काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले सर्वसाधारणका लागि स्वास्थ्य उपचार महंगो बन्दै गएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद कुँवरले यस्तो बताएका हुन् । उनले राष्ट्रका लागि महत्वपूर्ण योगदान गरेका, लोकतन्त्रको लागि सम्पूर्ण जीवन समर्पित गरेका व्यक्ति एवं जनप्रतिनिधिको उपचारमा सरकार अनुदार बनेको टिप्पणी गरे । साथै उनले वर्षायामसँगै हावाहुरीबाट देशका विभिन्न स्थानमा दुःखद् घटना घट्न थालेकाले हावाहुरीबाट हुने क्षति न्युनिकरणमा सरकारको ध्यानाकर्षसमेत गराए ।
उनले भने, ‘सर्वसाधारणका लागि स्वास्थ्य उपचार महंगो बन्दै गएको छ । राष्ट्रको लागि महत्वपूर्ण योगदान गरेका, लोकतन्त्रको लागि सम्पूर्ण जीवन समर्पित गरेका व्यक्ति र पूर्व जनप्रतिनिधिको उपचारमा सरकार अनुदार बनेको छ । पटक पटक काभ्रे जिल्लाबाट निर्वाचित पूर्व सांसद गोविन्दनाथ उप्रेती लामो समयदेखि सिकिस्त विरामी भई अस्पतालमा हुनुहुन्छ । उहाँको उपचारका लागि सरकारसँग माग गर्दछु । वर्षायामसँगै हावाहुरीबाट देशभर विभिन्न ठाउमा घटनाहरु घटेका छन् । हावाहुरीकै कारण कैलालीमा एक जनाको मृत्यु भएको छ । वर्षासँगै हावाहुरीबाट हुने क्षति न्यूनीकरणमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
पटक पटक काभ्रे जिल्लाबाट निर्वाचित पूर्वसांसद गोविन्दनाथ उप्रेतीको उपचार राज्यले गर्नुपर्नेमा उनले जोड दिए ।
प्रतिक्रिया दिनुहोस