काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले एकदिने क्षमता विकास सम्बन्धी विशेष तालिम सम्पन्न गरेको छ।
स्थानीय शासन प्रणालीलाई थप सुदृढ, उत्तरदायी र प्रभावकारी बनाउने उद्देश्यले नगरभित्रका जनप्रतिनिधि तथा कर्मचारीहरूका लागि सो तालिमको आयोजना गरिएको थियो। नगरको सेवा प्रवाह, पारदर्शिता र कार्यसम्पादनमा गुणस्तरीय सुधार ल्याउने उद्देश्यले आयोजना गरिएको उक्त तालिमको केन्द्रविन्दु सुशासन र उत्तरदायी स्थानीय प्रशासन निर्माणमा थियो।
उक्त तालिममा पूर्व सूचना आयुक्त तथा पूर्व सचिव श्री कृष्णहरि बाँस्कोटा प्रमुख प्रशिक्षकको रूपमा उपस्थित थिए। उनले स्थानीय तहमा नीति निर्माण, कानुनी व्यवस्था, सूचना प्रवाह, पारदर्शिता, सुशासन र जनउत्तरदायी सेवाका विविध पक्षहरूमा गहिरो र व्यावहारिक जानकारी प्रदान गरे । उनले अनुभवजन्य दृष्टान्तहरू मार्फत सहभागीहरूसँग अन्तरक्रिया गर्दै स्थानीय सरकारको भूमिका र उत्तरदायित्वलाई स्पष्ट पारे।
तालिममा समेटिएका प्रमुख विषयहरूमा स्थानीय सरकारको अधिकार र दायित्व, संवैधानिक तथा कानुनी संरचना, सुशासनका आधारहरू, कर्मचारी जनप्रतिनिधिबीचको समन्वय, सेवा प्रवाह सुधारका उपाय, नागरिक सहभागिता र सूचना पहुँचको सुनिश्चितता समावेश थिए। बाँस्कोटाले स्थानीय सरकार केवल सेवा दिने संस्था मात्र नभई नागरिकको विश्वास जित्ने नेतृत्वकारी संस्था बन्नुपर्ने कुरामा विशेष जोड दिए ।
तालिममा नगर प्रमुख, उपप्रमुख, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, शाखा प्रमुखहरू, प्रशासनिक तथा प्राविधिक कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको समापन सत्रमा उपप्रमुखले सम्बोधन गर्दै यस्ता ज्ञानमूलक कार्यक्रमहरूले जनप्रतिनिधि तथा कर्मचारीहरूलाई उत्तरदायी, पारदर्शी र सक्षम बनाउने उल्लेख गरिन्। उनले भनिन्, ‘स्थानीय तहको प्रभावकारिता सेवा प्रवाहमा मात्र नभई सुशासनमा आधारित नेतृत्वबाट मापन हुन्छ। यस्ता तालिमले हामीलाई नीति र व्यवहार दुबैमा परिपक्व बनाउँछ।’ साथै, उनले पूर्व सचिव बाँस्कोटालाई धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरिन् ।
यस तालिमले कागेश्वरी मनोहरा नगरपालिकाको नीति तथा सेवा कार्यान्वयन क्षमतामा उल्लेखनीय सशक्तीकरण ल्याउने अपेक्षा गरिएको छ। सहभागीहरूको मूल्यांकन अनुसार तालिमले तिनीहरूको दृष्टिकोण परिवर्तन गरिदिएको छ र कार्यशैलीमा व्यवहारिक सुधार ल्याउने आधार बनाएको छ।
प्रतिक्रिया दिनुहोस