दाङ । घोराही उपमहानगरपालिकाले सञ्चालन गर्दै आएको निःशुल्क स्वास्थ्य शिविर प्रभावकारी बन्दै गएको छ । गाउँघरमै स्वास्थ्य सेवा उपलब्ध हुन थालेपछि महिलाहरूले समयमै स्वास्थ्य परीक्षण गराउन थालेका छन् भने पाठेघरको मुखको क्यान्सरका शङ्कास्पद लक्षण प्रारम्भिक अवस्थामै पत्ता लाग्न थालेका छन् ।
घोराही–११ शिवपुरकी ६० वर्षीया एक महिलाले लामो समयदेखि तल्लो पेट, ढाड र कम्मर दुख्ने समस्या भए पनि घरायसी व्यस्तताका कारण अस्पताल जान सकेकी थिइनन् । घर नजिकै सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गराउँदा उनको पाठेघरमा घाउ भएको पत्ता लागेको थियो । स्वास्थ्यकर्मीले औषधि उपचारपछि निको हुने भन्दै आवश्यक परामर्श र औषधि उपलब्ध गराएका थिए ।
यस्तै, घोराही–१३ कलमघारीकी ६३ वर्षीया अर्की महिलाले पिसाब नरोकिने, ढाड दुख्ने, शरीर दुख्ने र भोक नलाग्ने समस्या रहे पनि अस्पताल जान नसकेको बताइन् । निःशुल्क शिविरबाट उपचार र औषधि पाएपछि स्वास्थ्यमा सुधार आउने विश्वास व्यक्त गरिन् ।
घोराही उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखाका अनुसार पछिल्लो चार वर्षमा सञ्चालन गरिएको पाठेघरको मुखको क्यान्सर परीक्षण अभियानले उल्लेखनीय उपलब्धि हासिल गरेको छ । आर्थिक वर्ष २०७९/८० देखि सुरु गरिएको अभियानअन्तर्गत हालसम्म १९ वटै वडामा १६ हजार ७४१ महिलाको पाठेघरको परीक्षण गरिएको छ ।
परीक्षणका क्रममा ४८८ महिलामा पाठेघरको मुखको क्यान्सरका शङ्कास्पद लक्षण फेला परेका छन् । आर्थिक वर्ष २०७९/८० मा ५,८०९ महिलामध्ये ११६ जना, २०८०/८१ मा ३,६६५ मध्ये ८८ जना, २०८१/८२ मा ५,२६० मध्ये १६४ जना र चालु आर्थिक वर्ष २०८२/८३ मा हालसम्म २,००७ महिलाको परीक्षण गर्दा १२० जनामा शङ्कास्पद लक्षण देखिएको स्वास्थ्य शाखा प्रमुख राधा पौडेलले जानकारी दिइन् ।
उनका अनुसार समयमै रोग पहिचान हुँदा उपचार खर्च कम हुने र पूर्ण रूपमा निको हुने सम्भावना पनि बढ्ने भएकाले महिलामा स्वास्थ्य परीक्षणप्रतिको सचेतना उल्लेखनीय रूपमा बढेको छ ।
हाल घोराही उपमहानगरपालिकाले गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै संस्थागत परिवार नियोजन क्लिनिक र लक्ष्मीपुर स्वास्थ्यचौकीबाट नियमित रूपमा पाठेघरको मुखको क्यान्सर परीक्षण सेवा उपलब्ध गराउँदै आएको छ। गम्भीर समस्या देखिएका बिरामीलाई थप उपचारका लागि सम्बन्धित अस्पतालमा रिफर गरिने व्यवस्था गरिएको छ ।
उपमहानगरपालिकाकी उपप्रमुख हुमाकुमारी डिसीले क्यान्सरपीडित महिलाको संख्या बढ्दै गएको देखेपछि उपचारभन्दा रोकथामलाई प्राथमिकता दिँदै २०७९/८० देखि परीक्षण अभियान सुरु गरिएको बताइन् । उनका अनुसार समयमै परीक्षण र उपचारका कारण धेरै महिलाले नयाँ जीवन पाएका छन्, त्यसैले यो अभियान आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिनेछ ।
प्रतिक्रिया दिनुहोस