
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले धुवाँ उत्सर्जन मापदण्ड विपरितका सवारी साधनहरु चलाउन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
सोमवार सिंहदरबारमा यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधिहरुसँग छलफल गर्दै मन्त्री दाहालले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन। उनले मापदण्डविपरितका गाडीहरुको कारण यात्रुवाहक सवारी साधनहरुमा समेत प्रभाव परेको र गृह मन्त्रालयसँग बसेर आवश्यक कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाइने बताए। उनले मालवाहक सवारी साधनहरुको तौलपुलको विषयमा समेत सरकारको ध्यानाकर्षण भएको बताए । उनले मालवाहक गाडिहरुको नाप तौलबारे अध्ययन गर्न कार्यदल बनाएको र उक्त समस्या छिट्टै समाधान गरिने समेत विश्वास ब्यक्त गरे । उनले मालवाहक सवारी साधनको अनुगमन र आवश्यक कारबाही प्रक्रियामा प्रहरीले सहयोग नगरेको समेत बताए ।
प्रहरीले चालकबाट पैसा खाएर ओभरलोडका गाडिहरु चलाउन दिएको आरोप लगाए । उनले गाडिहरुको ओभरलोडका सम्बन्धमा गृह मन्त्रालयसँग आवश्यक छलफल गर्नेमा जोड दिए । निर्माणाधीन नारायणघाट–बुटवल सडकको दाउन्ने खण्डमा यात्रुवाहक सार्वजनिक सवारी चलाउन सहज वातावरण निर्माण गर्ने समेत प्रतिवद्धता व्यक्त गरे । स्तरोन्नति भइरहेको नारायणघाट–बुटवल सडकको दाउन्ने खण्डमा आवश्यक मर्मतसम्भार र निर्माणका लागि पहिलो चरणमा यही चैत २७ गते देखि ३१ गतेसम्म दिउँसोको समयमा यातायात सञ्चालनमा रोक लगाइने जनाएको थियो । यसप्रति यातायात व्यवसायीहरुले भने असन्तुष्टि जनाएका छन् ।
मन्त्री दाहालले भने, ‘मापदण्डविपरितका गाडिहरु विपी राजमार्गमा चलेको भन्ने धेरै पहिलेदेखि नै कुराहरु आइराखेको हो । यो बाटो नबिग्रिदा पनि यो विषय आएको थियो । त्यसमा केहीलाई हामीले कारबाही पनि ग¥यौँ । तर यो विकृति चाहीँ यथावत नै छ भनेर यहाँहरुले भन्नुभएको छ । मापदण्डविपरितका गाडिहरुलाई रोक्नका लागि हामी लाग्छौं । यो प्रतिवद्धता व्यक्त गर्न चाहन्छौं । यसको बारेमा गृह मन्त्रालयसँग समेत बसेर कुरा गर्छौं । तौलपुलको सम्बन्धमा तपाईहरुले दिनुभएको सुझावप्रति हाम्रो ध्यानाकर्षण भएको छ । हामी त्यसका लागि कार्यदल बनाएर अध्ययन गर्छौं । तुरुन्तै त्यसलाई समाधान गर्नुपर्ने भएको छ । यस सम्बन्धमा नेपाल प्रहरीबाट हामीलाई सहयोग भएन । असहयोग भयो क्या । यो विषयमा पनि हामीले गृह मन्त्रालयसँग नै बस्नुपर्ने भएको छ । किनभने जहिले पनि यस्तै विकृति हुने कुराले त देशलाई कुनै फाइदा पुग्दैन नि । पैसा खाएर ओभर लोडका गाडिहरु चलाउन दिने कुराले त स्वभाविक रुपले सार्वजनिक सम्पत्ति नोक्शान भइरहेको छ । त्यसकारण यो विकृतिलाई हटाउनको लागि लाग्ने कुरा म यहाँहरुलाई जानकारी गराउँछु ।’
निर्माणाधिन सडकहरुमा मालवाहक सवारी साधनमा रोक लगाएर भएपनि सार्वजनिक सवारी साधन चल्ने वातावरण मिलाउनुपर्नेमा व्यवसायीको जोड छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend