
सरकार बनेको ९ महिना पुग्न लाग्दा पनि सरकारको कार्यसम्पादनप्रति साझेदार दल नै असन्तुष्ट देखिएको छ । सत्ता साझेदार दल नेपाली काँग्रेसका महामन्त्रीदेखि अन्य नेताहरु निरन्तर सरकारको बिरोधमा उत्रिँदा सभापति देउवा भने मौन छन् । महामन्त्री गगनकुमार थापा सरकारप्रति आक्रोशित बनेपनि उनको आक्रोश अर्थपूर्ण बन्न सकेको छैन । सरकार सञ्चालनका लागि बनाइएको संयन्त्रकै सदस्य थापाको आक्रोशलाई सभापति देउवाले नजरअन्दाज गरिरहेका छन् ।
नेपाली काँग्रेस र नेकपा एमालेबीचको सहकार्यमा सरकार बनेको ९ महिना पुग्न लागेको छ । संसदका दुई ठूला दलले संविधान संशोधन लगायतका मुख्य ७ वटा बुँदा सहमति जनाएर सरकार निर्माण गरेपनि सरकारको कामप्रति नेपाली काँग्रेस खुशी छैन । प्रधानमन्त्री केपी शर्मा ओली र उहाँको नेतृत्वको सरकारका मन्त्रीहरुको कार्यसम्पादनप्रति महामन्त्री थापाले सार्वजनिक रुपमा अभिव्यक्ति दिँदै आएका छन् । मंगलवार काठमाडौं आयोजित एक कार्यक्रममा पनि उनले सरकारको आलोचना गर्न छोडेनन । उनले सरकारले नागरिकका अपेक्षाहरु पूरा गर्न गति लिन नसकेको आरोप लगाए । दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाएपछि संविधानमा बदलाव ल्याउनेदेखि विकास निर्माणका कामलाई तिब्रता दिने अपेक्षा गरेपनि त्यसअनुसार काम हुन नसकेको भन्दै आपत्ति जनाए ।
महामन्त्री थापा यतिमा मात्रै रोकिएनन । उनले विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको शयन कक्षसम्म हुने गरेको समेत आरोप लगाए । निजी क्षेत्र र विचौलिया फरक कुरा भएको बताउँदै विचौलियाहरुको पहुँच नेतृत्व तहको शयन कक्षसम्म हुने गरेकाले अहिलेको समस्या सिर्जना भइरहेको जिकिर गरे । उनले विचौलियाका कारण अहिलेको अर्थतन्त्रमा समस्या आएको आरोप समेत लगाए ।
महामन्त्री थापाले केही दिनअघि चैत २८ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा सरकारले गठन गरेको राजनीतिक संयन्त्रको भनेको कुरा सरकारले टेर्ने नगरेको आशय व्यक्त गरेका थिए । सरकारले राम्रो काम गरोस् भनेर आफूहरुले सहयोग गरिरहेको बताउँदै उनले “बिँड तातेर केही नहुँदो रहेछ ताप्केपनि तात्नुपर्ने रहेछ” भन्दै आलोचना समेत गरेका थिए ।
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने कुरा होस् वा प्रधानमन्त्रीको सार्वजनिक कार्यक्रमको उद्घाटन मोह होस्, त्योप्रति काँग्रेस महामन्त्री थापालाई पटक्कै रुचेको छैन । राजधानीमा शिक्षकहरुले विभिन्न माग राख्दै जारी राखेको आन्दोलनलाई रोक्न र उनीहरुका माग सम्बोधन गर्न सरकारले कुनै नदेखाउँदा उनी झनै असन्तुष्ट बनेका छन्।
थापा नेपाली राजनीतिमा आशा गरिएका व्यक्ति हुन। उनमा काम गर्ने हुटहुटी छ । तर पार्टीमा सभापति शेरबहादुर देउवा हाबी हुँदा थापाले गर्न चाहेर पनि काम गर्ने अवसर मिलेको छैन । आफ्नो काम गर्ने हुटहुटी र सरकारको सुस्त कार्यसम्पादनले वाक्क हुनुभएका थापाले अहिलेका प्रधानमन्त्रीले भन्दा आफूले राम्रो काम गरेर देखाउने बताउँदै आएका छन् । केही महिनाअघि भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अहिलेको प्रधानमन्त्री, अब बन्ने प्रधानमन्त्री वा यसअघिका प्रधानमन्त्रीहरु भन्दा युवा पुस्ताहरुबाट बन्ने प्रधानमन्त्रीले बढी राम्रो काम गरेर देखाउने बताएका थिए । उनले आज नै प्रधानमन्त्रीमा नियुक्ति गरे पनि अहिलेको भन्दा राम्रो काम गरेर देखाउने भन्दै आफू भित्रको हुटहुटीलाई प्रष्ट पारेका थिए । अहिलेको भन्दा राम्रोसँग देश चलाउँछु भन्ने विश्वासकै कारण पार्टीको संसदीय दलको नेताका लागि पहल गरेको बताउँदै अबको दशक खेर फाल्न नहुने उनले जिकिर गरेका थिए ।
सरकारमै रहेर पनि कामप्रति असन्तुष्टी जनाउँदै आएका थापाले नागरिकले सुनेका भ्रष्टाचारका सबै काण्डहरुको छानविन गर्नुपर्ने समेत बताउँदै आएका छन् । आम नागरिकहरुले भ्रष्टाचारकै कारण देशले गति लिन नसकेको भनिरहेको बेलामा जनताले सुनेका सबै भ्रष्टाचारका काण्डहरुको अख्तियार वा सर्वशक्तिशाली आयोग बनाएर अनुसन्धान गर्नुपर्ने उनको धारणा छ । २०८४ सम्ममा नेपाली समाज भ्रष्टाचार मुक्त बनाउनुपर्ने आवश्यकता रहेको बताउँदै उनले अनियमिततामा दोषी ठहर भएको खण्डमा शक्तिशाली भनेर छोड्न नहुने बताए । नेपालमा सार्वजनिक ओहोदामा बसेर भ्रष्टाचार गरेको मान्छेलाई नेपाली समाजले छोड्दैन भन्ने सन्देश दिनुपर्ने थापाले तर्क राख्दै आएका छन्।
त्यसो त, थापालाई सरकारले राम्रो काम गरोस् भन्ने चाहना छ । पार्टी सभापति देउवा नै सरकारको कामबाट खुशी देखिँदा थापाको असन्तुष्टी र आक्रोश केबल भाषणमा मात्रै सिमित बन्ने गरेको छ । सभापति देउवाले आफू र प्रधानमन्त्री ओली जेलमा सँगै बसेको र त्यही बेलादेखिको साथी भएको भन्दै सरकारलाई दरिलो साथ दिएका छन् । महामन्त्री थापालगायतका पार्टीकै नेताहरुको असन्तुष्टीका बीच सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली काँग्रेसको पूर्ण समर्थन रहेको भन्दै सरकारलाई ढाडस दिँदै आएका छन् ।
सरकारका कामहरु पनि सभापति देउवा सन्तुष्ट रहँदा महामन्त्री थापा र अन्य नेताहरुको आलोचनाले प्रधानमन्त्री ओली र उनको नेतृत्वका सरकारका मन्त्रीहरुलाई केही फरक पारेको छैन । मुलुकमा बढ्दो बेरोजगारी र युवाहरु विदेश पलायन हुनबाट रोक्न, कोरोनापछि अर्थतन्त्रमा देखिएका समस्यालाई समाधान गर्न र विकासको गतिलाई तिब्रता दिन सरकारले जाँगर नचलाएपछि महामन्त्री थापा आक्रोश पोखेका हुन ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend