काठमाडौं । अन्तर्राष्ट्रिय लजिस्टिक्स क्षेत्रको प्रमुख कम्पनी डिएसभीले प्रतिस्पर्धी कम्पनी डिबी शेंकरलाई अधिग्रहण गरेको छ । योसँगै डिएसभी अब विश्वकै अग्रणी लजिस्टिक्स कम्पनी बनेको छ ।
नेपालमा डिएसभीको एकमात्र प्रतिनिधि सांग्रीला इन्टरनेशनल फ्रेट प्रालीका अनुसार यस अधिग्रहणले नेपाली व्यवसायीलाई अन्तर्राष्ट्रिय बजारमा अझै सहज र सशक्त लजिस्टिक्स सेवा उपलब्ध गराउनेछ । कम्पनीले नेपालबाट हुने आयात(निर्यातमा अब अझै छिटो, सुविधाजनक र किफायती सेवा दिने बताएको छ ।
विगत महिनाहरूमा लगातार भएका छलफलहरू टुंगोमा पुगेसँगै १ मे २०२५ देखि दुबै कम्पनीले आधिकारिक रूपमा एउटै नाममा काम गर्न लागेका हुन् । डिएसभीले यो अधिग्रहण १४.३० अर्ब युरोमा गरेको हो । यसले विश्वव्यापी लजिस्टिक्स सञ्जालमा ठूलो प्रभाव पार्ने ठानिएको छ ।
डिएसभीका प्रमूख कार्यकारी अधिकृत जेन्स एच। लन्ड भन्छन्, 'यो अधिग्रहणसँगै हामीले डिएसभीको इतिहासमा एउटा ऐतिहासिक उपलब्धि हासिल गरेका छौं ।'
यसैगरी डिबी शेंकरका प्रमुख कार्यकारी अधिकृत जोचें थेवेजले भने, 'हामी यो महत्वपूर्ण उपलब्धि हासिल भएकोमा हर्षित छौँ । हाम्रा व्यवसायिक मोडल, सेवाहरू, मूल्य मान्यता तथा मापदण्डहरूमा अनेकौँ समानता छन् र हामी सहकार्य गर्न उत्साहित छौँ ।'
सांग्रीला इन्टरनेशनल फ्रेटका अध्यक्ष कुमार दाहाल भन्छन्, 'यस अधिग्रहणले हाम्रा ग्राहकहरूलाई अन्तर्राष्ट्रिय स्तरको उत्कृष्ट सेवा दिने हाम्रो क्षमता अझ बढाउनेछ । हामी नेपाली व्यापारीहरूको लागि अझ सहज र चुस्त सेवा प्रदान गर्न तयार छौँ ।'
यस अधिग्रहणपछि डिएसभीले विश्वभर ९० भन्दा बढी देशहरूमा डेढ लाख भन्दा बढी कर्मचारीमार्फत आफ्नो सेवा विस्तार गर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस