२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

आज धान दिवस : कोशीमा सकियो १४.३० प्रतिशत रोपाइँ

आइतवार , आषाढ १५, २०८२

विराटनगर । कोशी प्रदेशमा असार दोस्रो सातासम्म गत वर्षको भन्दा बढी धान रोपाइँ सम्पन्न भएको छ ।

कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार असार दोस्रो सातासम्म १४.३० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष असार दोस्रो सातासम्म १३.७७ प्रतिशत धान रोपाइँ भएको थियो ।

मन्त्रालयका अनुसार कोशी प्रदेशमा कुल ८ लाख २६ हजार ६ सय ४६ हेक्टर खेतीयोग्य जमिनमध्ये हालसम्म ३९ हजार ३ सय ८७ दशमलव २६ हेक्टरमा रोपाइँ भइसकेको छ ।

मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले पहाडी जिल्लाहरूमा समयमै रोपाइँ हुने गरेकोमा यसपटक वर्षा अभावले केही ढिलाइ भएको बताए । ‘उच्च पहाडमा यो समयसम्म आधा रोपाइँ भइसकेको हुनुपर्थ्यो,’ उनले भने, ‘तर, कतिपय ठाउँमा पानीको समस्या देखिएकाले रोपाइँको गति सामान्यभन्दा सुस्त छ ।’

मन्त्रालयको तथ्याङ्क अनुसार ताप्लेजुङमा १७.८५, पाँचथरमा ४५, इलाममा १२, भोजपुरमा ४२, सोलुखुम्बुमा ६.३१, संखुवासभा र धनकुटामा ७–७, तेह्रथुममा २६, उदयपुरमा ११, ओखलढुंगामा ३१ र खोटाङमा ३१.३० प्रतिशत रोपाइँ भइसकेको छ। तराईका जिल्लामध्ये झापामा ८, सुनसरीमा ९ र मोरङमा १५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

मन्त्रालयले रोपाइँका लागि रासायनिक मलको पर्याप्त आपूर्ति भएको जनाएको छ । ‘मल र पानीको अभावका कारण रोपाइँ रोकिएको छैन,’ डा. पाण्डेले स्पष्ट पारे । उनका अनुसार कतिपय स्थानमा बर्खे धान थन्क्याउने बेला भएको छ । धान थन्क्याएपछि पुनः रोपाइँ गरिने छ । यस वर्ष पर्याप्त वर्षा र मल आपूर्तिका कारण उत्पादनमा सुधार आउने अपेक्षा गरिएको डा. पाण्डेले बताए ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेश सरकारले किसान पहिलो भन्ने अभियान साथ काम गरिरहेको बताए । धान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपालीहरूको मौलिक परम्परासँग जोडिएको धान दिवस महत्त्वपूर्ण दिनको रुपमा रहेको बताए ।

उनले जलवायु परिवर्तनले कृषिमा उत्पादनमा असर परिरहेको बताउँदै यसलाई ध्यानमा राखेर खेती गर्नुपर्ने उल्लेख गरे । प्रदेश सरकारले किसान पहिलो भन्ने अभियानका साथ काम गरेको चर्चा गर्दै उनले यस वर्षको नीति कार्यक्रम र बजेटमा किसान पहिलो भन्ने विषयलाई प्राथमिकता दिएको शुभकामना सन्देशमा बताएका छन् ।

पछिल्लो समयमा बसाईँसराई र वैदेशिक रोजगारीले गर्दा कृषि क्षेत्रमा असर परिरहेको उल्लेख गर्दै उनले यसतर्फ ध्यान दिनुपर्ने जोड दिए । उनले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पूरा गर्नका लागि पनि कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट