामुख घिमिरेले समितिमा विचाराधिन विधेयकलाई अगाडि बढाउने विषयमा सुझाव लिएका छन् । छलफलमा परामर्श समितिको बैठकमा ठोस निर्णय गर्दै संसदको कार्यतालिता बनाएर अगाडि बढ्ने विषयमा समेत छलफल भएको उनले बताए ।
उनले भने, ‘कार्यव्यवस्था परामर्श समितिको बैठक १५ गते बस्दैछ । त्यसमा लैजानुपर्ने एजेण्डाहरु र कति बजेबाट शुरु गर्ने भन्ने विषयवस्तु र संसदीय समितिका बैठकहरुबाट विधेयक आउन ढिलाई भएको भन्दै त्यसको लागि के गर्नुपर्छ भन्ने विषयमा जिज्ञासाहरु राख्नुभएको थियो । हामीले आफ्नो सुझावहरु त्यहाँ दिएका छौं ।
अझै सबै प्रमुख सचेतहरुसँग बसेर गृहकार्य गर्ने र त्यसपछि पर्सि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा ठोस निर्णय र कार्यतालिका बनाएर अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको छ । हामीले अध्यादेशका बारेमा कुरा राख्यौं । सरकारले संसदलाई राम्रोसँग रिस्पोन्स गरिरहेको छैन । किनभने अर्थसम्बन्धी एउटा विधेयक संसदको अर्थ समितिमा छलफलकै क्रममा आएको छ ।
तर त्यसबारे अध्यादेश आएको छ । यो मिलेन भनेर भन्यौं । त्यसका कन्टेण्टमा त अझै हामीले कुरा गरेकै छैनौं । हामीले अध्यादेशको बारेमा संसदमै कुरा राख्ने र सरकारको यो कदम ठिक नभएको कुरा राख्यौं ।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले छलफलका क्रममा कानून निर्माणमा सरकार गम्भिर हुन आवश्यक रहेको धारणा राखेको बताए । उनले कानून निर्माणमा प्रतिपक्षी दलहरु सहयोग गर्न तयार रहेपनि सरकार गम्भिर नभएको बताए ।
कानून निर्माण सरकार सक्रिय भएन भने संसद प्रभावकारी नहुने भन्दै त्यसको लागि सत्तापक्षसँग अझै छलफल गर्न सुझाव दिएको परियारको भनाइ छ ।