२०८३, आषाढ २१ गते

आइतवार, आषाढ २१ गते २०८३

दुई करोड बढी लागतमा बनेको वृद्धाश्रम प्रयोगविहीन

सोमवार , बैशाख ८, २०८२

बागलुङ । बागलुङ नगरपालिका–४ नियरघाटमा निर्माण भएको वृद्धाश्रम सञ्चालनमा आउन सकेको छैन । दुई वर्ष अगाडि परिवारबाट अपहेलित भएका वृद्धवृद्धालाई राख्नका लागि निर्माण भएको वृद्धाश्रम सञ्चालनमा आउन नसकेको हो । निर्माण सम्पन्न भएको लामो समयसम्म पनि भवन सञ्चालन नहुँदा वरपर झाडी पलाएर ढाकिएर बेवारिसेजस्तै बनेको छ ।

आश्रम निर्माणका लागि निर्माण कम्पनीले विसं २०७९ पुस ८ गते सम्झौता गरी काम सुरु गरेको थियो । निर्माण कम्पनीले विसं २०८० असार २५ गते काम सम्पन्न गरेको थियो । नगरपालिकाको दुई करोड २६ लाख ५४९ रुपैयाँमा निर्माण भएको सुविधायुक्त आश्रम बनेको हो । भवन एक तलाको भए पनि सुविधायुक्त रहेको छ ।

बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले परिवारबाट तिरस्कारमा परेका वृद्धवृद्धाको संरक्षणका लागि वृद्धाश्रम निर्माणको भन्दै अहिलेसम्म कोही पनि वृद्धवृद्धा आश्रय लिन नआउँदा सञ्चालनमा नभएको बताए । करोडौँ खर्चिएर बनाएको संरचनालाई प्रयोग नगरी छोड्नुभन्दा केही समयका लागि मानवसेवा आश्रमलाई सञ्चालन गर्न दिने कार्यपालिकाले निर्णय गरेको उनको भनाइ छ ।

नगरप्रमुख श्रेष्ठले भने, “कोही पनि बाबाआमा आश्रममा बस्नु नपरोस्, सुखद् भनौँ अहिलेसम्म हाम्रो सम्पर्कमा परिवारबाट हेलामा परे भनेर कोही पनि आउनुभएको छैन, नगरपालिकाले हेलामा परेका वृद्धवृद्धालाई संरक्षण गर्ने उद्देश्यले यो आश्रम बनाएको हो, यसलाई अब प्रयोग गर्नुपर्छ भन्ने हिसाबले मानव सेवा आश्रमलाई दिने निर्णय भएको छ ।”

वृद्धआश्रम नजिकै मानव सेवा आश्रमको भवन निर्माणाधीन छ । उक्त भवन नबन्दासम्म वृद्धआश्रम प्रयोग गर्न दिने उनी बताउँछन्। झाडीले ढाकिएको भवनलाई नगरपालिकाले केही समयमै व्यवस्थित बनाउने प्रमुख श्रेष्ठको भनाइ छ । उक्त भवनको संरक्षणका लागि घेराबार गर्ने, फोहर व्यवस्थापन लगायतका काम गर्ने उनले बताए । यदि कोही वृद्धवृद्धा आश्रय लिन आए राम्रो सुविधा दिएर राख्ने श्रेष्ठले बताए ।

निरयघाटमा रहेको जङ्गेश्वर महादेव लक्ष्मीनारायण गुठीको पाँच रोपनी जग्गामा आश्रम निर्माण भएको छ । भवनमा ध्यान केन्द्र, नर्सिङ सेन्टर, भान्सासहित भवनमा २० कोठा रहेको बागलुङ नगरपालिकाका इन्जिनियर सोबिन घर्तीले जानकारी दिए । भवनमा वृद्धवृद्धाका लागि शौचालय, स्नानगृह रहेको उनको भनाइ छ ।

बागलुङ नगरपालिका–१ का स्थानीय बालकृष्ण आचार्यले वृद्धआश्रम सञ्चालन नहुँदा राम्रो ठूलो रकम नोक्सान भइरहेको बताए । निर्माण सम्पन्न भएको दुई वर्षसम्म सञ्चालन नहुनु दुःखद् विषय भएको भन्दै नगरपालिकाले कुनै प्रयोजनका लागि भए पनि प्रयोग गर्नु पर्ने सुनाए । नयाँ भवन प्रयोग नहुँदै झ्यालढोका टुट्न फुट्न लागेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट