काठमाडौं । डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा अविरल वर्षापछि आएको लेदो र हिलोसहितको बाढीले घर पुरिँदा एक महिलाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।
आइतबार बिहान करिब ३ बजे अचानक धुलाखोलामा आएको बाढी बस्तीमा पसेपछि ठूलो मानवीय र भौतिक क्षति भएको हो ।
प्रहरीका अनुसार बाढी घरभित्र पस्दा सुतिरहेकी स्थानीय अन्दाजी ५५ वर्षीया आनन्दा विक घरभित्रै पुरिएकी थिइन् । घटनास्थलबाट प्रहरी र स्थानीयवासीले उनलाई जीवितै उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी झ्याँकोट लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बाढीको चपेटामा परी ६० वर्षीया जस विक, ४४ वर्षीया रेउली विक, १५ वर्षीया निरुता विक र १३ वर्षीया सिता विक घाइते भएका छन् । घाइतेमध्ये रेउली विकको अवस्था गम्भीर रहेकाले उनलाई थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा रिफर गरिएको छ। अन्य तीन जना भने उपचारपछि घर फर्किएका छन् ।
घटनाको थप पीडा खप्न नसकी मृतकका आफन्त ३२ वर्षीया जुनमाया विक र २९ वर्षीय दुर्गे विक अत्यधिक मानसिक तनावका कारण बेहोस भएका छन् । उनीहरूको अहिले स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
बाढीको प्रारम्भिक विवरणअनुसार धुलाखोलाको बाढीले गैरीगाउँका ९ वटा घरमा क्षति पुर्याएको छ । जसमध्ये एक घर पूर्ण रूपमा ध्वस्त भएको छ भने अन्य आठवटा घरमा आंशिक क्षति पुगेको छ ।
घटनालगत्तै उद्धार र राहतका लागि प्रहरी चौकी माझगाउँ, जिल्ला प्रहरी कार्यालय डोल्पा, इलाका प्रहरी कार्यालय काइगाउँ, अस्थायी प्रहरी पोस्ट हुरिकोट तथा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोली घटनास्थलमा परिचालन गरिएको छ । सुरक्षाकर्मीको टोलीले स्थानीयको सहयोगमा बाढीबाट भएको थप क्षतिको विवरण सङ्कलन गर्नुका साथै जोखिममा रहेका अन्य परिवारलाई सुरक्षित स्थानमा सार्ने कार्य गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस