
काठमाडौं । नेपालबाट निर्यात हुने खाद्यवस्तुहरू परीक्षणको लागि भारतमै जानुपर्ने बाध्यात्मक परिस्थितिको अन्त्य भएको छ ।
नेपालमा रहेका दुई वटा प्रयोगशालाले परीक्षणको लागि अन्तर्राष्ट्रिय मान्यता पाएसँगै खाद्यवस्तुहरू परीक्षणको लागि भारत जानुपर्ने बाध्यता हटेको हो । नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग मातहतको नेपाल राष्ट्रिय खाद्य तथा दाना रिफ्रेन्स प्रयोगशाला र विराटनगरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय अन्तर्गत रहेको प्रयोगशालालाई भारतले अन्तर्राष्ट्रिय मान्यता दिएको हो ।
भारत सरकारले नेपालबाट भारतमा निर्यात हुने ८ खाद्य समूहभित्र पर्ने वस्तुको विश्लेषण गुणस्तर परीक्षण प्रमाणपत्रलाई पारस्परिक मान्यता दिने निर्णय गरेपछि खाद्यवस्तुको परीक्षणमा भइरहेको जटिलताको अन्त्य भएको छ । भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण फुड सेफ्टी एन्ड स्टाण्डर्डस अर्थोरिटी अफ इण्डिया (एफएसएसएआई) र परीक्षण तथा क्यालिब्रेसन प्रयोगशालाहरूको लागि राष्ट्रिय मान्यता बोर्ड एनएबीएल ले नेपालका दुई प्रयोगशालालाई पारस्परिक मान्यता प्रदान गरेको खाद्य प्रविधि गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले जानकारी गराए । अबदेखि यहाँबाट परीक्षण हुने खाद्यवस्तुहरूले पाएको परीक्षण प्रतिवेदनले अन्तर्राष्ट्रिय बजारमा मान्यता पाउनेछ ।
उनले भने, “नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग मातहतको नेपाल राष्ट्रिय खाद्य तथा दाना रिफ्रेन्स प्रयोगशाला र विराटनगरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयअन्तर्गत रहेको प्रयोगशालाले अन्तर्राष्ट्रिय मान्यता पाएको हो । अबदेखि यहाँबाट परीक्षण हुने खाद्यवस्तुहरूले अन्तर्राष्ट्रिय बजारमा उक्त परीक्षण प्रतिवेदनले मान्यता पाउँछ ।”
निर्यात बढाउनको लागि जुन देशमा खाद्यवस्तुहरू निर्यात गर्न चाहन्छौँ, उक्त देशको स्वच्छता नियामक निकायहरू नेपाली प्रयोगशाला र परीक्षण प्रतिवेदनलाई मान्यता दिनुपर्ने हुन्छ । तसर्थ अबदेखि निर्यात गर्न खोजेको मुलुकमै गएर खाद्यवस्तुको परीक्षण गर्नुपर्ने बाध्यता हटेको हो । सरकारले भारतको फुड सेफ्टी एन्ड स्टाण्डर्डस अर्थोरिटी अफ इण्डिया एफएसएसएआईसँग मान्यताको पटक पटक विविध चरणमा काम गर्दै आएको थियो । अन्ततः यही अप्रिल ४ देखि नेपाली दुई प्रयोगशालाले आधिकारिक रूपमा मान्यता पाएका हुन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend