२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

स्वास्थ्य क्षेत्रमा फड्को मार्दै गण्डकी, थप ९ अस्पतालको स्तरोन्नती

मंगलवार , जेठ १४, २०८२

पोखरा । गण्डकी प्रदेश सरकारले आफ्ना मातहतका सवै अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आफु मातहत रहेका थप ९ अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको हो ।

यसअघि दुई आयुर्वेदिक अस्पताल सहित चार अस्पतालको स्तरोन्नति गरिएको थियो। अव गण्डकी प्रदेशमा स्तरोन्नति गरिएका अस्पतालहरुको संख्या १३ पुगेको छ ।

स्वास्थ्य मन्त्री कृष्ण पाठकका अनुसार मनाङ र मुस्ताङ प्रदेश अस्पताललाई २५ शैयामा स्तरोन्नति गर्ने निर्णय भएको छ । हाल दुवै अस्पतालको क्षमता १५ शैया मात्रै छ । पर्वत, स्याङ्जा र दमौली प्रादेशिक अस्पताललाई १५ बाट ५० शैयामा स्तरबृद्धि गरिएको छ । २५ शैया क्षमता रहेको पोखराको मातृ शिशु अस्पताललाई ५० शैयामा स्तरोन्नति गर्ने निर्णय भएको छ । पोखराको जनरल तथा सरुवा रोग अस्पताललाई २५ शैयाबाट ५० शय्यामा स्तरोन्नति गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

बागलुङको धौलागिरि प्रादेशिक अस्पताल र नवलपुरको मध्य विन्दु प्रादेशिक अस्पताललाई १ सय बेडमा स्तरोन्नति गर्न लागिएको छ । धौलागिरि अस्पतालमा हाल ५० शैया र मध्य विन्दु २५ शैया क्षमतामा चलिरहेका छन् । चालू वर्षदेखि नै गोरखाको आँप पिपल अस्पताल र बागलुङको बुर्तीबाङ अस्पताल प्रदेश मातहत ल्याएर ५० शैया क्षमतामा सञ्चालन गरिएको छ । धौलागिरी आयुर्वेद अस्पताल बागलुङ र गण्डकी आयुर्वेद अस्पताल पोखरालाई पनि यसअघि नै २५ शैयामा स्तरोन्नति गरिएको छ।

स्तरोन्नति अगाडि २ सय २० शैया रहेका यहाँका अस्पतालको क्षमता अब भने ६ सय ५० शैया र दरबन्दी सङ्ख्या ८सय २७ हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्री पाठकले स्तरोन्नतिको निर्णयपछि अस्पतालहरूमा मानव संशाधन, पूर्वाधार र उपकरणको प्रबन्ध व्यवस्थित रूपमा हुने बताए। ‘अहिले कार्यरत अस्थायी र करार जनशक्तिको उचित व्यवस्थापन गरेर अस्पतालमा गुणस्तरीय सेवा दिन सकिन्छ, स्तरोन्नति गर्दा प्रदेश सरकारलाई धेरै ठूलो व्ययभार पर्दैन’, मन्त्री पाठकले भने, ‘जनशक्ति र आन्तरिक खर्च व्यवस्थापनसहित अस्पताललाई आत्मनिर्भर बनाउने छौ, हामीले मातहतका अस्पतालहरूको विकासका योजना बनाएका छौ।’

एक सय शैयाको अस्पतालले मात्र प्राविधिक विषय पढाउन पाउने व्यवस्था रहेकाले सोही अनुसार अस्पतालको स्तरोन्नति गरिएको र प्राविधिक विषय अध्ययन प्रक्रियालाई समेत अघि बढाइने मन्त्री पाठकले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट