काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक इन्जिनियर दिनेश भट्टले विपद् न्युनिकरण तथा व्यवस्थापनका लागि देशभर स्वयंसेवक खटाउने कार्यलाई अभियानका रुपमा अघि बढाइएको बताएका छन् ।
आइतबार ललितपुर महानगरपालिकामा आयोजित विपद् स्वयंसेवक परिचालन आधारभुत तालिम कार्यक्रमलाई सम्बोधन गर्दै उनले अभियानकै रुपमा अहिलेसम्म विपद् व्यवस्थापनका लागि स्वयंसेवक नखटाइएको र विपद्को क्षति न्युनिकरणका लागि यस पटकदेखि सरकारले काम थालेको उल्लेख गरे । उनले विपद्को समयमा स्वयंसेवकको भुमिका महत्वपूर्ण हुने बताए ।
विपद्को बेलामा तीन तहकै सरकारसँग समन्वय गरेर काम गरेमात्रै सफलता प्राप्त हुने उल्लेख गरे । उनले भने ‘विपद्को समयमा स्वयंसेवकको भुमिका महत्वपूर्ण हुन्छ । विपद्को बेलामा हामीले तीन तहकै सरकारसँग समन्वय गरेर काम गर्नुपर्छ विपद्को बेलामा काम गर्ने जनशक्ति ट्रेन भएन भने रेस्क्यु गर्न जाने मान्छे खतरामा पर्छ । त्यसैले स्वयंसेवक डेभलप गर्नुपर्छ भन्ने उद्देश्यले हामीले यो कार्यक्रमको शुरुवात गर्न खोजेका छौं । ललितपुरबाट हामी यो शुरु गर्दैछौँ भने विस्तारै सबै पालिकामा पुर्याउने लक्ष्य छ । हामी देशभर नै स्वयंसेवक खटाउने कार्यलाई अभियानका रुपमा लिएर गइरहेका छौँ ।’
उनले ललितपुर महानगरलालिकाबाट शुरु भएको स्वयंसेवक परिचालन आधारभुत तालिमलाई सबै पालिका स्तरमा पुर्याइने बताए ।
प्रतिक्रिया दिनुहोस