काठमाडौं । पाथिभरामा केबुलकार चाहिन्दैन (नो केबुलकार) अभियान चलाइरहेका व्यक्तिहरु ताप्लेजुङ जिल्ला बाहिरको भएको खुलेको छ । ताप्लेजुङ बाहिरका व्यक्तिहरु पहिचानको नाममा केबुलकार परियोजना बन्न नदिएर जिल्लावासीको भविष्य अन्धकारमा पार्न कम्मर कसेर लागेको देखिएको छ ।
‘नो केबुलकार’ नाममा पहिचान पक्षबाट सरकारी वार्ता टोलीमा सहभागिता जनाउने व्यक्ति ताप्लेजुङ जिल्लाको नभएको यसअघि नै सार्वजनिक भइसकेको छ । यस्तै नो केबुलकार आन्दोलनमा सघाउन भनेर पूर्वमन्त्री राजेन्द्र महतो पनि गत साता ताप्लेजुङ पुगेका थिए । उनी सर्लाही जिल्लाबाट निर्वाचित भएर पटक पटक मन्त्री बनेका व्यक्ति हुन् ।
उनलाई ताप्लेजुङमा केबुलकार बन्नु र नबन्नुमा कुनै सरोकारको विषय हैन । तर, राजनीतिक रोटी सेक्न उनी ताप्लेजुङ पुगेका थिए ।
केबुलकार परियोजनाको विरोधी भन्दै ताप्लेजुङबासीले महतोलाई कालोझण्डा देखाएका थिए । जातिय पहिचानको पक्षधर देखाएर राजेन्द्र महतोले राजनीतिक रोटी सेक्न खोजिरहेका छन् ।
यता आन्दोलनमा सहभागी भइ पक्राउ पर्ने सबै ताप्लेजुङ बाहिर जिल्लाको भएको खुलेको छ । यति मात्र हैन विदेशबाट पनि नो केबुलकार अभियान चलाउने अधिकाँश जिल्ला बाहिरको भएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले एक प्रेस विज्ञप्ति जारी गर्दै आपराधिक उपद्रव र हुलदङा गर्ने अभियोगमा उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्ने १५ जना मध्ये ताप्लेजुङका एक जना मात्र रहेका छन् । अन्य सबै जिल्ला बाहिरका र जसमा चार जना महिला छन् । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका– १ निवासी ४५ वर्षका नवीन पोमू रहेका छन् । प्रहरीले नियन्त्रणमा लिएकामध्ये ताप्लेजुङका स्थानीय उनी मात्रै हुन् ।
प्रहरीले फिदिम नगरपालिका ११ पाँचथर निवासी २२ वर्षका एमन राई, फालेलुङ गाउँपालिका– ८ घर भई हाल फिदिम नगरपालिका १ बस्दै आएका ४० वर्षकी सुनिता केरुङलाई पनि नियन्त्रणमा लिएको छ ।
हिलिहाङ गाउँपालिका– ६ घर भई हाल अर्जुनधारा नगरपालिका ११ निवासी ४८ वर्षका मित्र लिङदेन र मिक्लाजुङ गाउँपालिका –५ घर भई इलाम नगरपालिका– ७ निवासी ५१ वर्षका योगेन्द्र लावती पनि पक्राउ परेका छन् । यस्तै, आठराई गाउँपालिका– ७ तेह्रथुम घर भई झापा अर्जुनधारा नगरपालिका ११ निवासी ३० वर्षकी दीक्षा क्षेत्रीलाई पक्राउ परेको प्रहरीले जनाएको छ ।
यस्तै शिवसतासी नगरपालिका २ झापा स्थायी घर भई बिर्तामोड नगरपालिका २ निवासी २० वर्षकी ईक्सा लिम्बू, अर्जुनधारा नगरपालिका ४ झापा निवासी २१ वर्षकी निहा चेम्जोङ पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका ३ सुनसरी निवासी २३ वर्षका विवेक लिम्बू, सोही निवासी १९ वर्षका जुरन राई, इटहरी उपमहानगरपालिका २ निवासी ३२ वर्षका अर्जुन भन्ने बिर्ख बहादुर तामाङ, इटहरी उपमहानगरपालिका २० निवासी ३२ वर्षका अनुप सुब्बा, र इटहरी उपमहानगरपालिका १० निवासी १९ वर्षका विशेष सुब्बा रहेका छन् ।
यस्तै ग्रामथान गाउँपालिका–६ मोरङ घर भई हाल सुन्दरहरैचा नगरपालिका १० बस्दै आएका ५८ वर्षका तुलाराम तामाङ र उर्लाबारी नगरपालिका १ मोरङ निवासी ३९ को हरि लिम्बू गरी जम्मा १५ जना पक्राउ परेका छन् ।
उनीहरूलाई मुलुकी अपराध संहिता बमोजिम जिल्ला अदालतबाट सात दिनको अनुमति लिएर अनुसन्धान बढाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
नो केबलकार समूहले आयोजना गरेको मुक्कुमलुङ पदयात्राका लागि जिल्ला बाहिरबाट आएका केही व्यक्तिले शनिवार साँझ फुङलिङमा प्रदर्शन गरेका थिए । पाथीभरा स्थित काफ्ले पाटीमा ४ दिनसम्म विरोध प्रदर्शन गरी शनिवार साँझदेखि सदरमुकाम केन्द्रित भएका भएका थिए । अहिले फुङ्लिङमा निषेध आज्ञा जारी गरिएको छ ।
प्रसिद्ध देवी पाथिभरासम्म पुग्न अशक्त एवं वृद्धवृद्धाका लागि सहजता प्रदान गर्न निर्माण गर्न लागिएको केबुलकार परियोजनालाई पहिचानका नाममा राजनीति गरेपछि ताप्लेजुङबासी असन्तुष्ट बनेका छन् । ताप्लेजुङको विकास रोक्न बाहिरी र असम्बन्धित व्यक्तिहरु लागेपछि आक्रोशित स्थानीयहरुले पाथिभरामा छिटो केबुलकार निर्माण प्रक्रिया सुरु गर्न भन्दै गत मंगलबार सदरमुकाम फुङलिङमा प्रदर्शन गरेका थिए ।
ताप्लेजुङको विकास र सम्वृद्धि रोक्न जिल्ला बाहिरका मान्छेहरु नलाग्न चेतावनी दिदै ताप्लेजुङ्ग विकास प्रेमी युवा समाजको आयोजनामा यहाँका राजनीतिक दल, स्थानीय सरकार, जनप्रतिनिधि, नागरिक समाज तथा विभिन्न संघसंस्थाले निर्माण प्रक्रिया तत्कालै थाल्न दबाब सिर्जना गर्न हजारौं स्थानीयहरु प्रदर्शनमा उत्रिएका थिए ।
उनीहरुले आफ्नो जिल्लामा र अधिकांश जिल्लाबासीको सहमतिमा निर्माण हुन लागेको सो परियोजनामा अवरोध भइरहेकोप्रति असन्तुष्टि जनाउँदै नो केबुलकारका नाममा काठमाडौँमा गरिएको भनिएको वार्ताको कुनै अर्थ नरहेको जनाएका छन् ।
हुनत यो बृहत परियोजनाले समग्र कोशी प्रदेशकै आर्थिक विकास र जनताको उन्नतिका लागि सहयोग पुर्याउँछ तर पनि पहिलो प्रत्यक्ष प्रभावित र लाभान्वित हुने भनेको ताप्लेजुङ जिल्लाकै बासिन्दा हुन् । तर उनीहरुलाई खासमा भन्ने हो भने बोल्न दिइएको छैन ।
आयोजनास्थलमा पनि बाहिरकै मान्छे जान्छन, हुल हुज्जत गर्छन र प्रहरीमाथि नै जाइलागेर गोली हान्न बाध्य बनाउँछन । यो आयोजना समयमै बन्दा सबैभन्दा बढी फाइदा ताप्लेजुङबासीमा हुने भएकाले उनीहरु परियोजना समयमै सक्न चाहन्छन ।
तर केही समययतादेखि यो परियोजनालाई राजनीतिकरण गरिएको छ । यो राजनीतिकरणले स्थानीयको मुद्दालाई छायाँमा पारेको छ । यहाँसम्म कि यसअघिका वार्ता समितिलाई भंग गरेर फेरि अर्काे वार्ता टोली बनाइएको छ तर पनि त्यसमा ताप्लेजुङ जिल्लाका प्रतिनिधि भने छैनन् । यसबाट उनीहरु विकास रोक्न र अर्काको जिल्लामा भएको विकास निर्माणको कार्यमा अवरोध गर्न चान्छन् ।
जिल्लाका सबै राजनीतिक दलका नेताहरु परियोजना बन्नुपर्ने बताउँछन् । अहिले उनीहरु आफ्ना बारेमा काठमाडौँमा बसेर कुनै अमुक व्यक्ति तथा समूहले गरेका कुनै पनि निर्णय नमान्ने पक्षमा रहेको बताएका छन् । ‘आयोजना निर्माण हुने हाम्रो जिल्लामा हो । यसबाट प्रभावित हुने अथवा भनौँ लाभान्वित हुने भनेका हामी हौँ ।
तर काठमाडौँमा केबुलकार बनाउन हुन्न भन्ने पक्षले सरकारसँग वार्ता गरेको भन्ने सुनेका छौँ । यदि हाम्रा स्थानीयका एजेण्डा समेटिएनन् भने, यदि केबुलकार नबनाउने निर्णय गरिए हामीलाई मान्य हुँदैन’ जिल्लावासीको भनाई छ ।
यो पनि :
‘पाथीभरामा केबलकार बनेपछि २० करोड जनसंख्या ताप्लेजुङसँग जोडिन्छ, यो सानो कुरा होइन’
केबुलकारको विरोध गर्न पुगेका महतोलाई ताप्लेजुङवासीले देखाए कालोझण्डा, समाज भाँड्न लागेको आरोप
पाथिभरामा केबुलकार बनाउन माग गर्दै ताप्लेजुङमा स्थानीय बासिन्दाको विशाल प्रदर्शन
पाथिभरा केबुलकार : वार्ता कमिटीमा बाहिरका सदस्य, ताप्लेजुङबासी असन्तुष्ट
प्रतिक्रिया दिनुहोस