२०८३, आषाढ २० गते

शनिवार, आषाढ २० गते २०८३

सुन्दरीजल क्षेत्रमा खानेपानी नदिएकोप्रति सांसदको आपत्ति

बिहिवार , जेठ २, २०८२

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा उपत्यकामा खानेपानी पठाउने सुन्दरीजल क्षेत्रमा खानेपानीको अभाव भएको भन्दै सांसदहरूले त्यस क्षेत्रमा स्वच्छ र शुद्ध खानेपानीको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकको शून्य समयमा नेपाली कांग्रेसका सांसद सन्तोष चालिसेले सुन्दरीजल क्षेत्रमै खानेपानीको हाहाकार भएको बताए । सुन्दरीजलबाट चावहिलसम्मका जनताले खानेपानी नपाएको गुनासो जनप्रतिनिधिसँग गरिरहेका जनाउँदै उनले उक्त समस्या यथाशीघ्र समाधान गर्न सम्बन्धित सरकारी निकायको ध्यानाकर्षण गराए ।

“मेलम्चीको पानी पनि सुन्दरीजलमा प्रशोधन गरी काठमाडौं उपत्यकामा वितरण हुन्छ । सुन्दरीजल क्षेत्रमा भने मेलम्चीको पानी वितरण गरिएको छैन । बागमतीको पानी बिना प्रशोधन धमिलो वितरण हुँदा स्थानीयवासी आक्रोशित भएका छन्”, उनले भने ।

नेपाल कम्यनिष्ट पार्टी (एमाले) की सांसद सम्झना थपलियाले कमला नदी भत्किएकाले यात्राका क्रममा जनताले सास्ती खेपिरहेका भन्दै सरकारको ध्यान जानुपर्ने बताइन् ।

कांग्रेसकी सांसद सरस्वती बजिमयले वर्षायामको सुरुआत हुन लाग्दा बाढी, पहिरोलगायत विपद् हुने जोखिममा जनता त्रसित भएका भन्दै वैशाख २९ गतेको वर्षाले खोटाङ, भोजपुर, सोलुखुम्बु, ओखलढुङ्गालगायत जिल्लामा माथिबाट लेदो झरी सडक अवरुद्ध भएको बताइन् । वर्षा सुरु भएपछि उल्लेखित जिल्लाका बासिन्दालाई आवतजावत गर्न वैकल्पिक बाटोको व्यवस्था गर्न उनले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन् ।

एमालेकी सांसद सरस्वती सुब्बाले जलवायु परिवर्तनले हिउँ पग्लनेदेखि हिमताल फुट्ने जस्ता जोखिम बढ्दै गएका बताउँदै जलवायु परिर्वतनका असरबारे समुदायदेखि राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा देखिएका समस्या सम्बोधन हुनेगरी सगरमाथा संवाद कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइन् ।

एमालेकी सांसद सरिता भुसालले गण्डकी प्रदेशलाई भारतीय नाकासँग जोड्ने दुम्कीवास–त्रिवेणी खण्डको ट्र्याक २०६२ सालमा खनिए पनि अझै सम्पन्न हुन नसकेकाले यो सडक यथाशीघ्र निर्माण गर्न माग गरिन् ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट