२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

म्याग्दीको टिकोट तरकारी पकेट क्षेत्र

सोमवार , आषाढ ९, २०८२

म्याग्दी । आयात घटाउने, स्थानीय कृषकलाई आत्मनिर्भर र व्यावसायिक बनाउने उद्देश्यले अन्नपूर्ण गाउँपालिका–७ हिस्तान टिकोटमा तरकारीको पकेट विकास कार्यक्रम सुरु भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत गाउँपालिकाले टिकोटको हरिमूल कृषि तथा पशुपक्षी कृषक समूहमार्फत पकेट कार्यक्रम सञ्चालन गरेको हो । गाउँपालिकाका कृषि अधिकृत श्यामशरण कुर्मीले २० जना आबद्ध समूहमार्फत १४० रोपनीभन्दा बढी क्षेत्रफलमा व्यावसायिक तरकारीखेती भएको जानकारी दिए ।

“समूहमा आबद्ध नभएका कृषकलाई पनि समेटेर बन्दा, काउली, काँक्रो, करेलालगायत तरकारीखेती भएको छ,” उनले भने, “पकेट कार्यक्रममार्फत कृषकलाई अनुदानमा बीउ, कृषि औजार र प्रविधि सहयोग गरेका छौँ ।”

गाउँपालिकाको रु ११ लाख ९९ हजार ३२२ र कृषकको रु आठ लाख ५४ हजार ८९८ गरी कुल रु २० लाख ५४ हजार २२१ को लागतमा यस वर्ष विभिन्न कार्यक्रम भएको छ । कृषकले सिँचाइ सामग्रीमा ८५ प्रतिशत र अन्यमा ५० प्रतिशत अनुदान पाएका छन् ।

आठवटा प्लाष्टिक घर निर्माण, चारवटा मिनिटेलर हलो, पाँच तराजु, एक हजार लिटर क्षमताको १३ वटा सिँचाइ ड्रम, दुई हजार ४०० मिटर पाइप, २५ वटा पाँच लिटर क्षमताको हजारी, १६ लिटर क्षमताको १३ वटा स्प्रेयर, २०० वटा क्रेट, नौवटा थोपा सिँचाइ सेट, १४० थान स्पिङ्कल, ९८ किलोग्राम लुज पाइप र १०० वटा सिड ट्रे वितरण गरिएको छ ।

रु एक लाख ३५ हजारको बीउ, रु एक लाखको सुष्म तत्व र जैविक मल, रु एक लाखको विषादी तथा रु ३० हजार बराबरको २०० किलोग्राम पिटमस वितरण गर्नाका साथै तीनदिने तरकारीखेतीसम्बन्धी तालिम सञ्चालन भएको थियो । उच्च पहाडी भूगोलको चिसो हावापानीमा तरकारीखेती राम्रो हुने भएकाले पकेट क्षेत्र स्थापना गरिएको हरिमूल कृषि समूहका अध्यक्ष थमबहादुर पुर्जाले बताए । टिकोटका कृषकले उत्पादन गरेको तरकारी बेनी, जोमसोम, पोखरा, बागलुङलगायतका ठाउँमा बिक्री हुने गर्छ ।

दुई वर्षसम्म सञ्चालन हुने कार्यक्रमका लागि आगामी आर्थिक वर्षमा रु छ लाख बजेट प्रस्ताव गरिएको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले बताइन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट