२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

विद्यार्थी टिकाउ दर बढाउन अझै मेहनत गर्नुपर्छ : प्रधानमन्त्री ओली

सोमवार , बैशाख १, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शैक्षिक सत्र २०८२ को विद्यार्थी भर्ना अभियान सफल पार्न सबैलाई आग्रह गरेका छन्। आजदेखि सुरु भएको विद्यार्थी भर्ना अभियानको आज शुभकामना दिँदै उनले विद्यार्थी भर्ना अभियानलाई सफल बनाउनका लागि अभिभावक तथा सरोकारवालाको ठूलो भूमिका रहेको भन्दै सफल पार्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सन् २०३० सम्ममा दिगो विकासको विश्वव्यापी लक्ष्यहरु हासिल गर्न विद्यालय शिक्षा साधारण प्राविधिकदेखि उच्च शिक्षासम्मका सिकाइलाई समावेशी र गुणस्तरीय बनाउनाका साथै सबै शिक्षण संस्थालाई उत्कृष्ट ज्ञान केन्द्रका रुपमा विकास गरी शिक्षालाई ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने माध्यम बनाउनुपर्नेमा जोड दिए। उनले समृद्धिको एक आधारका रूपमा शिक्षा क्षेत्र रहेकाले गुणस्तरीय र रोजगारमूलक शैक्षिक जनशक्ति उत्पादनमा शिक्षाका सबै अभियन्तालाई लाग्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले अझै पनि नेपालमा निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसङ्ख्या २० प्रतिशत रहेको उल्लेख गरे । “गरिबीलाई न्यूनीकरण नगरी राष्ट्रिय लक्ष्यमा पुग्न सक्दैनौँ । गरिबीलाई हटाउने पहिलो सर्त शिक्षा हो,” उनले शुभकामना सन्देशमा भनेका छन्, “हाम्रा बालबालिकालाई अब पनि विद्यालयबाहिर राख्न सक्दैनौँ ।”

प्रधानमन्त्री ओलीले अहिले आधारभूत तहको खुद भर्नादरमा सुधार आएको देखिए पनि विद्यार्थी टिकाउ दर बढाउन अझै मेहनत गर्नुपर्ने देखिएको बताए । उनले विद्यार्थी टिकाउ दरमा सुधार गर्न शिक्षालाई स्थानीय ज्ञान, सीप र प्रविधिलाई जोडी आधुनिकीकरण गर्न र देशमा नै रोजगार एवम स्वरोजगारका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले शिक्षा क्षेत्रमा बजेटको अंश वृद्धि गर्दै दिगो विकासका लक्ष्य हासिल गर्न र विद्यालय शिक्षा विधेयक २०८१ लाई छलफलसहित पारित गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरे। “अहिले अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र निःशुल्क माध्यमिक शिक्षाको लक्ष्य हासिलका लागि तीनै तहका सरकारबीच आपसी समन्वय, सहकार्य र सहअस्तित्वमा आधारित भएर लगानीमा साझेदारी अभिवृद्धि गर्नुपर्ने अवस्था रहेको छ,” प्रधानमन्त्रीले भने।

प्रधानमन्त्री ओलीका अनुसार शिक्षामा भएको लगानी र स्रोत साधनको प्रभावकारी एवं रचनात्मक उपयोग गरी गुणस्तरीय शिक्षामार्फत रोजगारी तथा नैतिक आचारणयुक्त नागरिक र समाज निर्माण गर्नु आवश्यक छ । “आफूसँग भएको विद्यालाई व्यवहारमा उतार्नु अहिलेको आवश्यकता हो । ज्ञानलाई व्याहारिकरुपमा र समाजको समग्र पक्षको भलाइका लागि प्रयोग गर्नुपर्छ । हामी शिक्षित भएर मात्रै हुँदैन विनयशील पनि हुनुपर्दछ,” उनले भनेका छन् ।

प्रधानमन्त्री ओलीले आजको शिक्षाले व्यक्ति स्वयंप्रति, परिवारप्रति, राष्ट्रप्रति र अन्तरराष्ट्रिय समुदायप्रति दायित्व बोध गराउन सक्नुपर्ने भन्दै त्यसतर्फ हाम्रा प्रयासहरू केन्द्रित गराउनु आजको आवश्यकता रहेको बताए ।

प्रधानमन्त्री ओलीले शुभकामनामा नेपालजस्तो उर्वर देशमा अझै पनि मानिस वा बालबालिका बेहाल अवस्थामा सडकमा रहनु शोभनिय कुरा नभएको बताए । उनले बालबालिकाहरु अभिभावकविहीन भएर बस्नुपर्ने अवस्थामा अन्त्यका लागि सरकारले अभियानात्मक कार्यहरु अघि बढाइरहेको भन्दै यस अभियानमा पनि विद्यार्थी भर्ना अभियानलाई सहयोग पुग्ने अपेक्षा गरे ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट