
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ कार्यालय फर्केपछि केहीबेर तनावको स्थिति सिर्जना भयो । तीन महिना १४ दिनपछि आज कार्यालय फर्केका उनलाई नगर प्रहरीले उनलाई रोक्न खोजेको थियो भने महानगरका कर्मचारीले कार्यकक्षमा पुर्याउन खोजेका थिए ।
कर्मचारीले गुरागाईंको कार्यकक्ष प्रवेशद्वारमा तोडफोड पनि गरेका थिए । सो घटना लगत्तै अहिले उपमेयर सुनिता डंगोलसहितको बैठक बसेको छ । केहीबेर प्रयास गर्दा पनि ढोका नखुलेपछि बोर्ड बैठक हलमा उपप्रमुख सुनिता डंगोल, वडाध्यक्षहरु बैठक बसेका हुन्. ।
बैठकमा उपमेयर डंगोलले हरेक घटनाक्रममा आफूहरु जानकार रहेको भन्दै मेयर बालेन साहलाई कोठामा बसेर निर्देशन नदिन चेतावनी दिएकी छिन् । उनले भनिन्, ‘मन्त्रालयबाट पठाएपछि प्रमुख प्रशासकीय अधिकृत हाजिर गर्न आउनु भएको छ,’ उनले भनिन्, ‘उहाँ हाजिर गर्न आउँदा यो झडपको अवस्था हुनु राम्रो कुरा होइन । कर्मचारी–कर्मचारीबीच लडाईं हुनु पनि राम्रो होइन ।’
उनले थपिन्, ‘यो तमासा हामीले हेर्नुपर्ने ? मेयरको आदेश हो भने मेयर अघि आउनुपर्छ । होइन भने कोठामा बसेर आदेश दिन पाइँदैन । पहिला आजको विषय समाधान गर्छौँ । त्यसपछि बोर्ड बैठक बस्छौँ । आजका लागि यो समस्या समाधान गर्नुपर्छ ।’
प्रमुख प्रशासकीय अघिकृत दोषी प्रमाणित भएको अवस्थामा कारवाही गर्न तयार रहेको प्रतिबद्धता पनि उनले जनाएकी छिन् । उनले भनिन्, ‘त्यसैले उहाँलाई हाजिर गर्ने व्यवस्था गर्नुपर्छ । हजारौँ कर्मचारी र लाखौँ काठमाडौंवासीले दुःख पाएका छन् । क्यान्सर पीडितलाई पनि हामीले पैसा दिन सकेका छैनौँ । अझै छानविन गर्नुपर्ने भए गर्ने हो । तर, यो पीडामा राख्नु हुँदैन’, उपमेयर डंगोलले भनिन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईँलाई काठमाडौं महानगरपालिकामै हाजिर गर्ने वातावरण बनाइदिन भन्दै पत्र पठाएको ठ्याक्कै एक महिनापछि उनी आज महानगरपालिका पुगेका हुन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend