२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

जलविद्युतले बिजुली उत्पादन मात्र गरेन, बनायो दुर्गममा सडक पूर्वाधार

सोमवार , फाल्गुण १९, २०८१

म्याग्दी (बेनी) । धौलागिरि गाउँपालिका–४ चेचुङकी ६८ वर्षीया तुलमती घर्ती गाउँमा मोटरेबल सडकको पहुँच विस्तारले खुसी छिन् ।

आफ्नै वडा कार्यालयमा जान समेत घण्टौँको पैदलयात्रा गर्नुपर्ने चेचुङवासीले यसअघि सवारीसाधन चढ्न मालिका गाउँपालिका–७ शिवरात्रिखोला पुग्नुपर्ने बाध्यता थियो । अक्करे भिरलाई छिचोल्दै गाउँमा मोटरबाटो पुग्न चेचुङवासीलाई जलविद्युत् आयोजना सहयोगी बनेका हुन् ।

“अहिलेसम्म त सहर बजार जान पनि पैदलै घण्टौँ हिँड्दै आएका थियौँ, खाद्यान्नलगायतको सामान पनि बोकेरै लैजानुपर्ने बाध्यता थियो, धुलो उडाउँदै भए पनि गाउँमा गाडी बाटो आयो, हामीलाई सुविधा भएको छ”, घर्तीले भनिन् ।

सडक निर्माणका लागि यहाँ सञ्चालित जलविद्युत् आयोजनाको भूमिका छ । हाइड्रो इम्पायर प्रालि प्रवद्र्धक रहेको ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत् आयोजनाले नाउरादेखि १९ घरधुरी रहेको चेचुङगाउँ जोड्ने पाँच किलोमिटर सडक निर्माण सम्पन्न गरेको हो ।

प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रमअन्तर्गत स्थानीयको मागअनुसार करिब दुई महिना डोजर परिचालन गरेर दुर्गम गाउँमा मोटरबाटो निर्माण गरिएको हो । यसबाट स्थानीयको समस्या केही हदसम्म सम्बोधन भएको छ । मोटरेबल सडक निर्माणले खाद्यान्नलगायतका सामग्री ढुवानीमा मानिसले बोक्नुपर्ने र खच्चडको भर पर्नुपर्ने बाध्यता हटेको छ ।

धौलागिरि गाउँपालिका–४ मुदीमा निर्माणाधीन ६५ मेगावाट क्षमताको म्याग्दीखोला, ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी र ५३ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाले मालिका गाउँपालिका–७ शिवरात्रिखोलादेखि खाम्ला, नाउरा हुँदै जेल्टुङ बगरसम्म १५ किलोमिटर सडक निर्माण गरेका छन् ।

चेचुङ र बगरसँगै खिबाङमा समेत जलविद्युत् आयोजनाकै लगानीमा सडकमार्ग जोडिएको छ । आयोजनाको पहुँचमार्ग निर्माणका क्रममा सडकको ट्रयाक दुर्गम बस्तीसम्म पुगेपछि गाउँमा जलविद्युत् आयोजनासँगै विकास भित्रिएको मुदीका वडासदस्य समेत रहेका बगरका स्थानीयवासी हरिप्रसाद तिलिजाले बताए ।

“शिवरात्रिखोलाबाट बगर गाउँ पुग्न नाउराको भिरबाट एक दिनको यात्रा गर्नुपथ्र्यो, सडक बनेपछि अब एक घण्टामै यात्रा गर्न सकिने भएको छ, वडा र गाउँपालिकाको कार्यालयसँगै जिल्ला सदरमुकाम आउनजान समेत सडकले सुविधा दिएको छ”, तिलिजाले भने ।

जलविद्युत् आयोजनाले म्याग्दी नदीमा बेलिब्रिज जडान गरेपछि खोलाबारी र पारिका बस्तीहरूमा समेत सजिलै आवतजावत गर्न सकिने भएको छ । मुदीको अर्चे र नेरवाङमा अझै सडक पुग्न सकेको छैन । पहाडी भेगका भिर पहाडका फेदी र कुनामा रहेका बस्तीमा सडक पुर्याउने काम चुनौतीपूर्ण रहेको अवस्थामा जलविद्युत् आयोजना भित्रिएसँगै सडकको सपना पूरा भएको वडाध्यक्ष यामप्रसाद घर्तीले बताए ।

जलविद्युत् आयोजनाले सडक, पुललगायतका पूर्वाधारसँगै गाउँको शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रमा सघाउन थालेका छन् ।

सामाजिक उत्तरदायित्वअन्तर्गतका कामलाई प्रभावित क्षेत्रका बासिन्दाको आवश्यकता र विकाससँग जोड्ने प्रयास गरिएको धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए ।

“जलविद्युत् गाउँपालिकाको प्रमुख सम्भावनाको आधार हो, यहाँ ठूला आयोजना भित्रदै गर्दा यस क्षेत्रको विकासमा पनि योगदान हुनुपर्छ भन्ने हाम्रो मान्यता छ, आयोजनामा आवश्यक पर्ने जनशक्तिमा समेत स्थानीयलाई अवसर दिन हामीले ध्यानाकर्षण गराइरहेका छौँ”, गाउँपालिका अध्यक्ष पुनले भने ।

धौलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी नदी र यसका सहायक नदीमा आठ वटा जलविद्युत् आयोजना दर्ता भएको र त्यसमध्ये तीन आयोजनाको निर्माण अघि बढेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट