काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले शिक्षक, चिकित्सक तथा लघुवित्त पीडितहरूसँग संवाद भइरहेको जनाउँदै सरकार समस्याको समाधानतर्फ नगई उल्टै जटिलता बढाउने दिशामा गएको बताएका छन्।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहीबार बिहान बसेको बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीले आन्दोलनरत शिक्षकहरूसँगको संवादमा आफ्नो नाम जोडेर टिप्पणी गर्नु दुर्भाग्यपूर्ण रहेको पनि बताए । साथै, माओवादी केन्द्रको बैठकले शिक्षा मन्त्री फेरबदलबाट शिक्षक आन्दोलनप्रति सरकारको संवेदनशीलता घट्दै गएको ठहर गरेको छ । बैठकले शिक्षकका मागहरू सम्बोधनका लागि सरकारलाई दबाब पुग्ने गरी भूमिका खेल्न समेत सांसदहरूलाई निर्देशन दिएको छ ।
बैठकमा उनले पछिल्लो राजनीतिक परिदृश्य, सरकारको कार्यशैली, पार्टीको भूमिका र जनअपेक्षाबारे सांसदहरूसँग विस्तृत छलफल गरेका हुन् ।
अध्यक्ष प्रचण्डले अघिल्लो संसद् अधिवेशनमा प्रधानमन्त्री संसदमा जवाफ नदिने अडानमा रहँदा माओवादी केन्द्रको स्पष्ट अडान र दबाबकै कारण उनलाई दुवै सदनमा उपस्थित भई जवाफ दिन बाध्य बनाउन सफल भएको उल्लेख गरे । 'यो लोकतान्त्रिक प्रक्रियामा जनताको पक्षमा भएको विजय हो,' उनले भने।
प्रतिक्रिया दिनुहोस