काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको समग्र विकासमा श्रोत व्यवस्थापनको विषय चुनौतिपूर्ण बन्दै गएको बताएका छन् ।
मंगलबार काठमाडौंमा नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्थाको कार्यक्रममा बोल्दै उनले पछिल्लो दिनमा देशको समग्र विकासमा श्रोतको व्यवस्थापन चुनौतिपूर्ण विषय बन्दै गएको उल्लेख गरे । उनले देश तथा विदेशका निजी क्षेत्रलाई नेपालमा लगानी गर्न, उत्पादनको वृद्धि गर्न, रोजगारीका अवसर सिर्जना गर्न, मुनाफा आर्जन गर्न, कर तिर्न, राम्रो करदाताका हैसियतले सम्मानित हुन आह्वान गरे ।
उनले लगानीकर्ताहरुलाई लगानीका लागि सरकारले आकर्षित गरिरहेको बताए । उनले त्यसका लागि सरकारले अध्यादेशहरुमार्फत लगानीको वातावरण सिर्जना गरेको उल्लेख गरे । अध्यादेशहरु अहिले कानूनको रुपमा आइसकेको र कानूनको सिलसिलामा आवश्यक पर्ने नियमावली, निर्देशिका मापदण्ड लगायतका डकुमेण्टहरु पनि तयार भइसकेको भन्दै मन्त्रीपरिषद्ले छिटै पारित गर्ने बताए ।
‘पछिल्लो दिनमा हाम्रो देशको समग्र विकासमा श्रोतको व्यवस्थापन एउटा चुनौतिपूर्ण विषय बन्दै गएको छ । त्यस हिसावले देश तथा विदेशका निजी क्षेत्रलाई नेपालमा लगानी गर्न, उत्पादनको वृद्धि गर्न, रोजगारीका अवसर सिर्जना गर्न, मुनाफा आर्जन गर्न, कर तिर्न, राम्रो करदाताका हैसियतले सम्मानित हुन देश, दुनियाँका सबै लगानीकर्ताहरुलाई अनुरोध गरिरहेका छौँ ।' उपप्रधानमन्त्री पौडेलले भने, 'आकर्षित गर्ने प्रयास गरिरहेका छौँ । त्यसै सिलसिलामा यहाँहरुलाई थाहा छ, पछिल्लो दिनमा सरकारले केही महत्वपूर्ण अध्यादेशहरु लिएर आयो । ति अध्यादेशहरु अहिले अध्यादेशको तहमा मात्रै होइन, कानूनको तहमा रुपान्तरित भएका छन् ।’
उपप्रधानमन्त्री पौडेलले सरकार देशमा लगानीमैत्री वातावरण बनाउन अग्रसर रहेको र नेपालमा लगानीको प्रशस्त सम्भावनाहरु रहेको बताए ।
प्रतिक्रिया दिनुहोस