
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र सेवक कर्मचारीको गुण दोष टिप्पणी गर्ने स्थल संसद् नभएको स्पष्ट पारेका छन् ।
सोमबार प्रतिनिधि सभामा सदनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सम्मानित सदन सरकारका काम कारवाहीप्रति प्रश्न उठाउने वा समर्थन गर्ने स्थल भएको बताएका हुन् । उनले भने, ‘सरकारका काम कारवाहीप्रति प्रश्न उठाउने वा समर्थन गर्ने स्थल नै यस सम्मानित सदन हो । तर अहिले विषय समान्य छ । एकजना कर्मचारीको विषयमा प्रश्न उठेको छ, सदन अवरुद्ध छ । महत्वपूर्ण संसदीय कार्यमा बाधा पुगेको छ । राष्ट्र सेवक कर्मचारीको गुण दोष टिप्पणी गर्ने स्थल यहाँ हो भन्ने मलाई लाग्दैन ।’
उनले अगाडि थपे, ‘राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र दोषीलाई कारवाही गर्ने विधि पनि यसै सदनले निर्धारण गरेको छ । सामान्यतह कुनै पनि कर्मचारीबाट विभागीय मन्त्रीले आफूप्रति लोयालिटी फिल गरेन भने वा मन्त्री र कानूनप्रति लोयालिटी राखिएन भने वा काम कारवाहीको परीक्षण पनि होला, हुने ठाउँमै होला । त्यस्तो अवस्थामा सरुवा गर्ने जगेडामा राख्ने, स्पष्टीकरण माग्ने वा पद मुक्त गर्ने सम्मका काम गरिन्छ, यो अहिलेको सरकारले मात्र होइन, जहिलेको सरकारले पनि गर्छ । चित्त नबुझ्ने पक्षले कानूनी उपचारको हक राख्छ, त्यो पनि हुने गरेको छ, भइरहेको छ । ’
विद्युत् प्राधिकरणको निर्देशकको विषयमा थप बहस नगर्न आग्रह गर्दै उनले अहिले साना तिना कुरामा नअल्झिएर संविधान, जनताले लडेर ल्याएको अधिकारहरुको रक्षा, लोकतन्त्रको रक्षा, संवैधानिक गणतन्त्रको रक्षा र त्यसको सफल कार्यान्वयनको समय रहेको स्पष्ट पारे ।
विद्युत् प्राधिकरणको निर्देशकको जिम्मेवारीबाट कुलमान घिसिङलाई बर्खास्त गरेको विषयमा विपक्षी दलहरुले संसद अवरुद्ध गर्दै आएका थिए । सो विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनीहरुको माग थियो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend