काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन राजा ज्ञानेन्द्र शाह, गिरिजाप्रसाद कोईराला र आफूले गणतन्त्र ल्याउने सहमति गरिसकेपछि मात्रै माओवादी जनयुद्ध छोडेर आएको बताएका छन् ।
आईतवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा आयोजित पार्टी निकट नेपाल आदिवासी जनजाति महासंघ समाजवादी वागमती प्रदेशको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन। उनले माओवादी जनयुद्धबाट तीन नेताले बसेर सहमति गरिसकेपछि मात्रै मिसिएको बताए । उनले तत्कालीन नेकपा एमालेमा रहँदा आफ्नो पार्टीले साउन महिनामा नै गणतन्त्र ल्याउने निर्णय गरेको दाबी गरे । कोईराला र आफूले नै सबै सहमति गरेको र तत्कालीन राजा ज्ञानेन्द्रले सबै अधिकार जनतालाई त्यही बेलामा सुम्पिएको बताए।
उनले पछिल्ला घटनाक्रमहरुप्रति लक्षित गर्दै अध्यक्ष नेपालले पूर्वराजा शाहका सचिवले अहिले राजा फर्काउने कुरा नभएको र राजाको इच्छा पनि नरहेको कुरा भनेको आफूले सुनेको भन्दै धन्यवाद ज्ञापन गरे । पूर्वराजाको इच्छा नगरेको कुरापछि बाहिर हल्ला मात्रै रहेको र त्यसले मन शान्त भएको उनको भनाइ छ । पूर्वराजाको नाम लिएर अरुले फाइदा उठाउन खोजेको भन्दै राजनीति गर्ने भए पार्टी खोलेर चुनावमा आउन पूर्वराजालाई चुनौति दिए।
अध्यक्ष नेपालले भने, ‘एउटा राम्रो कुरा मैले सुनेँ । राम्रो कुरा के हो भने त्यो उनको पूर्वराजाको सचिव एक जनाले बोलेको कुरा सही हो भने, मलाई थाहा छैन । अहिले राजा फर्काउने कुरा छैन, राजाको इच्छा पनि होइन । पूर्वराजाको इच्छा पनि होइन । बाहिरको हल्ला मात्रै हो भनेपनि अलिकति मन शान्त भएको छ । अरुले पनि फाइदा उठाउन खोजेका रहेछन् । यदी त्यो हो भने म पूर्वराजा ज्ञानेन्द्रलाई धन्यवाद दिन चाहन्छु । राजनीति गर्नु छ भने पार्टी खोल्नुस् । राजनीतिक मैदानमा आउनुस् । जनताको बीचमा जानुस् । चुनावमा जितेर बहुमत ल्याउनुस् । देश र जनताको कल्याण गर्नुहुन्छ भने खुशीकै कुरो । हामीले त केपी ओलीलाई राम्रो बन्नुस् भनिरहेका छौँ । हाम्रो सासै गन्हाउने मान्छे, अनुहार नै मन नपराउने मान्छे त्यही पनि राम्रो गरिदिनुस् भनिरहेका छौँ । कसैसँग आग्रह पाल्ने, पूर्वाग्रह राखेका छैनौँ । ज्ञानेन्द्रले पनि उहिले छोडिसकेको हो । यि जम्मै कुराहरु गर्ने हामी तीन जना नेता हौँ । एउटा गिरिजाप्रसाद कोईराला, दोस्रो म र त्यसपछि ज्ञानेन्द्र । पछि मात्रै हुन् प्रचण्ड जी । पछि मात्रै हो उहाँहरु आएको भनेको त जनयुद्धको जुन इलाकाबाट पछि आएको मात्रै हो । मंसिर महिनामा हामीले सहमति गरिसकेपछि मात्रै आएको हो । हाम्रो पार्टीले गणतन्त्र ल्याउने निर्णय हामीले गरेको साउन महिनामा हो । बसेर सहमति गरेको २०६३ सालको वैशाखको ११ गते हो । ११ गते बस्दा म र गिरिजाबाबु थियौँ । हामीले सबै सहमति गरेर कागज तयार गरेका हौँ । सबै अधिकार जनतालाई त्यही बेलामा सुम्पिएको हो ।’
अध्यक्ष नेपालले राजावादीहरुले मच्चाइरहेको हल्लामा कुनै सत्यता नरहेको बताए । उनले राजावादी नेताहरु पनि सरकारमा रहेको उल्लेख गर्दै अरुलाई दोष दिएर मात्रै नहुने जिकिर गरे । उनले एमाले—काँग्रेस—नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा सुरक्षा दिएपनि आफ्नो पार्टी कार्यालयमा सुरक्षा नदिएको भन्दै सरकारको आलोचना गरे । उनले आफ्नो पार्टीलाई तत्काल क्षतिपूर्ति दिन समेत माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस