काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुले भारत र पाकिस्तानलाई नलड्न सुझाव दिएको र उनीहरुले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गरेको बताएका छन्।
लुम्बिनी विकास कोषले बुद्धजयन्ती तथा लुम्बिनी दिवसका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, 'भारत र पाकिस्तानबीच झण्डै-झण्डै हात हालाहालको स्थिति आएको थियो । हामीले संयमित हुन आग्रह गर्यौँ ।'
भारत र पाकिस्तानको हात हालाहालको स्थिति लडाइँमा परिणत नहोस् भनेर आफूहरुले कामना गरेको ओलीले बताए । उनले भने, ‘यो हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भनेर कामना गर्यौं । उहाँहरूसँग पनि कुरा गर्यौं, नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । फेरि पनि केही खसखस र आरोप प्रत्यारोपको स्थिति छ ।’
भारत र पाकिस्तानबीच शनिबार साँझ युद्धविरामको सहमति भएको थियो ।
ओलीले बुद्धका सन्देश र आदर्श हरेक व्यक्ति, समाज, राष्ट्र र विश्वको शान्तिका अति उपयोगी रहेको बताए । बुद्धका सन्देशको थप खोज अनुसन्धान र विस्तारको काम लुम्विनी बौद्ध विश्व विद्यालयले गर्नु पर्ने प्रधानमन्त्रीले आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस