२०८३, आषाढ २२ गते

सोमवार, आषाढ २२ गते २०८३

सभामुख देवराज घिमिरे उज्वेकिस्तान प्रस्थान

शुक्रवार , चैत्र २१, २०८१

काठमाडौं । अन्तरव्यवस्थापिका संघको १५०औं वार्षिक सभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा सहभागी हुन सभामुख देवराज घिमिरे नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उज्वेकिस्तानको राजधानी ताश्केन्ट प्रस्थान गरेका छन् । सभामुख नेतृत्वको टोली शुक्रबार बिहान कतार एयरवेजको उडानमार्फत् दोहा हुँदै उज्वेकिस्तान गएका हुन् ।

प्रतिनिधिमण्डलमा संघीय सांसदहरू श्याम कुमार घिमिरे, अञ्जान शाक्य, सूर्यमान दोङ तामाङ, सोबिता गौतम, संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय, प्रतिनिधि सभाका सचिव हर्कराज राई, सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई र संसद सचिवालयका उपसचिव राजु रिमाल रहेका छन् ।

अन्तरव्यवस्थापिका संघको १५०औं वार्षिक सभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलन दुवै अन्तर्राष्ट्रिय सम्मेलन चैत्र २३ गतेदेखि २७ गतेसम्म ताश्केन्टमा हुँदैछ ।

अन्तरव्यवस्थापिका संघको सभामा सभामुख घिमिरेले “सामाजिक विकास र न्यायका लागि संसदीय कदमहरू” विषयमा सम्बोधन गर्नेछन्। सांसद श्याम कुमार घिमिरे र सूर्यमान दोङ तामाङ अन्तरव्यवस्थापिका संघका स्थायी समितिको बैठकमा सहभागी हुने छन्।

सांसद अञ्जान शाक्यले महिला सांसदहरूको मञ्च र सांसद सोबिता गौतमले युवा सांसदहरूको मञ्चमा सहभागिता जनाउने छिन् । साथै सांसद शाक्यले दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रको तर्फबाट उम्मेदवारी पनि प्रस्तुत गर्ने कार्यक्रम छ।

सम्मेलनसँगै सञ्चालन हुने संसदका महासचिवहरूको बैठकहरूमा संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय सहभागी हुनेछन् ।

सभामुख घिमिरेले चैत्र २४ गते हुने असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा “बन्दुङ आत्माको ७० वर्षको सम्झनाः बन्दुङ सिद्धान्तहरूको पालना गर्न संसदहरूको भूमिका” विषयमा मन्तव्य दिनेछन्। उनले विभिन्न मुलुकका सभामुखहरूसँग साइडलाइन भेटवार्ता पनि गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट