
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बिहीबार सिंहदरबारस्थित शहरी विकास मन्त्रालयमा वातावरण प्रदूषण न्यूनिकरणका लागि सरोकारवाला र विज्ञहरूसँग छलफल गरेका छन् ।
वायु प्रदूषणलाई कसरी रोकथाम र न्यूनिकरण गर्न सकिन्न भन्नेबारे गरिएको छलफलमा वन मन्त्रालयले सातामा दुई दिन बिदा दिन प्रस्ताव गरेको छ । वन मन्त्रालयका सचिव दीपक खरालले सातामा दुई दिन बिदा र सवारी जोर(बिजोर गरेर चलाउनुपर्ने सम्मको स्थिति हुन सक्ने बताएका थिए।
यस्तै, डढेलो विज्ञ सुन्दर प्रसाद शर्माले वायु प्रदूषण घटाउनका लागि राष्ट्रिय रणनीति नै बनाउनुपर्ने तर्क अगाडी सारेका छन् । यसैगरी वायु प्रदूषण निजी सवारी साधनले बढी वढावा दिएकाले सार्वजानिक साधनको प्रयोगलाई बढाउनुपर्ने सुझाव दिएका छन् ।
छलफलपछि यसबारे सरकारले छिट्टै निर्णय लिने कावा प्रधानमन्त्री सिंहले बताएका छन् ।
काठमाडौं उपत्यकामा केही दिन यता लगातार बढेको प्रदूषणले आँखा पोल्ने, नाक पोल्ने, खोकी लाग्ने, घाँटी खसखसाउने, टाउको दुख्ने जस्ता समस्या देखिन थालेको छ ।
विश्वको वायु गुणस्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्स ९एक्यूआई० सूचकाङ्क अनुसार केही दिनदेखि नेपाल अत्यधिक प्रदूषित देशको सूचीमा परेको छ । हाल काठमाडौंमा वायु प्रदूषणकोस्तर तीन सय ४८ एक्यूआई पुगी ‘खतरनाक’ श्रेणीमा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, यात्रा गर्दा अनिवार्य रूपमा मास्क लगाउन र अत्यधिक प्रदूषण भएका क्षेत्रमा नजान सर्वसाधारणमा अनुरोध गरेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend