२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

मन्त्रीका निर्वाचन क्षेत्रमा मात्रै बजेट जाने प्रवृत्ति अन्त्य हुनुपर्नेमा सांसदहरुको जोड

शुक्रवार , बैशाख १२, २०८२

काठमाडौं । शक्ति र पहुँचका आधारमा बजेट विनियोजन हुने प्रवृत्तिको अन्त्य गरिनुपर्ने धारणा सांसदहरुले राखेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्नेक्रममा सांसदहरुले विकासको आवश्यकता र नागरिकको चाहनाको पहिचान गरी कुशलतापूर्वक बजेट विनियोजन गरिनुपर्ने धारणा राखेका हुन् ।

जनमत पार्टीका सांसद अब्दुल खानले जनताले भोगिरहेका समस्याप्रति लक्षित गरेर बजेट निर्माण गर्न आवश्यक रहेको यो । उनले सकेसम्म देशभित्रकै कच्चापदार्थलाई प्रयोग गरी अर्थतन्त्रलाई अगाडि बढाउने नीति ल्याउनुपर्नेमा जोड दिए ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका राजकिशोर यादवले चालु अधिवेशनबाट अत्यावश्यक विधेयकहरु पास गर्नुपर्ने आवश्यकता रहेको औँल्याए । उनले भने, 'चालु अधिवेशनले समस्या समाधान गरोस् । आशा पलाउने गरी र आवश्यकताको आधारमा बजेट आओस् ।'

सांसद सर्वेन्द्रनाथ शुक्लाले अर्थतन्त्र शिथिल हुँदै गएको विषम परिस्थितिमा आउने आगामी आर्थिक वर्षको बजेट अघिल्ला वर्षहरुभन्दा फरक हुनुपर्ने बताए। राजस्व सङ्कलन घटेको, तस्करी बढेकोलगायतका विषयहरु उनले संसदमा उठाए ।यसवर्ष किसानले मलको समस्या भोग्नु नपरोस भनेर सरकारले सतर्कता अपनाउन उनले सुझाव दिए ।

सांसद गङ्गाराम चौधरी डगौराले शक्ति र पहुँचका आधारमा बजेट बाँड्ने प्रवृत्ति रोकिनुपर्ने बताए । 'मन्त्रीका निर्वाचन क्षेत्रमा मात्रै बजेट केन्द्रित नहोस् । पहुँचका आधारमा बजेट नबाढियोस् । आफ्ना कार्यकर्ता पोस्ने बजेट नआओस्', उनले भने, 'उत्पीडनमा परेका समदायलाई केन्द्रमा राखेर बेराजगारी घटाउने गरी बजेट आओस् ।' बजेटमाथि नीतिगत निगरानी गर्न आवश्यक रहेको पनि उनले बताए । बजेट तर्जुमा, स्वीकृती, कार्यान्वयन, मूल्याङ्कनलगायतका प्रक्रियालाई गम्भीर रुपमा हेरिनुपर्ने सांसद चौधरीको भनाइ छ ।

सांसद प्रेम सुवालले शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा रोकिँदा विद्यार्थीहरुको भविष्यमाथि खेलबाड भइरहेको उल्लेख गरे । प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोग गठन गरिनुलाई सरकारमाथि सरकारकै अविश्वासको उपजका रुपमा हेरिनुपर्ने सुवालको बुझाइ थियो । सार्वजनिक ऋण निरन्तर बढ्ने, युवाहरु विदेश पलायन हुने, आन्तरिक उत्पादन बढ्न नसक्नेजस्ता जटील समस्याको समाधान खोज्नेगरी बजेट केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।

सांसद चित्रबहादुर केसीले लोकतन्त्रमाथि चौतर्फी रुपमा आक्रमण भइरहेको उल्लेख गर्दै जनताको आकाङक्षाअनुसार काम गर्न नसकेका कारण नै वितृष्णा बढेको बताए । 'भष्ट्राचार गर्नेलाई कारबाही नहुने र संरक्षण गर्ने प्रवृत्तिको लेखाजोखा जनताले राखिरहेका छन् । भ्रष्टाचारमा हामी आफै लिप्त छौं भने जनतालाई कसरी सम्झाउनुहुन्छ ?', सांसद केसीले भने । लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि सबै दल एकजुट हुनुपर्ने पनि उनको भनाइ थियो ।

सांसद डा अमरेशकुमार सिंहले चुनाव जित्नका लागि राजनीतिक दल र तिनका नेताहरुले व्यवसायीहरुसँग रकम उठाउने गरेको र सरकारमा गएपछि उनीहरुलाई फाइदा हुनेगरी निर्णय गर्ने गरेको आरोप लगाए। उनले दलीय भागबण्डाका आधारमा नियुक्ति, सरुवा, बढुवा हुने प्रवृत्ति मौलाएको बताए । लोकतन्त्रलाई नेताहरुबाट संकट रहेको सांसद सिंहको भनाइ थियो ।

सांसद योगेन्द्र मण्डलले सरकारको बोली एउटा र व्यवहार अर्को रहेको दाबी गरे । उनले शिक्षक आन्दोलन चाँडो टुङ्गाउन आवश्यक रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट