२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

नेपालमा राजसंस्था पुनःस्थापनाको लागि भारतले उचाल्यो भन्ने हल्ला झुटो होः सभापति देउवा

सोमवार , चैत्र २४, २०८१

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भारत नेपालमा राजतन्त्र फर्काउने पक्षमा नरहेको बताएका छन्।

गणेशमान सिंह फाउण्डेसनले सोमवार काठमाडौंमा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरजीले पुयाउनुभएको योगदान’ विषयक गोष्ठीमा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन् । नेपालमा राजसंस्था पुनःस्थापनाको लागि भारतले उचाल्यो भन्ने हल्ला झुटो रहेको उनको भनाइ छ । उनले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले समेत नयाँ दिल्लीस्थित नेपाली दुतावासमा गएर आफू राजतन्त्र फर्काउने पक्षमा नरहेको स्पष्टिकरण दिइसकेको बताए । आदित्यनाथले राजा फर्काउने अभियान नरहेको भनेको भन्दै सभापति देउवाले भारत नेपाल, गणतन्त्र र प्रजातन्त्रको पक्षमा रहेको स्पष्ट भएको बताए । उनले नेपालमा प्रजातन्त्र स्थापना गर्नमा समेत भारतीय पूर्वप्रधानमन्त्री चन्द्रशेखरको ठूलो योगदान रहेको उल्लेख गरे ।

उनले भने, ‘उहाँले नेपालमा प्रजातन्त्र स्थापना गर्नको लागि धेरै ठूलो सहयोग गर्नुभएको छ, ठूलो योगदान छ । उबेला भारतले नेपालमा कहिल्यै प्रजातन्त्र चाहँदैन भन्ने थियो । चन्द्रशेखरजी आएपछि प्रजातन्त्रको खिलापमा छैन भारत भन्ने पुष्टि भयो । त्यसपछि त हामीले ठूलो आन्दोलन गरेर गणतन्त्र समेत ल्यायौं । अहिले फेरि राजसंस्था पुनःस्थापनाको लागि भारतले उचाल्यो भन्ने हल्ला पनि छ । यहाँ आदित्यनाथको फोटो समेत छापियो । तर मलाई के थाहा छ भने आदित्यजीले भारतमा जुन हाम्रो दुतावास छ त्यहाँ गएर मेरो कुनै हात छैन । नेपाली जनताले जे चाह्यो त्यही हुन्छ । म राजा ल्याउने पक्षमा छैन भनेर आफैँले भन्नुभएको छ । त्यस कुराले हामीलाई के लागेको छ भने भारत नेपालसित छ, गणतन्त्रसित छ, प्रजातन्त्रसित छ ।’

नेपालमा गणतन्त्र स्थापना भएको धेरै वर्ष नभएको भन्दै सभापति देउवाले राजनीतिक दलहरुले मिलेर यसलाई मजबुत बनाउन जरुरी रहेको बताए।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट