
दाङ । सरकारले दाङको घोराही–तुलसीपुर जोड्ने चार लेनको सडक निर्माण अगाडि बढाउन लागेको छ । यसका लागि सरकारले बोलपत्र आह्वान गरेको छ ।
भारतीय निर्यात आयात (एक्जिम) बैंकको ऋण लगानीमा निर्माण हुने उक्त सडकको ठेक्का छ वर्षअघि भारतीय कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टले पाएको थियो । तर उक्त कम्पनीले अन्य नेपाली ठेकेदार कम्पनीलाई जिम्मा लगाएपछि सडक निर्माणले गति लिन सकेको थिएन ।
पछिल्लो पटक २०७८ साल फागुन २६ गतेदेखि श्रेष्ठ कन्स्ट्रक्सनलाई सडक निर्माणको जम्मेवारी दिइएको थियो । उक्त कम्पनीले पनि सडकका दायाँबायाँ ठुल्ठूला खाल्डा बनाएर काम छाडेको भन्दै चौतर्फी विरोध भएपछि सरकारले उक्त ठेक्का सम्झौता तोडेको थियो ।
अहिले पुनः नेपाल सरकारकै लागतमा मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले ठेक्का आह्वान गरेको हो । आयोजनाको लागत तीन अर्ब १९ करोड रुपैयाँ रहेको छ ।
मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयका निर्देशक इन्जिनियर दीप बाराहीका अनुसार यही फागुन ३० गतेसम्म आवेदन गर्ने अवधि छ । उनका अनुसार विगतजस्तो कतै चार लेन र कतै दुई लेन नभइ सबै खण्डमा चार लेनको सडक हुनेछ ।
विगतमा बजार क्षेत्रमा दुई लेन मात्रै सडक बनाउने प्रस्ताव थियो । घोराहीको डिके पेट्रोलपम्पदेखि तुलसीपुरको हातीखौवासम्मको २१ किलोमिटर सडक खण्ड ३० मिटर चौडाइको हुनेछ । सम्झौता भएको ३६ महिनाभित्र काम सक्ने गरी आयोजनाको काम अघि बढ्नेछ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend