काठमाडौं । नेपाल विद्युत प्राधिकरणले श्वेतपत्र सार्वजनिक गरेको छ ।
पदबहाली गरेको एक महिनाभित्रै कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले श्वेतपत्र सार्वजनिक गर्दै ९७.५ विद्युत पहुँच पालिकाको हिसावले विद्युत पहुँच पुगेको बताए । वडाका हिसावले ९५ प्रतिशत विद्युत पहुँच पुगेको छ ।
घरसंरचनाका आधारमा पहुँच ९१.४ प्रतिशत पुगेको छ । फागुन मसान्तसम्म आन्तरिक माग २३३७ मेगावाट रहेको छ । यो आवको अन्त्यसम्म त्यस्तो माग २४ सय ३८ मेगावाट पुग्ने प्राधिकरणले प्रक्षेपण गरेको छ ।
माग र आपूर्तिको असन्तुलन वर्षा यामको विद्युत खेर गएको छ भने सुख्खायाममा विद्युतको माग बढिरहेको छ र पूर्ण रुपमा आपूर्ति गर्न नसकिएको शाक्यले बताए ।

उनले भने–‘आगामी दिनमा यसको व्यवस्थापन अझै चुनौतीपूर्ण देखिन्छ । प्राधिकरणको प्रक्षेपण अनुसार ०८२/८३ मा वर्षा याममा २६४८ मेगावाट , ०८३/८४ मा ३३१६ मेगावाट विद्युत जगेडा रहनेछ । यो निर्यात हुनुपर्ने देखिएको छ । तर त्यही समयमा २०८२/८३ को सुख्खा याममा ७९१ मेगावाट र ०८३/८४ मा ७२८ मेगावट अपुग आयात गर्नुपर्ने देखिन्छ ।’
शाक्यले आगामी दिनमा विद्युत आयात शुन्य नहुने बताए । अहिलेकै हिसाबले अघि बढ्दा आयात हटाउन अझै केही वर्ष नसकिने उनले बताए ।
शाक्यकाअनुसार यसको दिगो समाधान र उर्जा सुरक्षाका लागि अर्धजलाशय, जलाशय, पम्प जलाशययुक्त आयोजना र ब्याट्री उर्जा भण्डारण प्रणाली निर्माण गरी उर्जा भण्डारण गर्नुपर्छ । यससँगै विद्युत खपतको वार्षिक वृद्धिदर हालको १२–१४ प्रतिशतलाई बढाएर २० प्रतिशत पुर्याउन सबै प्रयास गर्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस