२०८३, श्रावण ५ गते

मंगलवार, श्रावण ५ गते २०८३

विद्यालयमा नर्स, विद्यार्थीमा आत्मविश्वास

मंगलवार , श्रावण ५, २०८३

विराटनगर । किशोरीहरू महिनावारी हुँदा विद्यालय छाड्न एवं घर फर्किन बाध्य हुने, सामान्य स्वास्थ्य समस्यामा पनि अस्पताल धाउनुपर्ने र स्वास्थ्यका बारेमा खुलेर कुरा गर्न हिच्किचाउने अवस्था अब कोशी प्रदेशका धेरै विद्यालयमा विगत बन्दै गएको छ । 

विद्यालयमै नर्स पुगेपछि विद्यार्थीको स्वास्थ्य, आत्मविश्वास र सिकाइ संस्कारमा उल्लेखनीय परिवर्तन देखिन थालेको हो ।  

सामान्य स्वास्थ्य समस्यामा कक्षा छाड्ने विद्यार्थी र स्वास्थ्यसम्बन्धी जिज्ञासा मनमै दबाएर बस्ने किशोरकिशोरीको अवस्था एवं दैनिकी अहिले फेरिएको छ । कोशी प्रदेश सरकारले सञ्चालन गरेको ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमले विद्यालयमै स्वास्थ्य सेवा, परामर्श र सचेतना उपलब्ध गराउन थालेपछि हजारौं विद्यार्थीको दैनिक जीवनमा सकारात्मक परिवर्तन देखिन थालेको हो । 

विद्यालयभित्रै नर्सको सहज पहुँच भएपछि स्वास्थ्य समस्या समाधान मात्र नभएर विद्यार्थीको आत्मविश्वास, सरसफाइको बानी, पोषणसम्बन्धी चेतना र पठनपाठनमा समेत सुधार आएको सरोकारवालाहरू बताउँछन् । समग्रमा भन्नु पर्दा, विद्यालयमा नर्सको उपस्थितिले विद्यार्थीमा आत्मविश्वास बढेको छ । 

मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटस्थित सरस्वती नमूना माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सन्दीपा कार्कीलाई अहिले सामान्य स्वास्थ्य समस्या हुँदा अस्पताल धाउनुपर्ने आवश्यकता नै पर्दैन । 

महिनावारीका बेला हुने असहजता एवं पेट दुख्ने समस्याको समाधान गर्न तथा सानो घाउचोट वा खानपानसम्बन्धी जिज्ञासा मेटाउनका लागि उनको पहिलो गन्तव्य विद्यालयभित्र रहेको नर्सको कक्ष हुन्छ । विद्यालयमा कार्यरत नर्ससँग खुलेर आफ्नो समस्या राख्न पाउने वातावरण बनेपछि सन्दीपा मात्रै होइन, उनका सहपाठीहरू पनि स्वास्थ्यसम्बन्धी विषयमा निर्धक्क भएका छन् । 

नर्सबाट प्राप्त जानकारी उनी घरमा पुगेर आमासँग पनि बाँड्छिन् । पोषणयुक्त खानपान, व्यक्तिगत सरसफाइ र किशोरावस्थासँग सम्बन्धित विषयमा सिकेका कुरा परिवारसम्म पु¥याउने माध्यम उनी स्वयं बनेकी छन् । 

‘पहिला यस्ता विषयमा कुरा गर्न पनि अप्ठ्यारो लाग्थ्यो,’ सन्दीपा भन्छिन्, ‘अहिले कुनै समस्या भयो भने नर्स म्यामसँग सिधै गएर कुरा गर्छौं । उहाँले उपचार मात्र नभएर आवश्यक परामर्श पनि दिनुहुन्छ ।’

महिनावारीदेखि मानसिक स्वास्थ्यसम्म

विद्यालय नर्सिङ कार्यक्रम सञ्चालन हुनुअघि विद्यालयमा महिनावारी भएका धेरै छात्रा घर फर्किन बाध्य हुन्थे । कतिपयले महिनावारीको समयमा विद्यालय नै छाड्ने गरेका थिए । पेट दुख्ने, कमजोरी हुने वा अन्य स्वास्थ्य समस्या देखिए अस्पताल जानुपर्ने अवस्था थियो । किशोरावस्था र प्रजनन स्वास्थ्यका विषयमा जानकारी लिन लाज लाग्ने वातावरण थियो ।

तर, अहिले परिस्थिति फेरिएको छ । विद्यालयमा नर्सको उपस्थितिले छात्राहरूलाई स्वास्थ्यसम्बन्धी जिज्ञासा राख्न सहज बनाएको छ । महिनावारी व्यवस्थापन, व्यक्तिगत सरसफाइ, पोषण, मानसिक स्वास्थ्य, यौन तथा प्रजनन स्वास्थ्यका विषयमा नियमित परामर्श र सचेतना कार्यक्रम सञ्चालन भइरहेका छन् । 

सन्दीपा प्रतिनिधि पात्र मात्र हुन् । कोशी प्रदेश सरकारले सञ्चालन गरिरहेको ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमले प्रदेशभरका हजारौं विद्यार्थीको जीवनमा यस्तै सकारात्मक परिवर्तन ल्याएको छ ।

विद्यालयमा नर्स भएपछि बदलियो वातावरण

विराटनगरस्थित मिल्स माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत स्नेहा झा विद्यालयमा नर्सको उपस्थितिले विद्यार्थीको दैनिक जीवन सहज बनेको बताउँछिन् । 

‘पहिला विद्यालयमा खाजाका रूपमा धेरैजसो प्याकेटका परिकारहरू आउँथे । अहिले नर्स म्यामले स्वस्थ खानेकुराका बारमो जानकारी दिनुहुन्छ । घरबाट ल्याएको खाजा पनि हेर्नुहुन्छ,’ उनले भनिन्, ‘महिनावारी स्वास्थ्य, प्रजनन स्वास्थ्य र व्यक्तिगत सरसफाइका विषयमा पनि नियमित जानकारी पाइन्छ ।’ 

उनका अनुसार पहिला महिनावारी हुँदा विद्यालय नआउने धेरै छात्रा अहिले नियमित रूपमा विद्यालय आउने गरेका छन् । विद्यालयभित्र सुरक्षित र सहयोगी वातावरण बनेपछि उनीहरूमा आत्मविश्वास बढेको छ । 

विद्यालयमा पहिलोपटक ‘विद्यालय नर्सिङ सेवा’कार्यक्रम सञ्चालनमा आएसँगै आफूहरुमा पनि स्वास्थ्य समस्यालगायत सरसफाइमा सचेतना वृद्धि भएको मिल्स माध्यामिक विद्यालयका अर्का विद्यार्थी प्रवेशकुमार साहले बताए । 

‘विद्यालय नर्सिङ सेवा’ कार्यक्रम आएपछि सामान्य स्वस्थ्य समस्याका कारण विद्यालयको पढाइ छुटेको छैन,’ साहले भने, ‘विद्यालयमा रहनु भएकी नर्सले कक्षासमेत लिएर स्वास्थ्य सम्बन्धी ज्ञान, स्वस्थकर खानपिनका सम्बन्धमा परामर्श दिने कामसमेत गर्दै आउनु भएको छ ।’

स्वास्थ्य सेवा विद्यालयको ढोकामै

कोशी प्रदेश सरकारले विद्यार्थीको स्वास्थ्य अवस्था सुधार गर्ने उद्देश्यले विद्यालय नर्सिङ सेवा कार्यक्रम सञ्चालन गरिरहेको छ । विद्यालय तहमै स्वास्थ्य सेवा उपलब्ध गराउने अवधारणासहित सुरु गरिएको कार्यक्रम अहिले प्रभावकारी बन्दै गएको सरोकारवाला बताउँछन् । विद्यालय नर्सिङ सेवा कार्यक्रम सञ्चालन कार्यविधि–२०७६ ले विद्यालय नर्सको काम, कर्तव्य र अधिकार स्पष्ट रूपमा निर्धारण गरेको छ । 

कार्यविधिअनुसार नर्सहरूले किशोरीहरूको महिनावारी व्यवस्थापनमा सहयोग गर्ने, निःशुल्क प्याड वितरण व्यवस्थापन गर्ने, स्वास्थ्य समस्याका कारण अनुपस्थित विद्यार्थीको अभिलेख राख्ने र आवश्यक परे अभिभावकसँग समन्वय गर्ने जिम्मेवारी पाएका छन् । यसका अतिरिक्त उनीहरूले स्वास्थ्य प्रवर्धन, पोषण सेवा, रोग प्रतिकारात्मक कार्यक्रम, स्वास्थ्य परामर्श, नियमित स्वास्थ्य परीक्षण, प्राथमिक उपचार, स्वास्थ्य योजना निर्माण, अभिलेख व्यवस्थापन तथा प्रतिवेदन तयारीलगायतका कार्यसमेत गर्नुपर्ने व्यवस्था छ ।

उपचार मात्र होइन, जनचेतना पनि

झापाको कमल गाउँपालिका–५ स्थित मंगलमय माध्यमिक विद्यालयमा कार्यरत विद्यालय नर्स मुना अधिकारीका अनुसार विद्यालय नर्सिङ कार्यक्रम उपचारमा मात्र सीमित छैन । उनले विद्यालय स्वास्थ्य इकाइको नेतृत्व गर्दै विभिन्न स्वास्थ्य चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएकी छन् । राष्ट्रिय स्वास्थ्य दिवस, खोप अभियान, सरसफाइ अभियान, किशोर स्वास्थ्य शिक्षा तथा पोषणसम्बन्धी कार्यक्रमहरू विद्यालयस्तरमै आयोजना हुने गरेका छन् । 

‘विद्यार्थीलाई स्वास्थ्य शिक्षा दिनु उपचारभन्दा पनि महत्त्वपूर्ण पक्ष हो,’ अधिकारी भन्छिन्, “बालबालिकाले विद्यालयमा सिकेका कुरा घर र समुदायसम्म पुर्याउँछन् । त्यसले समुदायमा पनि सकारात्मक प्रभाव पारिरहेको छ ।’ मंगलमय माध्यमिक विद्यालय उक्त कार्यक्रम लागू गर्ने झापा जिल्लाकै पहिलो विद्यालय हो । उक्त विद्यालयमा नियमित स्वास्थ्य परीक्षण, प्राथमिक उपचार, पोषण निगरानी तथा अभिभावकसँगको स्वास्थ्य परामर्श प्रणालीसमेत सञ्चालनमा छ ।

पठनपाठनमा सकारात्मक प्रभाव

मंगलमय माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहनकुमार बगाले विद्यालय नर्सिङ सेवाले स्वास्थ्य क्षेत्रसँगै शैक्षिक उपलब्धिमा पनि सुधार ल्याएको बताउँछन् । उनका अनुसार किशोरीहरूमा देखिने स्वास्थ्य समस्या समयमै समाधान हुँदा विद्यालय छाड्ने तथा अनुपस्थित हुने समस्या घटेको छ । नियमित स्वास्थ्य परीक्षणका कारण विद्यार्थीहरूको स्वास्थ्य अवस्थाका बारेमा विद्यालय प्रशासन पनि सचेत भएको छ ।

‘विद्यालय नर्सिङ सेवाले विद्यार्थीको स्वास्थ्य सुरक्षा मात्र सुनिश्चित गरेको छैन,’ बगाले भन्छन्, ‘यसले पठनपाठनमा निरन्तरता, आत्मविश्वास र सिकाइ उपलब्धिमा समेत सकारात्मक प्रभाव पारेको छ ।’

मोरङमा पहिलो चरणमा नै विद्यालय नर्स सेवा सुरु भएको विराटनगरस्थित पोखरीया माध्यामिक विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईले विद्यालयमा नै नर्सको व्यवस्था गरी प्राथमिक उपचारका साथै विधार्थीलाई स्वास्थ्य शिक्षाबारे जानकारी दिइने गरिएको बताए । 

कार्यक्रमले बालबालिकाको सामाजिक व्यवहार परिर्वतनका लागि सकारात्मक प्रभाव पारेको उनको भनाइ छ । ‘दुई हजार बढी विधार्थी रहेका हाम्रो जस्तो विद्यालयमा दैनिक विद्यार्थी  वा कर्मचारीहरुमा स्वास्थ्य समस्या देखिन्छ,’ प्रधानाध्यापक भट्टराईले भने, ‘तत्काल स्वास्थ्य समस्याको प्राथमिक उपचार विद्यालयमै हुन्छ ।’ विद्यार्थी वा कर्मचारी बिरामी परेर विद्यालय छाडेर घर जानुपर्ने अवस्थाको अन्त्य भएको उनी बताउँछन् । 

सत्यनारायण माध्यामिक विद्यालयका पूर्वप्रधानाध्यापक धर्मानन्द खरेलका अनुसार यस कार्यक्रममार्फत विद्यार्थीहरूमा स्वास्थ्यसम्बन्धी जागरूकता बढेको छ । विद्यालय समयमा हुने सानातिना चोटपटक, पखाला वा बान्ता हुने जस्ता आकस्मिक स्वास्थ्य समस्याहरूमा तत्कालै प्राथमिक उपचार र उचित मार्गदर्शन मिल्ने गरेको उनले बताए । नर्सिङ सेवाले विद्यालय तहमा अध्ययनरत बालबालिकाहरूको प्रारम्भिक स्वास्थ्य रेखदेखमा ठूलो सहयोग पुर्याएको खरेलको अनुभव छ ।

यद्यपि, यो कार्यक्रमलाई थप प्रभावकारी र परिपरिष्कृत बनाउन केही प्राविधिक तथा व्यावहारिक सुधारको आवश्यकता सरोकारवालाहरुले औंल्याएका छन् । विद्यालय नर्सहरूलाई समय–समयमा सेवाकालीन तथा पुनर्ताजगी तालिम दिन आवश्यक रहेको खरेलले बताए । 

उनले भने, ‘नर्सहरूले हाल सामान्य स्वास्थ्य परामर्श दिइरहेको भए पनि उनीहरूलाई  विशेष रूपमा काउन्सिलिङ (परामर्श) सम्बन्धी तालिम दिन जरुरी देखिएको छ ।’ 

विशेषगरी आर्थिक रूपमा विपन्न, पारिवारिक द्वन्द्व वा घरायसी अप्ठ्यारोका कारण मानसिक तनावमा परेका र पढाइमा कमजोर भएका विद्यार्थीहरूलाई पहिचान गरी उनीहरूको मनोवैज्ञानिक अवस्था सुधार्न यस्तो काउन्सिलिङ महत्वपूर्ण हुने उनको भनाइ छ । त्यसैले विद्यालय नर्सहरूलाई स्वास्थ्य उपचारका अतिरिक्त मनोवैज्ञानिक परामर्शदाताका रूपमा समेत दक्ष बनाउन सके विद्यालय नर्स कार्यक्रमको उद्देश्य पूर्ण रूपमा सफल हुने र विद्यार्थीहरूले मानसिक तथा शारीरिक दुवै रूपमा सुरक्षित वातावरण पाउने सरोकारवालाको भनाइ छ । 

विद्यार्थीमा बढ्यो खुलापन

मिल्स माध्यमिक विद्यालयकी विद्यालय नर्स इन्दिरा घतानीका अनुसार कार्यक्रम सुरु हुँदा विद्यार्थीहरू स्वास्थ्यका विषयमा खुलेर कुरा गर्न हिच्किचाउँथे । ‘सुरुमा विद्यार्थीहरू निकै लजाउँथे । विशेषगरी किशोरीहरू महिनावारी वा प्रजनन स्वास्थ्यका विषयमा प्रश्न गर्न डराउँथे,’ उनले भनिन्, ‘अहिले अवस्था फेरिएको छ । विद्यार्थीहरू कुनै समस्या भए निर्धक्क भएर आउँछन्, सोध्छन् र समाधान खोज्छन् ।’ 

घतानीका अनुसार विद्यालय नर्सको जिम्मेवारी निकै व्यापक छ । प्राथमिक उपचारदेखि स्वास्थ्य शिक्षा, पोषण कार्यक्रम, अभिभावकसँग समन्वय र विद्यालयसँग संयुक्त स्वास्थ्य योजना निर्माणसम्मका काम गर्नुपर्ने हुन्छ । ‘सम्भव भएसम्म सबै विद्यार्थीलाई आवश्यक सेवा दिने प्रयास गर्छौं,’ घतानी भन्छिन्, ‘विद्यालयसँग सहकार्य गरेर पोषणदेखि मानसिक स्वास्थ्यसम्मका कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।’

त्रिपक्षीय सहकार्यको नमुना

विद्यालय नर्सिङ कार्यक्रम कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय, स्थानीय तह र विद्यालयबीचको त्रिपक्षीय सम्झौतामार्फत सञ्चालन हुँदै आएको छ । यस मोडेलले कार्यक्रमलाई स्थानीय आवश्यकता अनुसार सञ्चालन गर्न सहयोग पुगेको सरोकारवालाहरू बताउँछन् । विद्यालय प्रशासन, स्थानीय सरकार र स्वास्थ्य निकायबीचको समन्वयका कारण कार्यक्रमको प्रभावकारिता बढ्दै गएको हो । विद्यालयमा स्वास्थ्य सेवा सहज पहुँचमा पुग्नुका साथै स्वास्थ्य शिक्षा पनि नियमित भएको छ ।

प्राथमिकतामा विद्यालय नर्सिङ

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–०८४ को बजेटमा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ । प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा ३ अर्ब ६१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले अस्पतालको स्तरोन्नति, महिला तथा बालबालिका स्वास्थ्य, विद्यालय नर्सिङ सेवा, कृत्रिम बौद्धिकता (एआई) आधारित क्षयरोग परीक्षण तथा आयुर्वेद सेवाको विस्तारलाई बजेटका प्रमुख प्राथमिकता बनाएको छ ।

विद्यालयस्तरमै स्वास्थ्य सेवा विस्तार गर्ने लक्ष्यसहित विद्यालय नर्सिङ कार्यक्रमलाई थप विस्तार गरिने भएको छ । 

प्रदेश सरकारले आगामी वर्ष यो सेवा २५० विद्यालयसम्म पुर्याउने योजना अघि सारेको छ । प्रदेश सरकारद्वारा सार्वजनिक आर्थिक सर्वेक्षण २०८२–०८३ अनुसार २०८२ चैतसम्म कोशी प्रदेशका १७९ विद्यालयमा विद्यालय नर्सिङ कार्यक्रम सञ्चालन भइसकेको छ । कार्यक्रमबाट १ लाख ५६ हजारभन्दा बढी विद्यार्थी प्रत्यक्ष लाभान्वित भएका छन् ।

बढ्दो माग, विस्तारको आवश्यकता

कार्यक्रम सञ्चालन भएका विद्यालयहरूबाट सकारात्मक प्रतिक्रिया आएपछि अन्य विद्यालयहरूबाट पनि यसको माग बढ्दै गएको छ । हाल कोशी प्रदेश स्वास्थ्य निर्देशनालयमार्फत सञ्चालन भइरहेको यो कार्यक्रम सुरुमा प्रत्येक स्थानीय तहमा एक–एक विद्यालयमा लागू गरिएको थियो । 

पछि यसको प्रभावकारिता देखिएसँगै विद्यार्थी संख्या बढी भएका विद्यालयमा विस्तार गर्न थालिएको हो । कोशी प्रदेश स्वास्थ्य निर्देशनालय, धनकुटाका जनस्वास्थ्य अधिकृत अनिल श्रेष्ठका अनुसार अहिले एक हजारभन्दा बढी विद्यार्थी भएका विद्यालयमा नर्सिङ सेवा सञ्चालन गर्न सकिने व्यवस्था छ ।

‘कार्यक्रमको प्रभाव देखिएपछि धेरै विद्यालयले नर्सिङ सेवा माग गरिरहेका छन्,’ श्रेष्ठ भन्छन्, ‘विशेषगरी किशोरीहरूको स्वास्थ्य समस्या समाधान, विद्यालय छाड्ने दर घटाउने र स्वास्थ्य सचेतना बढाउने काममा यो कार्यक्रम प्रभावकारी देखिएको छ ।’ 

उनका अनुसार विद्यालय नर्सिङ कार्यक्रमले विद्यार्थीलाई अस्वस्थकर खानपानको बानीबाट जोगाउन, नियमित स्वास्थ्य परीक्षण गर्न तथा समुदायमा स्वास्थ्य चेतना फैलाउन महत्वपूर्ण योगदान पुर्याइरहेको छ ।

स्वास्थ्य र शिक्षाको सेतु

विद्यालय नर्सिङ कार्यक्रमले स्वास्थ्य सेवा र शिक्षाबीचको सम्बन्धलाई अझ बलियो बनाएको छ । विद्यालयभित्रै स्वास्थ्य सेवा उपलब्ध हुँदा विद्यार्थीको आत्मविश्वास बढेको छ । स्वास्थ्य समस्याका कारण हुने अनुपस्थिति घटेको छ । किशोरीहरूलाई सुरक्षित तथा सहयोगी वातावरण प्राप्त भएको विद्यालयहरुले जनाएका छन् । 

एक समय महिनावारी हुँदा घर फर्किन बाध्य हुने छात्राहरू आज विद्यालयमै स्वास्थ्य परामर्श, उपचार र आवश्यक सामग्री प्राप्त गरिरहेका छन् । स्वास्थ्यसम्बन्धी जिज्ञासा लुकाएर बस्ने विद्यार्थीहरू अहिले नर्ससँग खुलेर संवाद गर्न सक्छन् । 

कोशी प्रदेश सरकारको ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम स्वास्थ्य सेवा विस्तारको अभियान मात्र नभएर किशोरी शिक्षा, स्वास्थ्य अधिकार, पोषण र सुरक्षित भविष्य निर्माण गर्ने अभियानका रूपमा स्थापित हुँदै गएको अभिभावक संघ कोशी प्रदेशका अध्यक्ष देवी पन्थीले बताए ।

विद्यालयमा नर्सको उपस्थितिले विद्यार्थीको स्वास्थ्य मात्र नभएर उनीहरूको सोच, व्यवहार र जीवनशैलीमा समेत सकारात्मक परिवर्तन ल्याइरहेको उनको भनाइ छ । प्रदेश सरकारको यो कार्यक्रम शिक्षा र स्वास्थ्य क्षेत्रको सफल नमुनामध्येमा पर्ने अध्यक्ष पन्थी बताउँछन् । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट