नवलपुर / बिहानको घाम बिस्तारै सामुदायिक वनका रुखका हाँगाबाट छिर्दै थियो। वनको छेउमै रहेको एउटा सानो कार्यकक्षमा महिलाहरूको समूह व्यस्त थियो। कसैले थाकलका रेशा मिलाइरहेको थियो, कसैले झोलाको आकार दिँदै थियो। एकातिर अम्रिसोका डाँठहरू सुकाइँदै थिए भने अर्कोतिर तयार भएका कुचोका बण्डलहरू बजार पठाउन मिलाइँदै थिए।
कुनै समय यही थाकल वन सफाइ गर्दा हटाइने, कुहिन दिइने वा आगो लगाएर नष्ट गरिने सामग्री थियो। कसैले कल्पना पनि गरेको थिएन—एक दिन यही थाकल महिलाको आम्दानी, गाउँको पहिचान र आत्मनिर्भरताको आधार बन्नेछ।
नवलपुरको देवचुली नगरपालिकास्थित नमूना महिला सामुदायिक वन आज त्यही परिवर्तनको साक्षी बनेको छ।
यहाँका महिलाले वनलाई केवल संरक्षण गर्ने सम्पत्तिका रूपमा होइन, सम्भावनाको भण्डारका रूपमा पढ्न थालेका छन्। वनले दिएको थाकल अहिले आकर्षक झोला, टेबल म्याट, टोपी, गमला, सजावटी सामग्री र घरायसी उपयोगका हस्तकलामा रूपान्तरण भइरहेको छ। अम्रिसो, जुन पहिलेसम्म सामान्य घाँस जस्तै देखिन्थ्यो, अहिले काठमाडौँसम्म पुग्ने कुचो बनेर गाउँको अर्थतन्त्रमा योगदान दिइरहेको छ।
यो कथा कुनै ठूलो लगानीबाट सुरु भएको होइन।
केही वर्षअघि केही महिलाले थाकलबाट झोला बुन्ने एउटा सामान्य तालिम लिए। सुरुमा सिकाइ थियो, अभ्यास थियो, अनि केही झोला मात्र। तर उनीहरूले त्यही सानो सीपलाई निरन्तरता दिए। आज त्यो प्रयास एउटा उद्यम बनेको छ।
समूहकी अध्यक्ष कोपिला रायमाझी भन्छिन्, सुरुमा हामीले बनाएका सामान बेचिन्छन् कि बेचिँदैनन् भन्ने पनि थाहा थिएन। अहिले भने बजार आफैँ हामीसम्म आउँछ।
उनको आवाजमा गर्व मिसिएको छ।
अहिले समूहमा करिब २० जना महिला नियमित रूपमा काम गरिरहेका छन्। बिहान घरधन्दा सकिएपछि उनीहरू कार्यकक्षमा भेला हुन्छन्। कसैले थाकल सफा गर्छ, कसैले डिजाइन तयार गर्छ, कसैले बुन्छ। प्रत्येक सामग्रीमा समय, धैर्य र मेहनत मिसिएको हुन्छ।
त्यही समूहकी सदस्य खगिसरा लुङ्गेलीका लागि यो काम अतिरिक्त आम्दानी मात्र होइन, आफ्नै अस्तित्व चिनाउने माध्यम बनेको छ।
पहिले श्रीमान्ले कमाएको पैसामै भर पर्नुपर्थ्यो, उनी मुस्कुराउँदै भन्छिन्, अहिले आफ्नै हातले कमाएको पैसाले घरको खर्चमा पनि सहयोग गर्न सकेकी छु।
उनी बोल्दै गर्दा उनका हात भने रोकिँदैनन्। थाकलका रेशाहरू बिस्तारै एउटा सुन्दर झोलामा बदलिरहेका हुन्छन्।
अर्कोतर्फ, कुमारी श्रेष्ठले केही समयअघि मात्र कुचो बनाउने तालिम लिएकी हुन्। अरू महिलाको परिवर्तन आफ्नै आँखाले देखेपछि उनी पनि समूहमा जोडिइन्।
सीप सिकेपछि कमाउन सकिन्छ भन्ने विश्वास नै सबैभन्दा ठूलो कुरा रहेछ,उनी भन्छिन्।
यही विश्वास अहिले गाउँका धेरै महिलामा फैलिँदै गएको छ।
समूहले उत्पादन गरेका सामान अहिले स्थानीय बजार, होमस्टे, पर्यटकीय क्षेत्र हुँदै काठमाडौँसम्म पुग्न थालेका छन्। केही वर्षअघि ग्राहक खोज्दै हिँड्नुपर्ने अवस्था थियो। अहिले भने ग्राहक आफैँ सम्पर्क गर्छन्। हालै काठमाडौँबाट एकैपटक एक सय वटा हस्तकलाका सामग्रीको अर्डर आउँदा महिलाहरूको उत्साह झन् बढेको छ।
माग बढेसँगै कच्चा पदार्थको आवश्यकता पनि बढेको छ।
रिलकुमारी तामाङ, नमूना महिला सामुदायिक वनकी अध्यक्ष, भन्छिन्, ूहाम्रो वनमा मात्रै पर्याप्त अम्रिसो पुग्दैन। अहिले अन्य सामुदायिक वनबाट पनि ल्याएर उत्पादन गरिरहेका छौँ।
उनका अनुसार उद्यमलाई अझ व्यवस्थित बनाउन समूहलाई संस्थागत रूपमा दर्ता गरिएको छ। केही दिनअघि मात्रै थप २० जना महिलालाई नयाँ तालिम पनि दिइएको छ।
डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी सुवास अधिकारीका अनुसार वनमा खेर जाने प्राकृतिक स्रोतलाई आयआर्जनसँग जोड्ने यस्तो अभ्यासले महिला सशक्तीकरण, स्थानीय रोजगारी र वातावरण संरक्षणलाई एकैसाथ अघि बढाएको छ। कार्यालयले यस्ता उद्यमलाई निरन्तर प्रोत्साहन गरिरहेको छ।
देवचुलीको यो कथा केवल थाकल र अम्रिसोको कथा होइन।
यो अवसर देख्ने आँखाको कथा हो।
यो आफ्नै सीपमा विश्वास गर्ने महिलाको कथा हो।
यो वनलाई दोहन होइन, दिगो उपयोगको माध्यम बनाउने सोचको कथा हो।
र, यो त्यही गाउँको कथा हो जहाँ हिजोसम्म वनमा कुहिने थाकल आज महिलाको सपनालाई आकार दिइरहेको छ।
वन अझै उस्तै छ। रुखहरू उस्तै छन्। हावाको सुसाइ उस्तै छ।
फरक यत्ति हो—पहिले वनले हरियाली मात्र दिन्थ्यो, अहिले भविष्य पनि दिन थालेको छ।
प्रतिक्रिया दिनुहोस