
विराटनगर । नेकपा एमालेका उपाध्यक्ष राम बहादुर थापा (वादल) ले नेपालको विकासको लागि नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्ने आवश्यक रहेको बताएका छन् । नेकपा एमाले माेरङको १० औं जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले असमानता र राजनीतिक अस्थिरताको अन्त्य गर्न सक्ने भएकाले पनि निर्णायक शक्ति बनाउन आवश्यक रहेको बताएका हुन् ।
उनले यी तीन कुरालाई सहि दिशामा लैजान सक्ने सामथ्र्य माओवादी लगायत साना दलमा नरहेको उल्लेख गरे ।
प्रमुख अतिथि समेत रहेका उपाध्यक्ष थापाले सर्वसहमतिमा नेतृत्व चयन गर्न आग्रह गरेका छन् । पार्टीमाथि चौतर्फी घेरावन्दी भएको समयमा नेताहरु एकापसमा मिलेर सहमतिमा नेतृत्व चयन गर्न उनले आग्रह गरेका हुन् ।
उनले भने, ‘सहमति हुनै नसकेको अवस्थामा मात्रै व्यक्तिगत रुपमा प्रतिष्पर्धामा जानुहोला ।’ चिट बाँडेर, समूहगत प्रतिष्पर्धा नगरी नेतृत्व चयनमा उनको जोड छ । पार्टी एक ढिक्का भएमात्रै मिसन ८४ सफल हुने उनको भनाई छ ।
त्यसैगरी नेकपा एमालेका उपाध्यक्ष गुरु बरालले अव पार्टी भित्रको विवाद धेरै झेल्न नसक्ने बताएका छन् । नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपाध्यक्ष बरालले जिल्ला अधिवेशनपछि पालिका र वडाको अधिवेशन गर्नुपर्ने भएकाले जिल्लामा निर्वाचन हुँदा एक थरिको मन फाट्न सक्ने बताउँदै जिल्लाको नेतृत्व सहमतिमा निर्माण गर्नुपर्नेमा जोड दिए । उनले भने, ’फाटेका मन टाल्ने कुनै सुपर ग्लु हामी सङ्ग छैन ।’
उनले समाजवादको निर्माण र कार्य दिशालाई बोक्न पाटी भित्रको एकता आवश्यकता रहेको बताए । सबैको एकता, साथ र सहयोगबाट पाटी निर्माण हुने उनको भनाई छ ।
पाटीको सिद्धान्त कार्यनीति र कार्यक्रममा एकताले पार्टीको नेतृत्वलाई मेरो विषय बनाउनुपर्ने उनको भनाई थियो ।
त्यस्तै, नेकपा एमालेका उप महासचिव प्रदीप ज्ञवालीले पाटी भित्रको प्रतिस्पर्धा लाई ठूलो विषय बनाउन नहुने बताएका छन् । एमाले मोरङको १० औं अधिवेशनमा बोल्दै पाटीको आन्तरिक जीवन लोकतान्त्रिक हुनुपर्ने भन्दै अमुक कमरेडलाई नेता बनाउने गरी हिँड्न नहुने बताए ।
उनले पाटीको लोकतान्त्रिक जीवन पनि स्वास्थ्य बनाउनु पर्ने बताए । उनले भने, ‘आन्तरिक जीवन लोकतान्त्रिक नभए बाहिर पनि लोकतान्त्रिक हुन सक्दैन ।’ उनले लोकतान्त्रिक प्रतिस्पर्धीमा पनि मनोगत रूपमा विश्लेषण हुने गरेकाले समस्या भएको बताए ।
उनले पाटी भित्र अमुक व्यक्तिहरूसङ प्रतिस्पर्धा हुने गरेको भन्दै उनले क्रान्तिको अभिभारा पुरा गर्न पाटी भित्र को प्रतिस्पर्धालाई ठुलो बनाउन नहुने बताए ।
उनले भने, ‘अहिले पाटी भित्रका कमरेडहरूसङ सङ्गै बसेर चिया खान नसक्ने कांग्रेस र माओवादीसँग लन्च गर्न सक्ने अवस्था रहेकाले यसलाई चिर्न पर्छ ।’ उनले यसलाई चिर्न नसके राजनीतिक क्रान्ति सम्पन्न भए पनि यसको अभिभारा पुरा नहुने बताए । उनले अहिले केही पाटीहरू सरकार बनाउन उद्योग चलाएर हिडेकाे बताए । उनले भने, ‘माओवादी अध्यक्षलाई सत्ताबाट हटेपछि सहिदहरूको सम्झना आएको छ । केराको पातको याद आएको छ ।’
उनले माओवादीले पहिला भौतिक संरचनाहरू भत्काएको भन्दै त्यसलाई बनाउन अहिले सरकारलाई बनाउन समय लागेको बताए ।
उनले अहिले प्रचण्ड पहिचानको नाममा देशमा फेरि अराजकता मच्चाउन सकिन्छ कि भनेर लागेको बताए । उनले भने, ‘हिजो कोशीका सांसदले नामकरण गरे । नाम राख्न माओवादीका सांसद पनि लाम लागे । सत्ताबाट हटेपछि माओवादी पुन पहिचानको नाममा अराजकता फैलाउन लागेको छ ।’
अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले सहमतिमा नेतृत्व चयनमा जोड दिए । उनले सहमति नभए निर्वाचन जान सकिने बताउँदै सहमतिका नाममा लाद्ने काम नहुने बताए ।
स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एमालेमा एकता भए मोरङमा कुनैपनि राजनीतिदलले प्रतिष्पर्धा गर्न नसक्ने दावी गरे । मोरङमा जुझारू नेतृत्व आवश्यक रहेको बताउँदै कार्कीले अधिवेशनले जुझारू नेतृत्व चयनगरि एमालेलाई मोरङमा एक नम्बर बनाउन आग्रह गरे ।
केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरेले मोरङको समृद्धिको खाका अधिवेशनले बनाउने बताए । राजनीति र सांगठनिक यात्राको खाका बनाएर अघि बढ्ने बताउँदै उनले सहमतिमा नेतृत्व चयनका लागि जोड दिए ।
कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले विगतको समीक्षा, आगामी कार्यक्रमबारे अधिवेशनमा छलफल गरि आगामी कार्ययोजना बनाउन आग्रह गरे । उनले सहमतिमा नेतृत्व चयन गर्न सुझाव दिर्दै एकताको अधिवेशन बनाउनु पर्ने बताए ।
एमाले मोरङका पूर्व अध्यक्ष ऋषिकेश पोखरेलले पनि सहमतिमा नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए । जिल्ला अधिवेशनका लागि ९ सय १४ जना प्रतिनिधि छानिएका छन् । जसमध्ये १७ वटा स्थानीय तहको १ सय ५९ वडाबाट ६ सय ९२ जना, २३ वटा जनवर्गीय संगठनबाट १ सय १ जना, विशेष क्षेत्रबाट २४ जना, दलित ५१ जना र मनोनित ४६ गरी ९ सय १४ जना प्रतिनिधि चयन गरिएको छ ।
फागुन १९ गतेसम्म चल्ने अधिवेशनले १ सय ६५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend