२०८३, आषाढ ८ गते

सोमवार, आषाढ ८ गते २०८३

निजामति विधेयक जेठ २० गते संसदमा लैजाने तयारी

शुक्रवार , जेठ १७, २०८२

काठमाडौं । सरकारले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई यही जेठ २० गते संसदमा लैजाने तयारी गरेको छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले यस्तो जानकारी दिएको हो ।

शुक्रबार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसद बैठकको क्यालेण्डरको विषयमा छलफल भएको सांसद खतिवडाले बताए । उनकाअनुसार जेठ २० गतेदेखि अगामी असार १३ गेतसम्म निरन्तर संसद बैठक बस्ने निर्णय गरिएको छ ।

यसअघि हप्ताको तीन दिन संसदीय समिति र तीन दिन संसद बैठक बस्ने गरेकोमा बजेट अधिवेशन भएको कारण शनिबारबाहेक प्रत्येक दिन संसद बैठक बस्ने निर्णय गरिएको सांसद खतिवडाले बताए । बैठकमा संसदको अवरोध खुलाउने विषयमा समेत छलफल भएको सांसद खतिवडाले बताए । उनले कर्मचारीमाथि अभियोग लागेकै आधारमा गृहमन्त्रीले राजीनामा दिनुहुन्न भन्ने कुरामा आफूहरु स्पष्ट रहेको समेत सांसद खतिवडाले बताए ।

उनले गृहमन्त्रीमाथि नै अख्तियारले छानविन गर्ने अवस्था आएको खण्डमा निर्णय गर्न सकिने भएपनि मातहतको कुनै कर्मचारीमाथि अनुसन्धान हुँदैमा मन्त्रीको राजीनामाको माग पूर्वाग्रहपूर्ण रहेको समेत उनको जिकिर छ ।

सांसद खतिवडाले भने, ‘कार्यव्यवस्था समितिको बैठकमा संसदको क्यालेण्डर प्रस्तुत भएको छ । जेठ २० गतेदेखि असारको १३ गतेसम्म निरन्तर बैठक हुन्छ यसमा पहिले तीन दिन संसद र तीन दिन समितिको बैठक बस्ने थियो । यसपटक बजेट अधिवेशन भएको हुनाले निरन्तर संसद बस्नुपर्ने भयो । २० गते हामीले संघीय निजामति विधेयक संसदमा प्रस्तुत गर्ने तयारी गरेका छौँ । त्यसपछि शनिबार बाहेक असारको १३ गतेसम्म निरन्तर छलफल राखेका छौँ। बैठकमा संसद खुलाउनको लागि पनि कुरा भएको छ । तर एउटा कर्मचारीलाई अभियोग लागेकै भरमा गृहमन्त्रीले राजीनामा नदिने भन्ने कुरामा हामी प्रष्ट छौँ । यस्तो अवस्थामा गृहमन्त्रीको राजीनामा माग गर्नुपनि पूर्वाग्रहपूर्ण हुन्छ । यदि अख्तियारले गृहमन्त्रीमाथि नै छानविन गर्ने अवस्था आयो तत्कालिन अवस्थामा निर्णय गरौँला ।’

उनले थप भने, ‘कर्मचारीमाथि अनुसन्धान भएकै भरमा राजीनामा दिने हो भने कुनैबेला सुन तस्करको अभियोग लागेका अध्यागमनका प्रमुखहरु, डिजीहरुमाथि अनुसन्धान हुँदा यो परम्परा थियो कि थिएन त्योलाई पनि हेरौँ भनेर हामी प्रतिपक्षीहरुलाई अनुरोध गरेका छौँ । २० गते संसद छ त्यो बेलासम्म हामी सहमति गरेर संसद अगाडि बढाउने प्रयासमा छौँ ।’

संसद बैठक जेठ २० गते बस्ने उल्लेख गर्दै सांसद खतिवडाले त्यो बेलासम्म सहमति गरेर संसद खुलाउने प्रयासमा आफूहरु रहेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार