काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्डको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। आयोजनाले यस खण्डमा गरिएको कंक्रिट ढलान कम्तीमा ३० वर्षसम्म टिक्ने दाबी गरेको छ।
सडक विभागअन्तर्गत आयोजना निर्देशनालय (एडीबी) का आयोजना निर्देशक चुडाराज ढकालका अनुसार दाउन्नेको भौगोलिक बनावट, पहिरोको जोखिम र बढ्दो सवारी चापलाई ध्यानमा राख्दै कालोपत्रेको सट्टा कंक्रिट ढलान प्रविधि अपनाइएको हो ।
उनले सडकको निर्माण डिजाइनअनुसार गरिएको र भार नियन्त्रणलगायतका मापदण्ड प्रभावकारी रूपमा कार्यान्वयन भए ढलानको आयु ४० वर्षसम्म पुग्न सक्ने बताए । यसबाट दाउन्ने सडकखण्डमा वर्षौंदेखि यात्रुले भोग्दै आएको सास्ती अन्त्य हुने विश्वास उनले व्यक्त गरे ।
ढकालका अनुसार सडकको भारवहन क्षमता एकल चक्कामा १० टनसम्म निर्धारण गरिएको छ । आगामी २० देखि ३० वर्षसम्मको सवारी चापलाई आधार मानेर सडकको डिजाइन गरिएको र दैनिक १२ हजारदेखि २० हजारसम्म सवारीसाधन सञ्चालन हुँदा पनि सडकको संरचनामा असर नपर्ने गरी निर्माण गरिएको उनले बताए ।
हाल दाउन्ने मन्दिरमुनि पहिरो प्रभावित क्षेत्रमा करिब ५० मिटर लम्बाइको एकतर्फी ढलान गर्न बाँकी रहेको छ। त्यसबाहेक सडकको एकातर्फको निर्माण सम्पन्न भइसकेको र उक्त लेनबाट सवारी आवागमन नियमित रूपमा सञ्चालन भइरहेको आयोजना निर्देशनालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस