
काठमाडौं । नेपाल पत्रकार महासङ्घले तीनकुनेमा शुक्रबार भएको प्रदर्शनमा सञ्चारकर्मीको मृत्यु र सञ्चारगृहमाथि भएको आक्रमणको अध्ययन गर्न सात सदस्यीय समिति गठन गरेको छ ।
महासङ्घको आज राजधानीमा बसेको उपलब्ध पदाधिकारी र केन्द्रीय सदस्यको बैठकले उपाध्यक्ष उमीद बागचन्दको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो । समितिमा महासङ्घका छ जना सचिव सदस्य रहेका छन् । समितिमा सचिवहरु रमेश खतिवडा, प्रकाश धौलाकोटी, सोनी शर्मा, अशोक तिवारी, वैकुण्ठ पराजुली र सविन प्रियासन सदस्य रहेको महासङ्घले जनाएको छ ।
समितिले घटनाका पीडित, प्रत्यक्षदर्शी र पीडितका परिवारसँग छलफल गर्नेछ । समितिले घटना के, कसरी भयो , अब महासङ्घ कसरी अघि बढ्ने लगायत विषयमा सुझावसहितको प्रतिवेदन दिने जनाइएको छ ।
पूर्वराजा समर्थित समूहहरुले शुक्रबार तीनकुने क्षेत्रमा आगलागी, तोडफोडलगायत अराजक गतिविधिमा उत्रेका थिए । प्रदर्शनकारीका कारण एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको निधन भएको थियो । कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोष्ट दैनिकको कार्यालयमा पनि प्रदर्शनकारीले आक्रमण एवं तोडफोड गरेका थिए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend