एनआईसी एशिया बैंकले आफ्नो अनलाइन पोर्टलमा पछिल्लोपटकको लिलाम बिक्रीसम्बन्धी विवरण राखेको छ । बैंक आफ्नो नाममा रहेका बैंकिङ सम्पत्ति, गैर-बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्रीसम्बन्धी पछिल्लोपटकको विस्तृत विवरण अनलाइन पोर्टलमा उपलब्ध गराएको हो ।
बैंकका अनुसार ‘अक्सन एसिस्टेन्स डट एनआईसी एशिया बैंक डट कम’ नामक उक्त पोर्टलमार्फत लिलाम बिक्रीमा राखिएका सम्पत्तिसम्बन्धी सबै विवरण सहज रूपमा हेर्न सकिने व्यवस्था गरिएको छ । ग्राहकहरू लिलामसम्बन्धी सूचनामा दिइएको क्यूआर कोड स्क्यान गरेर पोर्टलमा प्रवेश गर्न सक्ने बैंकले जनाएको छ ।
पोर्टलमा सम्पत्तिको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा तथा स्थान पहिचानका लागि गुगल म्यापसहित विस्तृत विवरण उपलब्ध हुने बैंकले जनाएको छ । यसले इच्छुक खरिदकर्तालाई सम्पत्तिबारे स्पष्ट जानकारी प्राप्त गर्न सहयोग गर्ने विश्वास बैंकले व्यक्त गरेको छ ।
त्यसैगरी, कुनै पनि सम्पत्तिबारे थप जानकारी आवश्यक परेमा सम्बन्धित विवरण पेजमा रहेको म्यासेज बक्समार्फत नाम, इमेल, मोबाइल नम्बर र सम्पर्क ठेगाना राखेर सोधपुछ गर्न सकिने व्यवस्था पनि गरिएको छ ।
बैंकले उक्त पोर्टलमार्फत बैंकिङ सम्पत्ति, गैर-बैंकिङ सम्पत्ति तथा धितोमा रहेका सम्पत्तिहरू नियमित रूपमा अद्यावधिक गरिने जनाएको छ । लिलाम बिक्रीमा सहभागी हुन इच्छुक ग्राहकहरूले पोर्टलमै गएर विस्तृत विवरण अध्ययन गरी निर्णय लिन सक्ने बैंकको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस