काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हज कार्यलाई व्यवस्थित रुपबाट सञ्चालन गर्न समयानुकुल नीति, नियम र प्रवन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार बिहान मक्का मदिनामा यस वर्ष हज गर्न जान लागेका हजयात्रीलाई शुभकामना दिने क्रममा उनले बहुजातिय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता रहेको नेपालमा मुस्लिम समुदायको संस्कृति, कला र परम्पराको आफ्नै विशिष्टता रहेको उल्लेख गरे ।
उनले विविध जातजाति, समुदाय, भाषाभाषी संस्कृति रहेको हाम्रो देशमा यसको संरक्षण र संवद्र्धनका लागि सबै एकसाथ मिलेर लाग्नुपर्नेमा जोड दिए । यसकै माध्यमबाट आपसमा भाइचारा, मित्रता र सद्भाव बढाउँदै अघि बढ्न जरुरी रहेको उनको भनाइ छ ।
राष्ट्रपति पौडेलले इस्लाम धर्मावलम्वीहरुको विश्वासअनुसार हज यात्रा आध्यात्मिक पुनःजन्म जस्तै जहाँ मानिसले अल्लाहको घर पुगेर आफ्नो सबै पाप र दोषबाट मुक्त हुने अवसर प्राप्त हुने विश्वास व्यक्त गरे । पवित्र आस्था र विश्वास बोकेर जाने हज यात्रीहरुको सहजताका लागि सबै खालको सुविधा उपलब्ध गराउन सम्बन्धित निकायले ध्यान दिने पनि बताए । सो असवरमा राष्ट्रपतिलाई हजयात्रीलाई गम्छा र टोपी लगाएर शुभकामना दिएका थिए ।
प्रतिक्रिया दिनुहोस