काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले विद्यालय शिक्षा विधेयक फास्ट ट्रयाकबाट पारित गरी शिक्षकहरुलाई आफ्नो क्षेत्रमा फर्किने वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन् ।
शुक्रबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले शिक्षा विधेयक छिटो ल्याउनुपर्ने भन्दै यस्तो आग्रह गरेका हुन् । उनले शिक्षा विधेयकको माग गर्दै २४ दिनदेखि सडकमा रहेका शिक्षकहरुको आवाज नसुनेर सरकारले आन्दोलन तुहाउन खोजेको आरोप लगाए । उनले गुणस्तरीय शिक्षाको ग्यारेन्टी गर्ने गरी शिक्षा विधेयक ल्याउनुपर्ने बताए ।
उनले विद्यार्थीको शैक्षिक भविष्य अन्योलग्रस्त बनाउने गरी शिक्षक आन्दोलनलाई बेवास्ता नगर्न सरकारसँग आग्रह गरे । उनले शिक्षकहरु चर्को गर्मीको अलकत्रामा टाँसिएर आन्दोलित अवस्थामा हुँदा सरकार कानमा तेल हालेर बसेको अरोप लगाए।
उनले भने, ‘यो बजेट अधिवेशन भएपनि धेरै विधेयकहरु यहाँ थुप्रिएका छन् । त्यसमध्ये विद्यालय शिक्षा विधेयक, संघीय निजामति सेवा विधेयकलगायतका धेरै महत्वपूर्ण विधेयकहरुलाई छिटोभन्दा छिटो अगाडि बढाउनुपर्ने छ । विद्यालय शिक्षा विधेयक छिटो पास गर्न दबाब दिने उद्देश्यले शिक्षकहरु आन्दोलनको मोर्चामा छन् । आज २४ दिन भइसक्यो । २४ दिनसम्म पनि सरकारले सुनिरहेको छैन । कानमा तेल हालेर बसिरहेको छ, बहिरो जस्तै गरेर यो सरकारले यो आन्दोलनलाई तुहाउने प्रयत्न गरिरहेको छ । शिक्षकका आवाजहरु सुनिएको छैन ।’
सांसद ज्वालाले सहकारी पीडित, मिटर ब्याजपीडित, चिकित्सकलगायतका आन्दोलनको घेराबन्दीमा सरकार रहेको बताए। उनले जनताको पीडालाई दबाउने प्रयास नगर्न सरकारलाई चेतावनी दिए ।
प्रतिक्रिया दिनुहोस