
काठमाडौं । काठमाडौं महानगरपालिकाले गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्स (जिकेसिसी) को डिजाइन स्वीकृत गरेको छ । महानगरपालिकाले जिकेसिसीको डिजाइन स्वीकृत गरेपछि बैंकबाट ऋण लिने प्रक्रिया अघि बढाएको छ ।
जिकेसिसीले कम्प्लेक्स बनाउन सिद्धार्थ बैंकबाट ऋण लिने तयारी गरेको छ । अहिले कम्पनीको प्रस्ताव मूल्याँकन भइरहेको र छिट्टै ऋण लगानी स्वीकृत हुने कम्पनी स्रोतले सुनौलो नेपाललाई बतायो । बैंकबाट ऋण लगानी नजुटिसकेकाले निर्माण हुने मिति तय नभएको स्रोतको भनाई छ । तारे होटलसहितको पूर्वाधार बनाउन सवा ६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
गोपिकृष्णले स्टार प्लस होटलसहितको लक्जरी अपार्टमेन्टमा लगानी गर्न विदेशी लगानीकर्ताले सहमति गरेका छन् । गत वैशाख दोस्रो साता राजधानीमा भएको तेस्रो लगानी सम्मेलनमा जिकेसिसी परियोजनामा लगानी गर्न चिनियाँ सिन्चेन ह्वाह इन्टरनेसनल ग्रुप लिमिटेड, जज्याङ् अर्बन कन्स्ट्रक्सन ग्रुप तथा भारतीय कम्पनी क्रस काउन्ड्री एड्भाइजरी र साइस्पेक्टिभ इन्टरनेसनलले सम्झौतापत्रको मस्यौदा साटफेर गरेका थिए ।
त्यसबेला लगानीकर्ताहरूसँग कम्पनीका तर्फबाट प्रवन्ध निर्देशक निरक पौडेलले सम्झौतापत्रको मस्यौदा साटफेर गरेका थिए । राजधानीको चाबहिलमा जिकेसिसीले लक्जरी अपार्टमेन्ट, स्टार प्लस होटेल, कर्मसियल सपिङ मल र मल्टिप्लेक्स सिनेमा सहितको कम्प्लेक्स बनाउने तयारी गरेको छ ।
लगानी सम्मेलनमा गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्सलाई निजी क्षेत्रको तर्फबाट सोकेसमा राखिएको थियो । सम्मेलनको दोस्रो दिन बिजनेस टु बिजनेस (बिटुबी) प्यानल छलफलमा भारतीय र चिनियाँ लगानीकर्ताहरुले चासो देखाएका थिए ।
पहिलो चरणमा अपार्टमेन्ट, दोस्रो चरणमा स्टार होटलपछि मल्टिप्लेक्स सिनेमा र सपिङ मल निर्माण हुने भएको छ ।
चाबहिलको प्राइम लोेकेसनमा अवस्थित परियोजना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पशुपतिनाथ मन्दिर र बौद्ध स्तुपा जस्ता धार्मिकस्थलहरु नजिक रहेको छ ।
एउटै भवनभित्र धेरैवटा हल भएको गोपीकृष्ण मुभिजको भवन भत्काएर पाँचतारे होटलसहितको कम्प्लेक्स बन्न लागेको हो । चलचित्र क्षेत्रमा मन्दी आएसँगै सञ्चालक पौडेलले चलचित्र भवन भत्काएर पाँचतारे होटलसहित गोपिकृष्ण कम्प्लेक्स सेन्टर बनाउने तयारी थालेका हुन् ।
१० रोपनी जग्गामा जिकेसिसी निर्माण हुने बताइएको छ । भवन १६ तलाको हुनेछ । जसमध्ये ‘अन्डर ग्राउन्ड’ दुई तला र बाँकी १४ तला व्यावसायिक प्रयोजनका हुने बताइएको छ ।
कम्प्लेक्समा बन्ने पाँचतारे होटलमा १ सय ५७ कोठा रहने बताइएको छ । ग्रिनरी, चिल्ड्रेन पार्क, फुडपार्क, गेमिङ जोनलगायत हुनेछन् । पाँच तलासम्म सपिङ कम्प्लेक्स र त्यसभन्दा माथि लक्जरी होटल हुनेछ ।
पहिलो चरणमा अपार्टमेन्ट, दोस्रो चरणमा स्टार होटलपछि मल्टिप्लेक्स सिनेमा र सपिङ्ग मल निर्माण हुने बताइएको छ ।
कम्प्लेक्स बनाउन गोपिकृष्ण हल बन्द
तीन दशकदेखि सञ्चालनमा रहेको गोपिकृष्ण मुभिज बन्द भएको छ । गोपिकृष्ण मुभिज फागुन १ गते मंगलबारदेखि बन्द भएको हो । गोपिकृष्ण मुभिज २०५२ सालदेखि सञ्चालनमा आएकाे हो।
गोपिकृष्ण कुनै समय मुलुककै ठूलो र सबैभन्दा बढी चलेको फिल्म हल थियो । कोरोना महामारीका कारण २०७६ चैतदेखि सुरु भएको बन्दाबन्दी र त्यसपछिको निषेधाज्ञाका कारण लामो समय हल सञ्चालन हुन सकेन । यसको असर मुभिजमा परेको थियो । हलमा यसअघि गोपी, कृष्ण, राधा, मीरा, ओम, नम र शिवाय नामका सातवटा हल सञ्चालनमा थिए । गोपीकृष्ण मात्र हैन राजधानीलगायत अन्य शहरहरुमा पुराना हल प्राय सबै बन्द भइसकेका छन् ।
यो पनि :
चीन र भारतका चार कम्पनीले गरे पाँचतारे होटलसहितको गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्समा लगानी सहमति
तीन दशक पुरानो गोपिकृष्ण हल बन्द, ६ अर्बमा पाँचतारे होटलसहित ‘बिजनेस कम्प्लेक्स’ बनाउने !
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend