२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

भारतीय ग्याङस्टारको नाम लिएर आठ करोड फिरौती उठाउने रामबहादुर पक्राउ

बुधवार , चैत्र १९, २०८१

नेपालगञ्ज । सामाजिक सञ्जालको प्रयोग गरी फिरौती उठाएको आरोपमा प्रहरीले बाँकेको कोहलपुरबाट एकजना युवकलाई पक्राउ गरेको छ ।

सुर्खेतको भेरीगङ्गा नगरपालिका–७ काठेघारी बस्ने ४१ वर्षीय रामबहादुर बिसी (बुढाक्षेत्री) लाई फिरौती माग गर्नुका साथै ठगीलगायत विभिन्न आरोपका आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए।

कोहलपुर–५ मा डेरा गरी बस्दै आएका बिसी भारतीय ग्याङस्टारका नाइके लरेन्स विश्नोई र अनमोल विश्नोईको नाम लिँदै फिरौती माग गरेको, ठगीलगायत आरोपका आधारमा निजलाई पक्राउ गरिएको उनले बताए । विश्नोईको नाम लिँदै पाँच करोड भारु अर्थात् रु आठ करोड फिरौती माग गरेको पाइएको प्रनाउ भण्डारीले जानकारी दिए ।

सामाजिक सञ्जाल ह्वाट्सएप प्रयोग गरी बिसीले फिरौती माग गरेको जानकारी दिँदै प्रनाउ भण्डारीले विदेशी नम्बरको ह्वाट्सएपबाट फोन गरेर धम्क्याउनेसमेत गरेको उल्लेख गरे । “निजविरुद्ध इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट विसं २०६१ साउन २७ मा जीउ मास्ने, बेच्ने उद्योगको कसुरमा मुद्दा चलेको थियो । त्यतिबेला एक नेपाली युवतीलाई ललाइँफकाइ विवाह गर्छु भन्दै काँकडभिट्टाबाट भारत लगेको आरोप छ”, उनले भने ।

विसं २०६२ चैत ८ मा सर्वसाधारणलाई धम्की दिँदै चन्दा असुली गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय झापाबाट बिसीविरुद्ध मुद्दा चलेको थियो । यसको दुई वर्षपछि फिरौती रकम असुलेको आरोपमा काठमाडौंबाटै निजविरुद्ध मुद्दा चलेको प्रहरीले जनाएको छ ।

विसं २०६४ भदौ ९ मा महानगरीय प्रहरी परिसर काठमाडौँ (हाल जिल्ला प्रहरी परिसर)बाट उनीविरुद्ध फिरौती लिएको आरोपमा मुद्दा चलेको थियो । निजमाथि एक व्यक्तिलाई नियन्त्रणमा लिएर ट्याक्सीमा राख्दै धम्क्याएर फिरौती असुलेको आरोप रहेको प्रनाउ भण्डारीले उल्लेख गरे ।

“आरोपीलाई कर्तव्य कसुरमा पनि मुद्दा चलाइएको छ । विसं २०६४ मा भएको संविधानसभाको निर्वाचनमा एक व्यक्तिलाई गोली हानी हत्या गरेको आरोप पनि उनलाई लागेको छ । विसं २०६४ चैत २७ मा संविधानसभाका उम्मेदवार ऋषि शर्मा प्रचारप्रसार सकेर आउँदै गर्दा सुर्खेतको मेहलकुना जहरेबजार नजिक लोदे भन्ने ठाउँमा शर्माको गोली हानी हत्या भएको थियो । त्यसबेला इलाका प्रहरी कार्यालय छिन्चुबाट बिसीविरुद्ध मुद्दा चलेको थियो”, उनले भने ।

विसं २०६५ चैतमा द्वन्द्वपीडित सेना प्रहरीको आन्दोलनको क्रममा प्रहरीको हतियार खोसेको घटनामा उनीविरुद्ध काठमाडौंबाट मुद्दा चलेको प्रनाउ भण्डारीले जानकारी दिए । यसबाहेक पनि धेरै घटनामा उनीसंलग्न रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट