२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

‘केटा हो, चोकतिर...’ लेखिएको हायसमा पूर्वमन्त्री पौडेलको यात्रा : शक्ति शिखरबाट हिरासतको ढोकासम्म

मंगलवार , आषाढ ९, २०८३

काठमाडौं  / कुनै समय राज्य संयन्त्रका सबैभन्दा प्रभावशाली निर्णयकर्तामध्ये गनिने नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल यसपटक भने फरक दृश्यमा देखिए। आठ पटकसम्म मन्त्री बनेका, अर्थदेखि रक्षा जस्ता शक्तिशाली मन्त्रालय सम्हालेका नेता पौडेल धेरै वर्षपछि सार्वजनिक यात्रुवाहक हायसमा प्रहरी निगरानीबीच काठमाडौं ल्याइए।

सोमबार पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका बेला पक्राउ परेका पौडेललाई सुरुमा सुर्खेतबाट नेपालगञ्ज र त्यहाँबाट हवाईमार्ग हुँदै काठमाडौं ल्याउने तयारी भएको थियो। तर गृह प्रशासनको निर्देशनपछि अन्ततः स्थलमार्ग रोजियो। त्यसपछि नेपालगञ्जबाट हायसमार्फत मंगलबार दिउँसो काठमाडौं ल्याएर सम्पत्ति शुद्धीकरण अनुसन्धान कार्यालयमा पौडेललाई उपस्थित गराइयो ।

यो यात्रा सामान्य थिएन। गाडीको अगाडिपट्टि लेखिएको थियो— “केटा हो, चोकतिर... चोकतिर।”

729080367_2236646433834978_1185420266769111197_n.jpg

त्यही गाडीबाट ओर्लिँदै गर्दा पूर्वअर्थमन्त्री पौडेल केही थकित, केही मौन र केही हतास देखिएका दृश्यले धेरैलाई राजनीतिक यात्राको अनिश्चितता सम्झायो।

पौडेल नेपाली राजनीतिमा लामो समय शक्तिको केन्द्रमा रहेका नेता हुन्। सरकारका महत्वपूर्ण मन्त्रालयको नेतृत्व गर्दै राज्य सञ्चालनको अग्रपंक्तिमा बसेका उनी पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीसँग दूरी बढिरहेको चर्चा भइरहेका बेला यस्तो घटनाक्रममा पुगेका हुन्।

राजनीतिक जीवनमा पौडेलले यसअघि पनि आन्दोलन र राजनीतिक संघर्षका क्रममा हिरासत र जेल जीवन भोगेका थिए। तर अहिलेको सन्दर्भ फरक छ। यो पटकको हिरासत बसाइ लोकतान्त्रिक आन्दोलन वा राजनीतिक परिवर्तनसँग जोडिएको होइन, बरु सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित आरोपको अनुसन्धानसँग जोडिएको छ ।

728950692_4653384061613005_436769466466499189_n.jpg

राजनीतिमा समय कहिले सिंहासनतिर डोर्‍याउँछ, कहिले सोधपुछ कक्षसम्म ल्याइपुर्‍याउँछ— पौडेलको पछिल्लो यात्रा त्यसैको एउटा प्रतीकात्मक दृश्य बनेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट