२०८३, आषाढ २१ गते

आइतवार, आषाढ २१ गते २०८३

चुम्चेत लघुजलविद्युत् आयोजना मर्मत, भदौदेखि दाउराको उज्यालोमा जीवन गुजार्न बाध्य २०५ घर पुनः झलमल्ल

सोमवार , चैत्र २४, २०८१

गोरखा । उत्तरी गोरखाको चुम्चेत, चुम्लिङ, सिप्चेतलगायतका हिमाली गाउँ विद्युत् मर्मत भएपछि पुनः झलमल्ल बनेको छ । गाउँको लघुजलविद्युत् आयोजना पहिरोले बगाएपछि चुमनुब्री गाउँपालिका–६ को चुम्चेत, चुम्लिङ, सिप्चेत, खारोङ, ताज्यू, डुम्जे, रेञ्जम, घो, यार्चो र खारगुम्बा बस्तीका करिब २०५ घरधुरीका बासिन्दा गत भदौदेखि दाउराको उज्यालोका भरमा जीवन गुजार्न बाध्य थिए ।

गाउँमा बिजुली नहुँदा गाउँले अन्धकारमा बस्न बाध्य भएको स्थानीय लोप्साङ धार्के लामाले बताए । “गत साउन १२ गतेको पहिरोले चुम्लिङ, चुम्चेत लघुजलविद्युत् आयोजना बगायो । त्यतिबेला गाउँले मिलेर जलविद्युत् मर्मत गरी अस्थायी रुपमा बिजुली बालेका थियौँ । पछि फेरि भदौमा आएको पहिरोले जलविद्युत् बगायो”, उनले भने, “भदौयता बीचबीचमा अस्थायी रुपमा बिजुली आए पनि नियमित थिएन । हाल मर्मत सम्पन्न भई नियमित रुपमा बिजुली बलेको एक हप्ता भयो ।”

विद्युत् नहुँदा बत्तीमात्र होइन, दैनिक छाक टार्ने अन्न कुटानी पिसानीसमेत गर्न नपाइएको चुमनुब्री –६ चुम्चेतका वडाअध्यक्ष सरोज लामाको भनाइ छ । अहिले बिजुली बलेपछि गाउँलेलाई तोरी, मकै, गहुँलगायत खाद्यन्न कुटानीपिसानी गर्न सहज भएको छ ।

“यता खासै रुख पाइँदैनन् । गाउँमा बिजुली नहुँदा दाउरा बालेर बस्नुपर्ने बाध्यता थियो । अलिअलि भएका रुख पनि फँडानी गरिएको थियो ”, उनले भने । सो गाउँमा केन्द्रीय प्रशारणको बिजुलीबत्तीको पहुँच पुगेको छैन । गाउँलेले विसं २०७९ जेठ १५ गते निर्माण सम्पन्न भएको ७५ किलोवाटको चुम्चेत, चुम्लिङ जलविद्युत् आयोजनाको बत्ती बाल्ने गरेका थिए ।

गत भदौमा चुम्चेत खोला (ताम्जाखोला) मा उत्पादित सो लघुजलविद्युत् आयोजनाको मुहान, कुलो र ट्यांकी सबै बगाएको सो आयोजनाका अध्यक्ष गोपाल लामा बताउँछन् ।

कादुरी एग्रिकल्चरल एड एशोसिएशन ब्रिटिस गोर्खाले निर्माण सम्पन्न गरेको सो आयोजना भत्किएपछि चुमनुब्री–६ अन्तरगतका गाउँ अन्धकार बनेका थिए । पहिरोले झन्डै रु एक करोडको क्षति पुर्याएको लामाको भनाइ छ ।

“साउनको पहिरोले खासै क्षति पुर्याएको थिएन, त्यतिबेला सामान्य मर्मत गरेर बिजुली बालेका थियौँ”, उनले भने,“भदौको पहिरोले आयोजना जगैदेखि बगाएर लग्यो । त्यसपछि पूर्णरुपमा मर्मत सम्पन्न गरेर बिजुली वितरण गरेको झन्डै एक हप्ता भयो । ” लामाका अनुसार आयोजनाले भदौयता बीचबीचमा अस्थायी रुपमा बिजुली बालेको थियो ।कादुरी संस्था आफैले मर्मत गरेर गाउँलाई पुनः झिलिमिली बनाएको अध्यक्ष लामाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट